नेकपा नेतृ भगवती चौधरी कोरोना संक्रमणमुक्त

काठमाडौं । महिला आर्थिक शशक्तिकरणकी अभियान्ता नेकपा नेतृ भगवती चौधरी कोरोना संक्रमण मुक्त भएकी छन् ।
दुई साता अघि सामान्य लक्षणसहित कोरोना पोजेटिभ भएकी नेतृ आज कोरोना मुक्त भएकी हुन् । उनलाई गत असोज २९ गते कोरोना संक्रमण भएको थियो ।

सुरुमा सामान्य खोकी तथा घाँटी दुख्ने समस्या देखिएकोमा एक साताअघि चौधरीलाई सामान्य ज्वरो पनि आएको थियो । नेपाल सरकारको स्वास्थ्य मापदण्ड अनुसार होम आइसोलेसनमै बसेर नेतृ चौधरीले कोरोनालाई परास्त गरेकी हुन् ।

उनको हिजो पिसिआर परीक्षण गरिएको थियो । नेतृ चौधरीले कोरोना भाइरसलाई परास्त गर्न सामाजिक दुरीको विकल्प नरहेको बताइन् । ‘म सरकारले तोकेको स्वास्थ्य मापदण्ड अपनाएर दुई हप्ता घरमै बसें । उच्च मनोबलका साथ सामाजिक दुरी कायम गर्ने हो भने, कोरोना भाइरसबाट बच्न सकिन्छ ।’

नेकपा केन्द्रीय सदस्य नेतृ चौधरीले कतिपयलाई कोरोना भाइरस लागेर पनि थाहा समेत नहुने तथा कतिपय गम्भिर बिरामी हुने बताउँदै लक्षण नदेखिएकाले पनि हेलचेक्राईं गर्न नहुने सुझाव दिइन् । ‘मलाई सामान्य लक्षण थियो, तथापि, पोजेटिभ भयो भन्ने वित्तिकै मनमा अनेक त्रास उत्पन्न हुँदो रहेछ । यस्तोबेला हामीले उच्च मनोबल कायम गर्नु पर्दो रहेछ ।’

नेतृ चौधरीले कोरोना पोजेटिभ भएर होम आइसोलेसनमा रहँदा सकारात्मक सोच बृद्धि गर्ने पुस्तकहरु अध्ययन गर्ने, टेलिभिजन हेर्ने, स्वास्थ्यवर्द्धक खानपान गर्ने गरेकी थिइन् । ‘कोरोना पोजेटिभ भइ हाल्दैमा कोही मरी हाल्ने हैन, यो सामान्य फ्लु जस्तै हो तर, सावधानी अपनाइएन भने चैं गम्भिर भाइरस हो । त्यसकारण सतर्कता अपनाउने, सामाजिक दुरी कायम गर्ने, इम्युनिटी पावर बढाउने आहार-विहार गर्नुपर्छ ।’

चौधरीले नेपालमै ९५ वर्षको उमेरकाले पनि कोरोनालाई परास्त गरेको उदाहरण दिँदै सावधानी अपनाएर सरकारले तोेकेको स्वास्थ्य मापदण्ड अपनाए छिट्टै कोरोना संक्रमणबाट मुक्त हुन सकिने बताइन् ।

पछिल्लो समय मुलुकमा कोरोना संक्रमण बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै नेतृ चौधरीले चाडवाडमा बढि जनजीवन चलायमान हुँदा संक्रमण उच्च रहने भएकोले सावधानी अपनाउन सबैलाई अनुरोध गरेकी छन् ।

दसैं, तिहार, छठ जस्ता ठूला चाडवाडहरु मनाइरहँदा घरपरिवार साथमा रहने भएकोले सामाजिक दुरी कायम गर्न गाह्रो हुने बताउँदै चौधरीले भनिन्,‘दसैं, तिहार, छठ भनेका परीवार तथा मान्यजनहरु भेला भएर मनाउने चाडपर्व हुन्, कोरोना संक्रमणको बेला यसरी आफन्त, परीवार भेला भएर चाडपर्व मनाउँदा संक्रमणको जोखिम उच्च हुन्छ, यो पाली जो जहाँ छौँ, त्यहीँ बसेर चाडपर्व बनाउँ, चाडपर्व त अर्को वर्षपनि आइहाल्छ नि ।’

प्रतिक्रिया