शनिबार पिपलको पुजा गर्नुका धार्मिक तथा बैज्ञानिक कारण

काठमाडौं । शनिबार शनिदेवलाई खुसी तुल्याउने हो ने पीपलको पुजा गर्नु उत्तम मानिन्छ । परापुर्व कालदेखि नै हिन्दू धर्ममा पिपललाई पवित्र रूखको रूपमा पूजा गर्ने गर्दछन् ।

पिपलको धार्मिक मान्यता हिन्दु र बौद्व धर्ममा निकै महत्वपुर्ण मानिन्छ । पिपललाई धार्मिक, पौराणिक, आयुर्वेदिक एवम् वातावरणीय दृष्टिले समेत महत्वपूर्ण मानिन्छ ।

हिन्दु धर्मावलम्बीले पिपलको वृक्षलाई विष्णु भगवानको प्रतिक मानेर पुजा गर्छन् । शनिबार पिपलको परिक्रमा, पूजा गर्नु, दियो बाल्नु तथा जल चढाउनु अति नै शुभ मानिन्छ ।

धर्मशास्त्रमा वर्णन भए अनुसार पिपलको पूजा केबल शनिबार मात्र गर्नुपर्दछ । पुराणमा भनिए अनुसार समुन्द्र मन्थनको समयमा देवी लक्ष्मी भन्दा अगाडि उनकी दिदि, अलक्ष्मी उत्पन्न भईन् र पछि लक्ष्मी आइन् ।

अनि देवी लक्ष्मीले श्रीविष्णुको रुप धारण गरिन, यसबाट अलक्ष्मी रुष्ट बनिन । यस्तो देखेर श्रीविष्णुले अलक्ष्मीलाई आफ्नो प्रिय वृक्ष (बासस्थान) पिपलको वृक्षमा बस्ने आदेश दिएर भने–‘यहाँ तिमी आराधना गर । म समय–समयमा तिमीलाई भेट्न आइरहन्छु ।’

साथै देवी लक्ष्मीले पनि भनिन–‘म प्रत्येक शनिबार तिमीसँग भेट्नको लागि पिपलको वृक्षमा आउने गर्छु ।’

भनिन्छ यही कारण शनिबारका दिन श्री विष्णु र देवी लक्ष्मी पिपलको वृक्षमा बास गर्ने गर्दछन् । त्यसैले शनिबारको दिन पिपलको वृक्षको पूजा गर्नु, बत्ती बाल्नु तथा जल वा तेल चढाउँदा वा परिक्रमा गर्दा पुण्य प्राप्त हुन्छ भन्ने विश्वास छ । साथै धन धान्यको पनि वृद्धि हुन्छ भन्ने विश्वास छ ।

भक्तजनको यही विश्वासका कारण नै शाष्त्रमा पिपललाई देव वृक्ष भनिएको छ । गीतामा भगवान श्रीकृष्णले पिपलको वृक्षलाई स्वयम् आफ्नो रुप बताएका छन् । श्रीकृष्ण भन्छन्–‘अश्वत्थस् सर्ववृक्षणां’ अर्थात समस्त वृक्षहरुमा म पिपलको वृक्ष हुँ ।

शास्त्रमा भनिएको छ कि ‘अस्वत्थस् पूजितोयत्र पूजितास् सर्व देवताः’ अर्थात पिपलको पूजा गर्यो भने एकसाथ सबै देवताहरुको पूजा गरेको फल प्राप्त हुन्छ ।

वैज्ञानिक दृष्टिकोणबाट पनि पिपललाई पूजनिय मानिन्छ । किनकि यो यस्तो वृक्ष हो जसले गर्मीमा शितलता प्रदान गर्दछ र जाडोमा तातो हावा निकाल्दछ । पिपलबाट सधैं अक्सीजनको सञ्चार हुन्छ ।

आयुर्वेदमा भनिएको छ कि पिपलको हरेक भाग जस्तै पात, फल सबै औषधीको रुपमा प्रयोगमा आउछ । यसबाट कयौं गम्भीर रोगहरुको पनि उपचार सम्भव हुन्छ ।

प्रतिक्रिया