उद्योग वाणिज्य महासंघमा सर्वसम्मत वरिष्ठ उपाध्यक्ष चुन्न छलफल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष सर्वसम्मत चुन्न छलफल सुरु भएको छ । वरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकाल र किशोर प्रधान प्रत्यासी छन् । महासंघमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने प्रावधान रहेको छ । सो व्यवस्था अनुसार महासंघको वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष हुँदैछन् ।

किशोर प्रधान र चन्द्र ढकाल दुबै पक्षले सर्वसम्मत चयनका लागि छलफल अघि बढाएका छन् । दुई पक्षबीच अनौपचारिक छलफल सुरु भएको हो ।

प्रधान र ढकालले नै सर्वसम्मतका लागि सकारात्मक रहेको बताएका छन् ।

प्रधानले सर्वसम्मतका लागि पुर्व अध्यक्षहरुले छलफल चलाइरहेको बताए । उनले भने ‘पुर्व अध्यक्षहरुले सर्वसम्मतका लागि छलफल गरिरहनु भएको छ । उहाँहरुले छलफलमा जाउ भने म जान तयार छु ।’

अर्का उम्मेदवार चन्द्र ढकालले पनि आफू सर्वसम्मत गर्ने सहमति हुने हो भने छलफलका लागि तयार रहेको बताए । उनले भने ‘मैले पनि सर्वसम्मतका लागि छलफल भइरहेको भन्ने सुनेको छु । अन्तिमसम्म पनि सर्वसम्मतको लागि छलफल र पहल हुने कुरा नै हो । यसका लागि सबै जना सकारात्मक नै हुनुपर्छ ।’

प्रधान यसअघि शेखर गोल्छासँग वरिष्ठ उपाध्यक्षमा पराजय बेहोरेका थिए । तर अहिले उनै भावी अध्यक्ष शेखर गोल्छाले समेत प्रधानलाई समर्थन गरेका छन् । आगामी अध्यक्ष बन्ने गोल्छा समेत सर्वसम्मत वरिष्ठ उपाध्यक्ष चयन गर्ने पक्षमा देखिएका छन् ।

महासंघको ५४ औं वाषिर्क साधारणसभा तथा निर्वाचन आगामि मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ । गत वर्षको चैत्रमा नै हुनुपर्ने महासंघको निर्वाचन कोरोनाको कारण स्थगित भएको थियो ।

पटक पटक तोकिएको साधारणसभा तथा निर्वाचन कोरोनाको कारण हुन सकेको थिएन ।

ढकाल प्यानलबाट बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघाईले उम्मेदवारी घोषणा गरेका छन् । प्रधान प्यानलबाट वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एशाेसिएटमा सौरभ ज्योतिले उम्मेदवारी घोषणा गरेका छन् ।

प्रतिक्रिया