ग्वाटेमालामा आएको आँधीबाट मृत्यु हुनेको संख्या ५० पुग्यो

मेक्सिको सिटी । ग्वाटेमालामा आएको इटा नामको समुद्री आँधीबाट मृत्यु हुनेको संख्या ५० जना पुगेको छ ।

ग्वाटेमालाका राष्ट्रपति अलेक्जान्ड्रो जियामाटीले प्रकोपग्रस्त क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तिब्र बनाइएको बताएका छन् ।उनले बिहीबार अबेर आयोजना गरेकाे पत्रकार सम्मेलनमा भने, ‘दुर्भाग्यबस, आजै चार जनाको मृत्यु भएको छ, र मृत्यु हुने व्यक्तिको संख्या ५० पुगेको छ ।’

राष्ट्रपति जियामाटीले आँधी प्रभावित क्षेत्रबाट अझै एक हजार ५०० भन्दा बढी व्यक्तिलाई तत्काल उद्धार गर्नुपर्ने अवस्था रहेको जनाउँदै तर यी क्षेत्रमा नदीको बहाव र सतह बढेकाले उद्धारमा कठिनाई भइरहेको बताए ।

जलवायु प्रक्षेपणहरुले ग्वाटेमालामा आगामी ४८ घण्टामा भारी वर्षा हुने जनाएका छन् । देशका नौ वटा सरकारी निकायहरुले यसअघि नै आपतकाल घोषणा गरिसकेका छन् । ईटा नामको समुद्री आँधी हाल होन्डुरसतर्फ अघि बढ्दै क्यारेबियन क्षेत्रतर्फ लागेको छ । (रासस–एएनआई)

प्रतिक्रिया