‘फुट’ काे बाटाेमा नेकपा : ‘वार-पार’ काे प्रस्तावपछि ‘राजीनामा’ को तरंग !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला अभिव्यक्तिहरूले पार्टीभित्र मात्रै होइन सिंगो राजनीतिक वृत्तमा नै तरंग ल्याउने क्रम जारी छ । हिजो मात्रै पनि ओलीले एक कार्यक्रममा दिएको अभिव्यक्तिले राजनीतिक वृत्त फेरि तरंगित भएको छ।
उनले हिजो (बुधबार) त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटनका क्रममा सम्बोधन गर्दै भनेका थिए- ‘मैले राजीनामा दिनु भनेको देशलाई बर्बादितिर जान दिनु हो ।’
पार्टीभित्रैबाट राजीनामाको दबाब आएको, नेकपा फुट्न लागेको लगायतका कुराहरु बाहिर आइरहेका बेला प्रम ओलीले यी कुरामा सत्यता नभएकाे दाबी गर्दै राजीनामा नदिने अडान समेत कसेका छन् । ओलीको सत्ता संकट गहिरिएको उक्त अभिव्यक्तिबाट प्रष्ट भएको छ । एक्कासी आएको ‘राजीनामा अभिव्यक्ति’ ले प्रधानमन्त्रीलाई कसले राजीनामाकाे दबाब दिएकाे हाे ? भन्ने प्रश्न जन्मिएकाे छ । के पार्टीभित्र उनलाई राजीनामा गराउने कसरत भएकै हाे त ?
नेकपा विवाद चुलिँदै जाँदा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने गृहकार्य भएको भन्ने कुराहरू यसअघि नै बाहिरिएका प्रसंग हुन् । यद्यपी वरिष्ठ नेता माधवकुमार नेपाल र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षले यसमा कुनै सत्यता नभएकाे जिकिर गर्दै आएपनि याे विषय फेरि उठेकाे छ ।
ओलीइतरको समूहले संसदमा अविश्वासको प्रस्ताव दर्ता गर्ने गृहकार्य जारी राखेकाे, प्रक्रिया अन्तिमतिर पुगेकाे र तिहारलगत्तै अविश्वासको प्रस्ताव ल्याउनेगरी तयारी भएकाे स्राेतमार्फत् बुझिएकाे छ । स्राेतका अनुसार सकेसम्म ओलीलाई राजीनामा दिन लगाएर मार्ग खोल्ने पहल पनि भइरहेकाे छ ।
नेकपा संसदीय दलमा ओली, प्रचण्ड र नेपाल तीनैजना अल्पमतमा छन् । तर, कुनै दुई नेता एक भएमा बहुमत पुग्ने अवस्था छ । ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन प्रचण्ड र नेपालबीच भित्री सहमति बनेको बुझिएकाे छ । ओली पक्षले भने एक्लै बहुमतको दाबी गर्दै आएको छ ।
दुई नेता पक्ष मिलेर आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन लागेकाे कुरा बुझिएपछि ओली पक्षले माधव नेपाललाई सहमतिमा ल्याउन प्रयास जारी राखेको छ । नेपाल सहमतिमा नआउने देखेपछि प्रचण्डलाई मनाउन समेत खोजिएको छ । ओली र प्रचण्डबीच निर्णायक वार्ता हुँदैछ । सहमतिको अन्तिम प्रयास आगामी हप्ताभित्र हुने र नभए वार-पारकै अवस्था बन्ने देखिएको छ ।
यसअघि प्रधानमन्त्रीले अर्का अध्यक्ष प्रचण्डसँग छलफलमा जुट्नेभन्दा पनि फुटेरै अघि बढ्ने संकेत गरेका थिए । तर नेकपाका नेता, कार्यकर्ता भने पार्टी फुटाउने पक्षमा छैनन् । जुटेरै अघि बढ्नुपर्ने भन्दै उनीहरूले आफू पक्षका नेतृत्वहरुलाई मिलेरै अघि बढ्न दबाब दिइरहेका छन् । पछिल्लो पटक कर्णाली प्रदेशमा उत्पन्न पार्टी विवादले नेकपाका दुई अध्यक्षबीच संवादसमेत रोकिएको थियो । उनीहरुबीच ११ दिनपछि गत शनिवार भेटवार्ता भए पनि कुनै सहमति भएको थिएन । विष्णु पाैडेल, सुवासचन्द्र नेम्वाङ, प्रदीप नेपाल प्रचण्ड र ओलीबीचकाे दुरी घटाउन सक्रिय रूपमा लागि परेका छन् ।
तर प्रधानमन्त्री ओली भने फुटेरै अघि बढ्ने पक्षमा देखिएका छन् । उनले निकटस्थहरुलाई तयारी अवस्थामा रहन भनेका छन् । कुनैपनि बेला चुनौतीको सामना गर्नुपर्ने र आफूले कठोर कदम चाल्नसक्ने भन्दै ओलीले त्यस्तो निर्देशन दिएका हुन् । उनले यसअघिका विवादमा पनि आफू पक्षका नेता, कार्यकर्तालाई तयारी अवस्थामा रहन ‘अलर्ट’ गराएका थिए ।








