मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

के म होइन? (कथा)

शिवप्रसाद पाण्डे

छबिलाल पाहुना लाग्न गएका थिए। आफु बसेको कोठाका भित्ताहरु निगालि रहेका थिए। सुनको लेप लगाएका करुवा,नामै थाहा नभएका विदेशी सामानहरु, खण्ड खण्डले बनेको सिलिङलाई बुटेदार चाँदिको पाताले जोडेको हेरे। घरभेटि आफ्नै उमेरका थिए। बसिरहेको अवस्थामा उनले आफ्नो र घरभेटिको जन्म र वाल्यकाल बारे अरुले भनेको र आफैले अनुभव गरेको कुरा स्मरण गरे।

छबिलाल आफु खेतमा जन्मेका थिए। सुत्केरी हुदाको दिनमा पनि आमा अरुको खेतमा निमेक गर्न जानु पर्ने अवस्था सम्झेर उनी केहि भावुक भए। त्यो दिन आमाले चार माना भुस मिसिएको धान निमेकको रुपमा पाएकी थिइन्। उता घरभेटिको जन्म र वाल्यकाल उस्तै थियो। उनको घर एकान्तमा थियो। उनको आमा एक्लै बस्ने गर्दथिइन्। बाबु र सात वर्षे दाइ लेकको गोठमा बस्ने गर्दथे। उनी जन्मदा जब उनको आमालाई प्रसुती व्यथाले च्याप्दै ल्यायो, बाहिर निस्कि आगनको छेउमा कपडा सुकाउने बाँसको टहलोमा दुबै हातले समाई उभिइन्। त्यति नै बेला उनी जन्मेर फुत्त तल्लो पाटाको पाक्ने बेलाको कोदो भित्र खसे। अध्यारोमा साल झुण्डाउदै आमाले रोएको आवाज पछ्याई छामछुम गर्दै उनलाई भेट्टाएकी थिइन्। आफुलाई जस्तै ती घरभेटिलाई पनि आमा नभएकोले वैभव देखाउन नसकेकोमा दुःख महसुस हुदो हो भन्ने लाग्यो। उनले आँखा घुमाउदै आफु बसेको पछाडि हेर्न सोफाबाट उठि पछि फर्के। त्याहाँ उनले सोह् वर्ष अघि खिचिएको आफ्नो ठूलो फोटो कलात्मक फ्रेम भएको सिसाभित्र सझाएर झुण्डाएको पाए। फोटोमा काला लामा लामा जुँगा र माओको स्टायलमा कपाल ठडो पारिएको थियो। उनी नजिकैको एैनामा हेर्दै पहिलेको र अहिलेको अनुहार तुलना गरे।

उनको स्मरणको सिलसिला बगि रह्यो। ती घरभेटिलाई दलाल पुँजीपतिको रुपमा त्यतिबेला उदारणको रुपमा भन्दै गरेको सम्झे। बिनापरिश्रम विभिन्न हतगण्डा अपनाएर सत्ताधारीसंगको मिलिमतोमा पुँजी जम्मा गर्नेलाई दलाल पुँजीपति भनिएको सम्झे। यस्ता पुँजीपतिले विदेशीसंग पनि देशको हित विपरित चोचोमोचो मिलाउछन् भन्दै कुर्लेको स्मरण गरे। अहिले आफुले अझै सजिलै र गोप्यरुपले त्यो काम गर्न सक्ने हैसियतमा पुगेकोमा भाग्यमानी ठाने। टेवुलमा पलाष्टिकको कवर समेत नहटाएका दुईवटा मार्सवादी पुस्तकहरु थिए। उनले ती पुस्तकहरु ओल्टाईपल्टाई गरिरहेको अवस्थामा खाना खान बोलावट भयो।

उनीसंगै गएका दुई जना जुनियर साथीहरु पहिल्यै खाइ सकेका थिए। उनी र घरभेटि खान बसे। चरेसको थाल र चाँदिका कचौराको ठुलै फेरो थियो। उनको थालमा दुई माना मर्सी चामलको भातको थुप्रो थियो। राजालाई एक पाथी पकाएर पस्कने घरानीया दरवारी चलनको सानो रुप त्याँहा देखिन्थ्यो। घरभेटिसंग रसिला भरिला तर अरुले नबुझ्ने पार्से कुरा गर्दै खादा खानाको स्वाद दोब्वर भएको महशुस गरेको जस्तो लाग्दथ्यो। त्यसपछि उनलाई सयन कक्षमा लगियो। दिनभरिको दौडधुपले गर्दा थकित उनी छीटै निद्रादेवीको शरणमा पुगे।

