कर्णालीमा मन्त्रिपरिषद् हेरफेरको तयारी, ओली पक्षका दुई मन्त्री हट्ने !

काठमाडौं । कर्णाली प्रदेशमा मन्त्रिपरिषद् हेरफेरको तयारी भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका हुन् ।

असोज २५ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्व नेकपा संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता भएसँगै उत्पन्न विवादले कर्णालीको मन्त्रिपरिषद् पुनर्गठन हुने संकेत देखिएको हो । स्रोतका अनुसार मुख्यमन्त्री शाहीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका ३ जनालाई सम्‍भवतः आजै मन्त्री बनाउँदैछन् ।

प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली पक्षका दुई मन्त्रीलाई हटाउने तयारी छ । मुख्यमन्त्री शाहीले सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन तथा वन तथा वातावरणमन्त्री नन्दसिंह बुढालाई हटाउने तयारी गरेको स्रोतको दाबी छ । रावल र बुढालाई हटाएर चन्द्रबहादुर शाही, करवीर शाही र अमरबहादुर थापालाई मन्त्रीको जिम्मेवारी दिने तयारी छ ।

मन्त्रिपरिषद् विस्तार अघि नै सामाजिक विकासमन्त्री रावलले सरकार छोड्ने संकेत गरेका छन् । मन्त्री रावलले आइतबार बिहानै सामाजिक सञ्जाल फेसबुकमा ३२ महिने कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।यद्यपी मन्त्री हेरफेर हुने गरी बस्न लागेको मन्त्रिपरिषद् बैठकको विषयमा भने कुनै मन्त्रीले मुख खोलेका छैनन् । एक मन्त्रीले भने- ‘बजार हल्ला जस्तो अहिलेका अहिल्यै मन्त्री हेरफेर नहुन पनि सक्छ । अहिले यसै भन्न सकिने अवस्था छैन ।’

प्रतिक्रिया