मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

एक चुनौतिपूर्ण यात्राको कथा : हिमाल चढ्नेको कथा

  • सृष्टि नेपाल (द्वारिका)

काठमाडौं । पाइलैपिच्छे खतरा छ भन्ने थाहा हुँदाहुँदै जीवन किन यता (पर्वतारोहण) तर्फ मोड्नुभयो ?

‘मलाई च्यालेन्ज मनपर्छ’– उनको जवाफ थियो ।

उनको अर्थात् जेनजेन लामाको । संखुवासभाको भोटखोला गाउँपालिका–२ घर भएका जेनजेन हाल काठमाडौंको कपनमा बस्छन् । उनी विगत ८/९ वर्षदेखि हिमाल चढ्ने, चढाउने (ट्रेकिङ) पेसामा आबद्ध छन् ।

करिब १२ वर्षअघि पढाइको सिलसिलामा काठमाडौं आएका जेनजेनले कहिल्यै सोचेका थिएनन्– ‘म सगरमाथा चढ्छु, चढाउँछु ! ट्रेकिङ गाइड बन्छु !’ तर काठमाडौं आएपछि उद्देश्य बद्लियो । पर्वतारोहण क्षेत्रतर्फ इच्छा जाग्यो । जोखिम छ भन्ने थाहा हुँदाहुँदै पनि विभिन्न तहको तालिम पुरा गरे ।

नेपालका हरेक कुना–कन्दरा, हिमाल–पहाडबारे जानकारी लिए । फिल्डमा खटिए । र त्यहाँको कठिनाइबारे पनि अनुभव गरे– ‘हिमालमा हिम पहिरोको निकै जोखिम हुन्छ । चिसोले हातखुट्टा काप्छन् । लेक लाग्छ कतिलाई’, जेनजेन भन्छन्–‘यो पेसामा ९९ प्रतिशत जोखिम र १ प्रतिशत मात्रै जीवन छ ।’

ट्रेकिङ गाइड बनिसकेपछि हिमाल चढ्दा होस् या पहाड, स्वदेशी/विदेशी सबैलाई कन्भेन्स गर्न सक्नुपर्छ । विशेषगरी विदेशीहरु नेपाल आएपछि पर्वतारोहीकै विश्वासमा सँगसँगै हिँड्छन् । त्यतिबेला आफ्नो साथमा उनीहरु सुरक्षित छन् भनेर विश्वास दिलाउँछन् जेनजेन । त्यसपछि हिमाल/पहाड चढ्दा कायम हुनुपर्ने अनुशासनबारे सिकाउँछन् र पर्यटकलाई सुरक्षित तवरले यात्रा गराउँछन् ।

पर्यटन (ट्रेकिङ गाइड) क्षेत्रमा अर्को समस्या भनेको भाषाको हुन्छ । सबै विदेशीले अंग्रेजी बोल्न जान्दैनन् । उनीहरु आफ्नो मातृभाषाको प्रयोग गर्छन् । तीनीहरुसँग समस्या हुने जेनजेनको भनाइ छ ।

भाषाले सिर्जना गरेको एक अप्ठेरो परिस्थितिको एक किस्सा सुनाए उनले । जेनजेन २०१९ मा दोस्रो पटक सगरमाथा चढ्न गएका थिए । त्यतिबेला उनको साथमा एक चाइनिज थिए । उनलाई अंग्रेजी बोल्नै नआउने, जेनजेनलाई चाइनिज नआउने । जब उनीहरु सगरमाथाको शिखर पुग्दै थिए, त्यतिबेला विदेशी निकै कमजोर बनिसकेका थिए । साथमा पर्याप्त अक्सिजन पनि थिएन । भाषाका कारण त्यो परिस्थिति व्यक्त गर्न, सम्झाउन उनलाई निकै गाह्रो पर्यो ।

तस्विर : जेनजेन लामाकाे फेसबुकबाट

उनी भन्छन्– ‘शिखर पुग्नै लाग्दा बीच बाटोबाटै फर्काउन पनि मिलेन । किनकी विदेशीहरु लाखौँ पैसा तिरेर सगरमाथा चढ्न आएका हुन्छन् । त्यसैले बडिल्यांग्वेजबाट उनलाई सम्झाएँ । शिखरसम्म पुगेरै फर्कियौँ ।’

पहिलो पटक जेनजेन २०१८ मा सगरमाथा चढेका थिए । धेरैवटा हिमालहरु चढिसकेका उनी अरुका लागि बाटो बनाएर टिमसँगै फर्किए । ‘रोप फिक्सिङ’नामक टिमबाट सगरमाथा पुगेका उनलाई त्यतिबेला ‘सगरमाथा चढेको’ जस्तै लागेन ।

