पूर्वमन्त्री विश्वकर्मालाई आईसीयूबाट भेन्टिलेटरमा सारियो, उपचारमा सहयोग गर्न प्रधानमन्त्रीलाई आग्रह

काठमाडौँ। नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्मालाई भेन्टिलेटरमा राखेर उपचार थालिएको छ ।

कोरोना संक्रमणसँगै निमोनिया समेत भएका विश्वकर्माको ग्राण्डी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको थियो । आइसियुको उपचारबाट उनको स्वास्थ्यमा सुधार नभएपछि भेन्टिलेटरको सहायताले उपचार शुरु गरिएको उनका सहयोगी आकाश उप्रेतीले जानकारी दिएका छन् ।

५३ वर्षीय विश्वकर्मालाई कोरोना संक्रमणसँगै निमोनिया पनि देखिएपछि आईसीयूमा उपचार शुरु गरिएको थियो ।

नेपाली कांग्रेसले संघीय सांसद एवं पार्टीका केन्द्रीय सदस्य विश्वकर्माको उपचारका लागि सरकारसँग आग्रह गरेको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोनमार्फत उनको स्वास्थ्यावस्थाबारे जानकारी गराएका हुन् । साथै स्वास्थ्योपचारका लागि सरकारका तर्फबाट आवश्यक सहयोग गरिदिन पनि आग्रह गरेका छन् ।

नेता खाणले स्वास्थ्य तथा जनसंख्यामन्त्रीलाई समेत सांसद विश्वकर्माको स्वास्थ्योपचारका लागि आवश्यक पर्ने सहयोगका लागि अनुरोध गरेको कांग्रेस संसदीय दलले जनाएको छ ।

श्वासप्रश्वासमा समस्या आएको हुँदा धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भेन्टिलेटरमा राखी उपचार भइरहेको छ ।

प्रतिक्रिया