मकवानपुर: ११० नमुना परीक्षण गर्दा ५९ जनामा देखियो कोरोना

चितवन । मकवानपुरमा शुक्रबार बिहान ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११० जनाको स्वाब परिक्षण गर्दा ५९ जनामा संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईंले जानकारी दिए ।

संक्रमण पुष्टि हुनेहरुमा ३६ जना पुरुष र २३ जना महिला रहेका छन् । संक्रमण हुनेहरुमा हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडाका ४८ जना, थाहा नगरपालिकाका ५ जना, मनहरी गाउपालिकाका ५ जना र बकैया गाउपालिकाका १ जना रहेका छन् ।

हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर २ का सबैभन्दा धेरै ९ जनामा कोरोना पुष्टि भएको छ भने वडा नम्बर ५ र ९ मा ८/८ जनामा संक्रमण पुष्टि भएको हो ।

बिहिवार ४२ जना र बुधबार २७ जनामा संक्रमण पुष्टि भएको थियो । मकवानपुरमा पछिल्ला दिनहरुमा कुल संकलन भएको स्वाबको आधाको हाराहारीमा संक्रमण पुष्टि भइरहेको छ ।

प्रतिक्रिया