त्यतिबेला टपमा पुग्दा मौसम खासै राम्रो थिएन । बादल, हुस्सु लागेको थियो । त्यसकारण छिट्टै फर्कनुपर्ने भयो । टिमसँगै समिट गए, फोटो खिचे अनि फर्किए । उनले भने,‘त्यतिबेला समिटमा पुगेँ भनेर मलाई विश्वास नै लागेको थिएन । बेसक्याम्प आइसकेपछि भने ‘अहो मैले एभरेष्ट पो चढेको रहेछु’ भन्ने महशुष भयो ।’

दोस्रो पटक भने उनले सगरमाथा चढ्दाको मज्जा लिए । ‘त्यतिबेला मैले भिजिट २०२० को झण्डा पहिलो पटक सगरमाथाको चुचुरोेमा पुर्याएको थिएँ । त्यस क्षण गर्व लागेको थियो आफैँप्रति । काठमाडौं फर्किएपछि पर्यटनमन्त्रीलाई फोटो पनि हस्तान्तरण गरेको थिएँ सिंहदरबार पुगेर’, उनले बताए ।

००० 

पहिलो पटक सगरमाथा चढ्ने दिन उनलाई निकै डर लागेको थियो । मनमा अनेकन कुराहरु खेलिरहेका थिए – ‘जान पनि मन थियो । बाँचरे फर्कन्छु या मरेर फर्कन्छु टुंगो थिएन । संसारको टुप्पोमा पुग्ने रहर पुरा गर्न मनलाई सम्झाएँ ।’

सगरमाथा चढ्दै गर्दा सेकेन्ड, सेकेन्डमा डर छ । त्रास छ । कतिबेला के हुन्छ थाहै हुँदैन । सुरुवाती चरणमा जाँदा अलिकति अप्ठेरो हुन्छ । पछि लाखौँ मानिसहरु हिँडिरहेका हुन्छन्, रोड नै बनिसकेको हुन्छ । सुरुसुरुका दिनमा त आधी ज्यानसम्म हिउँ छिरेको उनको अनुभव छ ।

उनलाई परिवारले पनि राम्रो समर्थन गरेका थिए सगरमाथामा चढ्छु भन्दा । तर श्रीमतीको मनमा अलिकति त्रास थियो । ‘चढ्नुभयो भने त धेरै राम्रो भयो तर तलमाथि केही भइहाल्यो भने हाम्रो के हुन्छ ?’–उनले जेनजेनसामु पीडा जोहर गरेकी थिइन् ।

तस्विर : जेनजेन लामाकाे फेसबुकबाट

पहिलो पटक सगरमाथा चढ्दा उनको छोरी १८ महिनाकी थिइन् । त्यतिबेला ‘म मरिहालेँ भने, अंगभंग भयो भने मेरो परिवारको के हुन्छ होला ! बाँचेर आएँ भने त हर्ष नै हो’, उनको मनमा पनि अनेक तर्कवितर्क चल्थ्यो ।

‘बाँचेर आइयो, जीवन फेरि देख्न पाइयो’, उनी भन्छन् ।

जब राति आफू सुतिरहेको टेन्ट हिउँले पुर्यो…

जेनजेनका अनुसार, सगरमाथा चढेर फर्कन करिब २ महिना/४५ दिन जति लाग्छ । सगरमाथा चढ्दा तातो खालका लत्ताकपडा, जुत्ता, हेलमेट, खानेकुराहरु साथमा लैजानुपर्छ । बेसक्याम्प सम्मका लागि भने कुनै समस्या छैन । ट्रान्सपोर्टेशन हुन्छ ।

बेसक्याम्पमा त त्यति डर हुँदैन । क्याम्प वान, क्याम्प टु तिर अलिकति डर हुन्छ । तल्ला क्याम्पहरुमा पहाडहरुमा ठोक्किएर हावा बहेपनि सगरमाथाको अन्तिम क्याम्पतिर भने हावा सिधै पास हुन्छ । त्यहाँ जोखिम अलि बढी हुने जेनजेन बताउँछन् । जोखिमबारे बताउँदै गर्दा उनले ‘हिउँले पुरेको’ एक किस्सा पनि सुनाए ।

२०१८ मा पहिलो पटक सगरमाथा चढ्दाको कुरा हो । रातको समय सबै जना सुतेका थिए । सुतेकै समय हावाले उनी सहितको टीम बसेको टेन्ट कचाककुचुक पारेछ । त्यहीमाथि हिउँले थिच्यो ।

‘अक्सिजन लगाएर सुतिरहेका थियौँ तीन जना । बिउँझिँदा त्यो दृश्यले मन अत्तालियो । पछि सबै जना जराकजुरुक उठेर छेउछाउका मान्छेहरुलाई कराएर सहयोग माग्यौँ’, उनको अनुभव छ ।

