दिल्ली क्वालिफायरमा, पराजित भए पनि बैंगलोर प्ले अफमा

काठमाडौं । दिल्ली क्यापिटल्स १३औं आईपीएल टी-ट्वान्टी क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ । आबुधाबीमा गएराति भएको आफ्नो अन्तिम लिग खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गर्दै दिल्ली क्वालिफायरमा पुगेको हो ।

शेख जायद स्टेडियममा बैंगलोरले दिएको १ सय ५३ रनको लक्ष्य दिल्लीले १९ ओभरमा मात्र ४ विकेट गुमाएर पुरा गर्‍यो । दिल्लीका लागि आजिख्य रहानेले सर्बाधिक ६० रन बनाए भने शिखर धवनले ५४ रन बनाए । त्यस्तै पृथ्वी शाले ९, कप्तान श्रेयस अय्यरले ७, रिषव पन्तले अविजित ८ र मार्कोस स्टोईनिसले अविजित १० रन बनाए ।

बैंगलोरका बलर शबाज अहमदले २ विकेट लिए भने मोहमद सिराज र वाशिंटन सुन्दरले एक एक विकेट लिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाउदै १५२ रन बनाएको थियो । बैंगलोरका लागि देवदत्त पाडिकलले सर्बाधिक ५० रन बनाए भने एबी डिभीलियर्सले ३५, कप्तान विराट कोहलीले २९, शिभम दुबेले १७, जोश फिलिपले १२ रन बनाए ।

दिल्लीका बलर एनरीच नोर्त्जेले ३ विकेट लिए भने कागीसो रबाडाले २ तथा आर आश्विनले एक विकेट लिए ।

जितसँगै दिल्लीले १४ खेलमा १६ अंक जोडेको छ । र, दिल्ली दोस्रो स्थानमा रहदै क्वालिफायरमा पुगेको हो । दिल्लीले अब पहिलो क्वालिफायरमा शीर्ष स्थानमा रहदै प्ले अफ पुगेको मुम्बई इण्डियन्ससँग खेल्नेछ । पहिलो क्वालिफायरको विजेता फाइनलमा पुग्नेछ । पराजित हुने टिमले दोस्रो क्वालिफायर खेल्नेछ ।

दिल्लीसँग पराजित बैंगलोर पनि प्ले अफमा पुगेको छ । चौंथो स्थानको कोलकाता नाइट राईडर्स भन्दा नेट रन रेटले अघि रहेपछि बेंगलोरले प्ले अफमा स्थान पक्का गरेको हो । बैंगलोरले १४ खेलमा १४ अंक जोडेको छ । अब बैंगलोरले दोस्रो क्वालिफायरमा कोलकाता र सनराइजर्स हैदराबादमध्ये एक टिमसँग खेल्नेछ ।

प्रतिक्रिया