कर्णालीका आफू निकट मन्त्रीहरुलाई राजीनामा नदिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । कर्णाली प्रदेशमा मन्त्रीपरिषद् हेरफेरको तयारीको चर्चा चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकट मन्त्रीहरुलाई राजीनामा नदिन निर्देशन दिएकाे बुझिएकाे छ ।

स्राेतका अनुसार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेपछि प्रम ओलीले कर्णालीका आफ्नो पक्षका मन्त्रीहरु दल रावल र नन्दसिंह बुढालाई राजीनामा नदिन निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री शाहीले शनिबारै केही मन्त्रीहरूलाई बोलाएर छलफल गरेका थिए । छलफलमा  मुख्यमन्त्री शाहीले माथिबाट दबाब आएकाले ओली पक्षका मन्त्रीहरूलाई हट्न आग्रह गरेका थिए । यद्यपी हट्ने/नहट्ने टुंगो लागेको छैन ।

मन्त्री रावलले भने राजीनामा दिने संकेत गरेका छन् । उनले आइतबार सामाजिक सञ्जालमा लेखेका छन्,‘ कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रीको हैसियतले ३२ महिनाको अवधिमा मन्त्रालयलाई नवजात अवस्थाबाट शिशु अवस्थामा पुर्‍याउन प्रत्यक्ष वा परोक्ष रूपमा सहयोग गर्नुहुने समआदरणीय महानुभावहरु प्रति ऋणी छु ।’

यसअघि सांसद यामलाल कँडेलको अगुवाइमा असोज २५ गते १८ जना सांसदले शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । त्यतिबेला माधवकुमार नेपाल समूहसँगकाे सहमतिमा उनीविरुद्धकाे अविश्वासकाे प्रस्ताव फिर्ता भएकाे थियाे । साेही सहमति बमाेजिम आफ्नो मन्त्रिपरिषदमा हेरफेर गर्न लागेका हुन् ।

प्रतिक्रिया