कोरोना पुष्टिपछि पूर्व मन्त्री मन्सुरलाई हेलिकप्टरमा काठमाडौं ल्याइयो

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री फर्मुल्लाह मन्सुरलाई कोरोना संक्रमणपछि उपचारका लागि हेलिकप्टरमा काठमाडौं ल्याइएको छ । उनलाई कोरोना संक्रमण पुष्टि भएपछि सिम्रिक एयरको हेलिकप्टर चार्टर्ड गरेर काठमाडौं ल्याइएको हो ।

नेता मन्सुर स्वास्थ्यमा समस्या देखिनथालेपछि सोमबार वीरगञ्जस्थित एडभान्स अस्पताल गएका थिए । उनमा मंगलबार कोरोना संक्रमण पुष्टि भएपछि वीरगञ्जको नेसनल मेडिकल कलेजले सञ्चालन गरेको बाबा होटल आइसोलेसनममा राखेर उपचार शुरु गरिएको थियो ।

पार्टी नेतृत्वको आग्रह पछि उनलाई थप उपचारका लागि बिहान हेलिकप्टरमा काठमाडौं ल्याइएको नेपाली कांग्रेसका महासमिति सदस्य लोकेश सिंहले जानकारी दिए ।

लोकेश सिंहका अनुसार उनलाई केही दिनदेखि ज्वरो आउने, खोकी लाग्ने र हिँड्दा दम बढ्ने समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो । पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।

उनको स्वास्थ्य स्थिति भने सामान्य नै रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया