धावक कार्की लपुदेखि जनकपुरसम्म दौड्ने

काठमाडौं । धावक रामसुन्दर कार्कीले ललितपुरदेखि जनकपुरसम्म दौड्ने भएका छन् । उनले पुस १ गते ललितपुरको गोदावरी नगरपालिकाको गोदामचौरस्थित कार्की टोलबाट दौड यात्रा प्रारम्भ गर्ने जानकारी दिए । कार्की पनि गोदामचौर निवासी हुन् । उनले त्यहाँ आफैले बनाएको हनुमान मन्दिरबाट दौड सुरु गर्ने छन् ।

कार्कीले गोदामचौरदेखि जनकपुरसम्म दोश्रो पटक दौड्न लागेका हुन् । करिब २ सय २५ किलोमिटर दूरी ३ दिनमा तय गर्ने कार्कीले जानकारी दिए । ‘मदिरा मुक्त समाज’ नारा दिइएको दौड जनकपुरको रामजानकी मन्दिर पुगेपछि टुंगिने छ ।

कार्कीको दौडलाई नेपाल शाहाकारी पार्टी र फुड बैंकले सहयोग गर्ने भएको छ । शाहाकारी पार्टीका केन्द्रीय अध्यक्ष राधे खड्काले पनि व्यक्तिगत रुपमा कार्कीको दौडलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

कार्की २०६४ सालमा १ सय १ दिन लगाएर दौडेर ७५ जिल्ला पुगेका थिए । त्यस्तै उनले काठमाडौं–लुम्बिनी ६ पटक, काठमाडौं–सिन्धुली ३ पटक, काठमाडौं–दोलखा ३ पटक र विश्व पर्यटन दिवसका अवसरमा काठमाडौं–पोखरा १ पटक दौडिसकेका छन् । ४९ वर्षीय कार्कीले काठमाडौं–उत्तर प्रदेश– बिहार तथा काठमाडौं–भारतको पश्चिम बंगाल–भुटान दौडेर ओहोर–दोहोर गरेका छन् ।

दौडबाट संकलित रकम धार्मिक र सामाजिक कार्यमा पनि सहयोग गर्ने बताए । ‘विगतमा पनि दौडहरुबाट संकलित केहि प्रतिशत रकम धार्मिक र सामाजिक कार्यमा सहयोग गरेको थिए । यसपटक पनि सहयोगलाई निरन्तरता दिने छु ।’ कार्कीले भने । उनको दौडलाई पूर्व धावक ओलम्पियन कृष्णबहादुर बस्नेत नेतृत्वको टोलीले निगरानी गर्ने  छ ।

प्रतिक्रिया