पेस्तोल सहित तीन जना पक्राउ, खुकुरीले हानी हत्या गर्ने प्रहरी नियन्त्रणमा

कञ्चनपुर । बेदकोट नगरपालिका-२ बसन्थला बस्ने २२ वर्षीय पारस मणी जोशी, सोही नगरपालिका-१ पिपलथला बस्ने केदार बिष्ट र कृष्णपुर नगरपालिका-५ बस्ने २६ वर्षीय दिपक भट्टलाई १ थान पेस्तोल र म्याग्जीन सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
बेदकोट नगरपालिका-५ पोलखरी बस्ने ५२ वर्षीय पुष्कर बोहराको घर नजिकै खेतमा जुवातास खेलिरहेको अवस्थामा बुधबार साँझ आएका अपरिचित ७/८ जना व्यक्तिहरुले तास खेलिरहेका व्यक्तिहरुबाट नगद ३ लाख ९५ हजार र ३ थान मोबाइल लुटी फरार भएको घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय र अस्थाई प्रहरी पोष्ट दैजीबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरुलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।
उक्त घटनामा प्रयोग भएको से६ प २२६३ नम्बरको मोटरसाइकल र २ थान मोबाइल समेत प्रहरीले बरामद गरेको छ । साथै तास खेलिरहेको खेतबाट समेत प्रहरीले १ थान म्याग्जीन र २ राउण्ड गोली फेला पारेको थियो ।
यस्तै मकवानपुरकाे बकैया गाउँपालिका-४ नयाँदमार बस्ने २० वर्षीय विकास वाईवाको कात्तिक २१ गते दिउँसो हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २० वर्षीय शंकर भन्ने भीमराज भोलनलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँ सिमाद खोलाको बगरस्थित फुटबल चौरमा बसेर चुरोट खाइरहेका विकाससँग विवाद हुँदा भिमराजले साथमा बोकेको खुकुरी प्रहार गरी विकासको हत्या गरेका थिए । घटना पश्चात् फरार भीमराजलाई व्यापक रुपमा खोजी गर्ने क्रममा ललितपुर बागमती गाउँपालिका-२ माल्टाका स्थानीयले शंका लागी नियन्त्रणमा लिई खबर गरे पश्चात जिल्ला प्रहरी कार्यालय मकवानपुर, ईलाका प्रहरी कार्यालय ठिंगन र प्रहरी चौकी भट्टेडाँडा ललितपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
भिमराज उपर कर्तव्य ज्यान सम्बन्धी कसूरमा अनुसन्धान तथा आवश्यक कानुनी कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।