उनले एकपछि अर्को दुखत् र सुखत् सपना देख्दै गए। उनी आठ नौ वर्षको हुदा बुबा बटौली गएर एक वर्षलाई पुग्ने नुन मसला कपडा आदि काप्रे डोकामा बोकेर ल्याइ पिडिमा बिसाउछन्। उनको लागि कोराको पाँच बित्ता पछौरा,निलो जिनको जागे सिलाउने कपडा,खिप, एक एक टुक्रा मिश्रि र नरिवल उनको हातमा थमाउदा खुसिले उफ्रन्छन्। मरेका बुबाले कसरी ल्याए भ न्ने लाग्छ। यो भुत हुन सक्छ भन्ने लाग्छ। उनी अतासिदै बिउझिन्छन्। टेबिलमा राखेको पानी दुई घुडका पिई अर्को कोल्टे फर्केर सुत्दछन्।

सपना बिपनाको दमित अमुर्त रुप हो भनिन्छ। केहि समय अगाडि देखेको सपना, साँझ देखेको आफ्नो फोटो, भन्दै आएको राजनैतिक नारा,जीवन शर्माको ‘भरिया दाइुको गीत आदि सबै कुरा गोलमाल हुदै पछाडिको दिमागमा आउदा उनले फेरि यस्तो सपना देख्दछन्-उनी आफै भरिया भै ठूलो काप्रै काप्रा भएको डोकामा गह्रौ भारि बोकि उकालो बाटो लागेका रहेछन्। त्यो डोकोमा ल्याएका सामान सुरुमा बाबुले ल्याएका जस्तै भएको लागेछ। उकालो काटदै गर्दा डोकाका पोकाहरु राजनैतिक नाराहरुमा परिणत भएको जस्तो पाएछन्। कुनै पोका भुमिहिनको जग्गा, कुनै राजा माहाराजाको बिदेशबैंकमा जम्माभएको फिर्ता थैली, शोषणमुक्त समाज,समता , शहिद, विजय आदिमा रुपान्तरण हुदै गएछन्।कतिखेर त्यो भारि हल्का र कतिखेर गह्रौ भएको हुदै गएछ।

उनी एउटा भन्ज्याङको सितल चौपारीमा पुगेछन्। उनले त्यो भारि चौपारीमा बिसाएर नजिकैको ढुग्डे धारामा धित मर्ने गरि पानी पिएछन्। चौपारिको ठूलो छपनिमा हात सिरानी हालि उत्तानो परि सुतेछन्। उनी एकै छिनमा निदाएछन्। उनी निदाइरहेको अवस्थामा एउटा चोर आएछ। चोरले उनैको डोकामा भएको कैची झिकि दुबैतिरका उनका लामा लामा जुँगा चट चट काटि दिएछ। त्यसपछि उनको बिसाँएको भारिको डोको बोकि चुपचाप आफ्नो बाटो तताएछ। जब उनी बिउँझेछन् जुँगा बटार्न खोज्दा जुँगा पाएनछन्। त्यसपछि उनले बिसाएको भारिको डोको हेरेछन्। त्यो डोको पनि देखेनछन्। मेरा त लामा लामा जुँगा थिए। बिसाएको भारि पनि छैन। उनलाई भ्रम भएछ- के म होइन ? ‘के म होइन!’ ‘के म होइन !’ भन्दै उनी साच्चिकै बिउँझिए। उनलाई अ‍ैठान भयो। उनी कराएको आवाजले पल्लो कोठामा सुतेका साथी र घरभेटि पनि उनको कोठामा आए। उनी पसिनै पसिना भएर उठेर बसेका थिए। घरभेटिले ‘किन कराउनु भएको,के भयो,भनि सोधे। छविलालले जवाफ दिनु अघि नै उनको एउटा साथीले भने -उहाँलाई कहिलेकहीँ यस्तै अ‍ैठान हुने गर्दछ। त्यसपछि सबैले केहि क्षण “एक अर्कोको मुखमा हेराहेर गरिरहे ।”

प्रतिकृयाहरु
Loading...