चितवनमा होम आइसोलेसनमा बस्ने धेरै, कोरोनाका कारण ५० जनाको मृत्यु 

ध्रुवराज खनाल –
चितवन। चितवनमा कोरोना सङ्क्रमितको सङ्ख्या झन्डै ४ हजार नजिक पुगेको छ । जिल्लामा हाल सम्म ३ हजार ९४७ जनामा सङ्क्रमण देखिएको पछिल्लो विवरणले देखाएको हो ।

कुल सङ्क्रमितको सङ्ख्या ३ हजार ९४७ रहेको छ । जसमध्ये एक हजार ७५३ सक्रिय  सङ्क्रमित छन् ।  ४४.४१ प्रतिशत सङ्क्रमित सक्रिय छन् भने ५४.३२ प्रतिशत सङ्क्रमित निको भएका छन् । चितवनमा हाल सम्म ३९ हजार ८६० जनाको पिसिआर परीक्षण गरिएको छ ।

जिल्लामा सुरुमा सङ्क्रमण कम देखिँदा अस्पतालकै आइसोलेसनमा राखिने गरे पनि बिस्तारै सङ्क्रमितको सङ्ख्या बढ्दै गए पछि अस्पतालले धान्ने अवस्था रहेन । त्यसपछि लक्षण नदेखिएकालाई  होम आइसोलेसन वा सामुदायिक आइसोलेसनमै राख्न थालियो ।

यहाँ सक्रिय सङ्क्रमित मध्ये एक हजार ३४६ जना सङ्क्रमित होम आइसोलेसनमा रहेको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । भरतपुर अस्पतालले समग्र जिल्ला र आफ्नै अस्पतालमा कोरोनाको अवस्थाका बारे जानकारी गराउँदै आएको छ ।

जिल्लामा सबैभन्दा धेरै सङ्क्रमित भरतपुर महानगरपालिकामा रहेका छन् जसमा सङ्क्रमितको सङ्ख्या २ हजार ६६७ जना रहेका छन् । यस्तै रत्ननगर नगरपालिकामा सङ्क्रमितको सङ्ख्या ५०२ जना, खैरहनी नगरपालिकामा २८७ जना, राप्ती नगरपालिकामा २५९ जना, कालिका नगरपालिकामा ११७ जना, माडी नगरपालिकामा ८६ जना र इच्छाकामना गाउँपालिकामा २९ जना सङ्क्रमित रहेको भरतपुर अस्पतालका सूचना अधिकारी पौडेलले बताए ।

चितवनमा कोरोनाबाट हुने मृत्यु हुनेको सङ्ख्या ५० जना पुगेको छ । यो कुल सङ्क्रमितको  १.२७ प्रतिशत हुन जान्छ । भरतपुर अस्पतालमा मात्रै कोरोनाका कारण २८ जनाको मृत्यु भएको छ । चितवनमा पहिलो पटक वैशाख ५ गते राप्ती नगरपालिका ८ मा आमा छोरामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया