एक किशोरीसहित तीनजनाको शव भेटियो

महेन्द्रनगर । कञ्‍चनपुरको दुई छुट्टाछुट्टै स्थानमा एक किशोरीसहित तीनजनाको शव फेला परेको छ । कञ्‍चनपुरको कृष्णपुर नगरपालिका ४, मालुमेलास्थित जङ्‍गलमा आज बिहान दुईजनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्‍चनपुरका अनुसार जङ्‍गलमा कैलालीको गोदावारी नगरपालिका ११ का १५ वर्षीय टेकबहादुर कोली र १६ वर्षीय सीता साउदको शव भेटिएको हो ।

दुवैजना गत असोज २८ गतेदेखि परिवारको सम्पर्कबाहिर रहेको र आज बिहान जङ्‍गलमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय कञ्‍चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए । “दुवैजना २८ गतेदेखि परिवारको सम्पर्कबाहिर रहेको बुझिन आएको छ,” प्रवक्ता थापाले भने, “ घटनास्थलनजिकै सल्फास नामक विषादीको बट्टा पनि भेटिएको छ ।”

घटनाको विस्तृत अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय झलारी र कृष्णपुरको गुलरीया प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ । प्रहरीले कोलीको शव सडिसकेको अवस्थामा भेटिएको जनाएको छ ।

त्यसैगरी कञ्‍चनपुरको महाकाली नदीमा आज बिहान भीमदत्त नगरपालिका ६ का २३ वर्षीय सरोज चौधरीको शव भेटिएको छ । गत मङ्‍गलबार साथीहरुसँग दोधारा चाँदनी झोलुङ्‍गे पुल घुम्‍न गएका बेला नुहाउने क्रममा चौधरी बेपत्ता भएका थिए ।

प्रहरी प्रवक्ता थापाका अनुसार झोलुङ्‍गे पुलबाट करिब दुई सय मिटर दक्षिण चौधरीको शव भेटिएको हो । बेपत्तापछि प्रहरी र स्थानीय बासिन्दा खोजीमा जुटे पनि अवस्था पत्ता लगाउन सकेका थिएनन् । आज बिहान भने नदीमा माछा मार्ने क्रममा शव भेटिएको हो । प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरेर शव आफन्तको जिम्मा लगाउने जनाएको छ । -रासस

प्रतिक्रिया