आईपीएल: दिल्लीलाई हराउँदै मुम्बई फाइनलमा

काठमाडौं । मुम्बई इण्डियन्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा प्रवेश गरेको छ । दुबईमा गएराति भएको पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई फाइनलमा प्रवेश गरेको हो ।
मुम्बईले दिएको २ सय १ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो । दिल्लीले लक्ष्य पछ्याउनेक्रममा निकै खराब शुरुवात गरेको थियो । दिल्लीले आफ्ना शुरुका ३ विकेट शुन्य रनमा गुमाएको थियो । पृथ्वी शा, शिखर धवन र आजिख्य रहाने शुन्यमै आउट भएका थिए ।
दिल्लीका लागि मार्कोस स्टोइनिसले ६५ रन बनाएका थिए भने अक्सर पटेलले ४२ रन र रिषव पन्तले ३ रन बनाए । त्यस्तौ कागीसो रबाडाले १५ र कप्तान श्रेयस अय्यरले १२ रन बनाए । यस खेलमा पृथ्वी, शिखर, आजिख्य, डेनियल साम्स र एनरीच नोर्त्जे गरि ५ खेलाडी शुन्यमा आउट भएका थिए ।
मुम्बईका बलर जसप्रित बुमराहले ४ विकेट लिएका थिए । बुमराहले ४ ओभरमा एक मेडनसहित १४ रन दिएर ४ विकेट लिएका थिए । त्यस्तै ट्रेन्ट बोल्टले २ ओभरमा एक मेडनसहित ९ रन दिएर २ विकेट लिएका थिए । त्यसैगरी क्रुनाल पाण्डेय र केरन पोलार्डले एक एक विकेट लिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाउदै २०० रन बनाएको थियो । मुम्बईका लागि सूर्यकुमार यादवले ५१ रन बनाए भने क्वेंटन डिककले २५ बलमा ४० रनको योगदान दिएका थिए । त्यस्तै इशान किशनले ३० बलमा अविजित ५५ रन बनाए भने हार्दिक पाण्डेयले १४ बलमा अविजित ३७ रन बनाएका थिए ।
त्यस्तै कप्तान रोहित शर्मा गोल्डेन डक ९शुन्य० मा र केरन पोलार्ड शुन्यमा आउट भएका थिए भने क्रुनाल पाण्डेयले १३ रनको योगदान दिएका थिए । त्यस्तै दिल्लीका बलर आर आश्विनले ३ विकेट लिएका थिए भने एनरीच नोर्त्जे र मार्कोस स्टोइनिसले एक एक विकेट लिएका थिए ।
यो जितपछि मुम्बई इण्डियन्स आइपिएलको फाइनलमा पुगेको छ । पराजित भएको दिल्लीले भने दोस्रो क्वालिफायर खेल्ने अवसर पाउने छ ।दिल्लीले दोस्रो क्वालिफायरमा इलिमिनेटर खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदरावादबीचको विजेतासँग खेल्ने छ ।








