नेपालमा ७४.१ प्रतिशत कोरोनामुक्त, दसैंमा परीक्षण घट्दा नयाँ सङ्क्रमित थोरै

काठमाडौं । नेपालमा कोरोनामुक्त हुनेको सङ्ख्या ७४.१ प्रतिशत नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मंगलबारसम्म एक लाख १८ हजार ८४३ जना कोरोनामुक्त भएका छन् ।

प्रदेश १ मा ११ हजार २९, प्रदेश २ मा १६ हजार ४७८, वागमतीमा ५७ हजार ९५५, गण्डकीमा पाँच हजार ७६०, लुम्बिनीमा १४ हजार ५१०, कर्णालीमा चार हजार ६२० र सुदूरपश्चिममा आठ हजार ४९१ सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा तीन हजार १६८ जना कोरोनामुक्त भएका छन् ।

अहिले ४० हजार ६८१ सक्रिय सङ्क्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २८१ को सघन उपचार कक्ष र ७१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । कूल ३२ हजार ४६४ सङ्क्रमित होम आइसोलेसनमा छन् ।

झापा, मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी पूर्व, दाङ, रुपन्देही, बाँके, सुर्खेत र कैलालीमा ५०० बढी सक्रिय सङ्क्रमित छन् भने मुस्ताङमा सक्रिय सङ्क्रमित छैनन् । पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणबाट १४ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ८७६ पुगेको छ ।

दसैंमा परीक्षण घट्दा संक्रमण कम
दसैंको समय भएकाले स्वाब परीक्षण कम हुँदा संक्रमित कम भएको देखिन्छ । मन्त्रालयका अनुसार शुक्रबार अर्थात् दसैंको फूलपातीका दिन १६ हजार आठ सय ६३ जनाको पीसीआर परीक्षण गरिएको थियो । तीमध्ये चार हजार चार सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै शनिबार महाअष्टमीका दिन १३ हजार आठ सय ४६ जनाको पीसीआर परीक्षण हुँदा दुई हजार दुई सय २५ जनामा कोरोना पुष्टि भएको थियो । भने आइतबार महानवमीका दिन १२ हजार तीन सय ११ जनाको पीसीआर परीक्षण गरिएकोमा २ हजार आठ सय ५६ जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।

सोमबार विजयादशमीको दिन पाँच हजार छ जनाको मात्रै पीसीआर परिक्षण गरिएको थियो । तीमध्ये एक हजार सात सय ४१ जनामा कोरोना पुष्टि भएको थियो । मंगलबार दुई हजार ७२५ नमूना परीक्षण गर्दा ५७० जनामा सङ्क्रमण पुष्टि भयो ।

यो बेला परीक्षण कम भएकाले नयाँ संक्रमित थोरै थपिएका हुन् । चाडपर्वको समयमा संक्रमण केही घटेको देखिए पनि चाडपर्वमा धेरै आवतजावत भएकाले फेरि संक्रमण बढ्ने अनुमान जनस्वास्थ्यविद्ले गरेका छन् । ​

प्रतिक्रिया