सगरमाथामा देखिने दुर्घटनाहरु…

सगरमाथा चढ्नु निकै चुनौतिपूर्ण काम हो । कति मान्छेहरु कमजोरीका कारण बीच बाटोमै ढलिरहेका हुन्छन् । कति मरिरहेका हुन्छन् । त्यही लासमाथि नै चढेर यात्रा गर्नुपर्ने अवस्था सिर्जना हुने उनी बताउँछन् ।

उनी भन्छन्–‘कोही मान्छे माथिबाट खसेको हुन्छ चढ्ने क्रममा । हाम्रै अगाडी मरिरहेका हुन्छन् । त्यस्ता घटनाहरु धेरै छन् । त्यस्ता घटनाले मन झन् उथलपुथल हुन्छ । डर लाग्छ, तैपनि सम्हालिनुपर्ने हुन्छ । मैले हिम्मत नहारी यात्रा पुरा गरेँ ।’

अगाडी बढ्न अलिकति बुद्धि पनि लगाउनुपर्ने उनको भनाइ छ । ‘बाँचेर फर्कनु छ, त्यसैले ज्यान गुमाएकाहरुतिर ध्यान लगाउनु हुँदैन । आफ्नो लक्ष्यमा केन्द्रित भएर अघि बढ्नुपर्छ । बल्ल शिखरसम्म पुगिन्छ’, उनले बताए ।

सगरमाथा चढ्न पहिले त्यहाँ प्रयोग हुने सामान र त्यसका नाम, ती सामानहरु प्रयोग तथा परिवर्तन गर्ने तरिका, चढ्ने–झर्ने तरिका लगायत सबै जान्न ट्रेनिङ लिनैपर्ने जेनजेनले बताए । त्यस्तै कागजी प्रक्रियाहरु पनि पुर्याउनुपर्ने हुन्छ ।

खर्च भने कसले कस्तो किसिमको सेवा लिन्छ, त्यसमा निर्भर गर्ने उनको भनाइ छ । उनका अनुसार विदेशीले ३० लाखदेखि १ करोडसम्म तिर्छन् र सोही अनुसारको सेवा सुविधा लिन्छन् ।

पर्वतारोहणमा भविष्य : छैन सुरक्षित

पर्वतारोहण क्षेत्रमा खासै भविष्य देखेका छैनन् जेनजेनले । भन्छन्– ‘बलशक्ति छउन्जेल, काम चलुन्जेल आम्दानी हुने हो । बुढेसकाल लागेपछि पेन्सन पाक्ने हुँदैन । त्यतिबेला माउन्टेन चढ्न सक्ने अवस्था पनि हुँदैन । यसकारण यो पेसा त्यति सुरक्षित देख्दिन म ।’

गर्न सक्नेका लागि र काम चलेका बेला जोखिमसँगै आम्दानी पनि राम्रो हुने उनले बताए । उनका अनुसार,‘मासिक यति आम्दानी भन्ने हुँदैन, काम पुरा गरेपछि एकमुष्ट पैसा आउँछ । एक प्याकेजमा ५ देखि १५ लाखसम्म कमाउँछन् । कहिलेकाहीँ टिप्स पनि आउँछ ।’

नेपालीले चिन्दैनन्, विदेशीले भगवान् मान्छन् !

नेपालको अर्थतन्त्रमा पर्यटनको ठुलो हिस्सा छ । तर पर्यटन व्यवसायीहरुलाई प्रोत्साहन दिइएको पाइँदैन । न राहत, उद्दार कोष छ न त उनीहरुको छोराछोरीलाई शिक्षा र स्वास्थ्यमा सहुलियत नै मिल्छ । बुढेसकालमा काम गर्न पनि सकिँदैन ।

सरकारले एउटा इमरजेन्सी कोष, पेन्सन कोष जस्तो केही बनाइदिने हो भने यो क्षेत्रमा काम गर्न सहज हुने, प्रोत्साहन मिल्ने जेनजेन बताउँछन् । नेपालमा पर्वतारोहीको कुनै महत्व नरहेको उनको गुनासो छ । उनी भन्छन्– ‘यहाँ सेवा सुविधा केही पनि दिइँदैन, न सम्मान छ । विदेशमा निकै सम्मान हुन्छ हाम्रो कामको, भगवान् जतिकै मान्छन् । आम्दानी पनि राम्रो हुने विदेश जानुभएका साथीहरु सुनाउनुहुन्छ ।’

पर्वतारोहण क्षेत्रको जोखिम र असुरक्षित भविष्यका कारण पनि जेनजेनकी श्रीमती उनलाई यो पेसा छोड्न आग्रह गरिरहन्छिन् । सानोतिनो काम गरेर बसौँ भन्छिन् । उनी भने यो पेसामा फर्किने/नफर्किनेमा अझै अन्यौलमा छन् !

प्रतिकृयाहरु
Loading...