प्रधानमन्त्रीले मन्त्रीहरूसँग भने– मुलुकमा गम्भीर संकट आउन सक्छ, तयार रहनूस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई मुलुकमा गम्भीर संकट आउन सक्ने भन्दै यसको सामना गर्न तयार रहन निर्देशन दिएका छन् । आज (बिहीबार) बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकमा प्रम ओलीले यस्ताे बताएका हुन् ।
पार्टी र सरकारले बेहोरिरहेको जटिलताबारे समेत उनले बैठकमा जानकारी गराएकाे एक मन्त्रीले बताए । उनका अनुसार, ‘उहाँले मुलुक र पार्टीमा राजनीतिक संकट देखा परेकाे बताउनुभयाे । याे संकट अझै बढ्न सक्ने प्रधानमन्त्रीज्यूकाे भनाइ थियाे । सबै प्रकारको संकटको सामना गर्न हामी तत्पर हुनुपर्छ भन्ने उहाँकाे आशय थियाे ।’
साथै ती मन्त्रीले बैठकमा प्रधानमन्त्री निकै चिन्तित देखिएकाे पनि बताए । तर उनले पार्टीमा देखिएकाे संकटबारे भने नखुलाएकाे उनकाे भनाइ छ । अहिले नेकपाभित्र विवाद चर्किरहेकाे छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ओलीसँग छलफल गर्न बालुवाटारमा छन् ।
यसअघि वरिष्ठ नेता माधवकुमार नेपाल र अध्यक्ष दाहालले कानुन व्यवसायीहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्रीले चाल्न सक्ने सम्भावित कदमबारे छलफल भएकाे बताइएकाे छ । दुई अध्यक्षको आजको छलफलले नेकपाको दिशा तय गर्ने अनुमान गरिएको छ ।








