मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

‘अवसर नपाएर होइन, अवसर त्यागेर यो जीवन बाँचेको हुँ’ (भिडिओ सहित)

सबै सम्पत्ति बन्दकी भएका कारण ‘बेसाएर’ खानुपर्ने स्थिति आयो । खैर, सुःख–दुःख त मान्छेको जीवनमा भैपरि आउने कुरा न हो ।

एन्जिला क्षेत्री

काठमाडौं । बाल्यकालमा बाँसुरी बजाएर तल–माथि दौडिएको जनगायक जीवन शर्मालाई अझै ताजा सम्झना छ । बाँसुरी धेरै बजाएको सुनेर छिमेकीले गाली समेत गर्थे रे !

बागलुङ जिल्लाको जैमिनी नगरपालिकाको पाइ भन्ने सानो गाँउमा जन्मिएका जीवन बाँसुरी पनि आफैँले बनाउँथे । सानैदेखि एउटा कुरामा निश्चित भएर हिँड्ने उनी घरको नजिकै एउटा सानो खोल्साको पानीसँगै बगिरहन्थे ।

कहिलेकाहीँ त्यो निश्चल गंगा सँगसँगै बगेर ठुलो खोलासम्म पुग्ने गरेको उनलाई अझै याद छ । एक पटकको कुरा हो । जीवन घरमा कसैलाई केहि नभनी पानीसँग खेल्दा खेल्दै ठुलो नदिको किनारसम्म पुगेछन् । परिवारमा उनी हराएको थाहा पाएपछि उनलाई खोज्न उनका बुबाहरु गए । ५-७ घण्टापछि उनलाई भेटेर रिसाउँदै घरमा लिएर आए ।

कहिले त्यसरी बहँदै हिँड्थे त कहिले कमिलासँगै खेल्ने गर्थे । कमिलाहरु जताजता जान्थे उनी पनि त्यतै जान्थे । साँच्चै भन्ने हो भने सानोमा जीवनको अनौठो स्वभाव थियो । कहिले खोलाको पानीसँग त कहिले कमिलासँग खेलेर उनको बाल्यकाल बित्यो ।
००००

आमा द्रउपतादेवी र बुबा चन्द्रदत्त उपाध्यायको कोखबाट २०१६ साल चैत्र २६ गते जन्म भएको थियो उनको । बाल्यकालमा घर व्यवहार कस्तो छ भन्ने कुरा केटाकेटीहरुलाई त्यति ख्याल हुँदैन । मात्र भोक लागेको बेला खान, खेल्न र सुत्न पाए हुन्छ । तर जीवन अलि चनाखो नै थिए, अनी बुझकी पनि ।

भिडिओ

उनको घरको अवस्थामा विभिन्न उत्तरचढावहरु आए । उनका बुबा गाउँको प्रधानपञ्च अर्थात ‘मुखिया’ थिए । घरमा दुई वटा घोडा थिए । बुबाको नाम सुनेपछि गाउँका सबै डराउँथे ।

६०-७० मुरि धान र ५०-६० मुरि कोदो फल्थ्यो गाउँमा । गाउँका मुखिया भएका कारण बुवाले गाउँलेहरुलाई आइपरेका हरेक समस्याहरु सुल्झाउनु पथ्र्यो । सदरमुकाम जाने झै–झगडा मिलाउने गर्दागर्दै सबै श्रीसम्पति सकिएर एउटा गरा मात्र बाँकी भयो ।

सबै सम्पत्ति बन्दकी भएका कारण ‘बेसाएर’ खानुपर्ने स्थिति आयो । बन्दकी सकिएपछि सुखका दिनहरु पनि फर्केर आए । खैर, सुःख–दुःख त मान्छेको जीवनमा भैपरि आउने कुरा न हो ।

जीवन काट्दै जीवन पाँच वर्ष पुगे अनि स्कुल भर्ना गरियो । तीन कक्षामा फेल भए, बुवाको गाली खाए । केटाकेटी बुद्धि न हो, आमालाई गाल पार्दै बुवाको मुखबाट निस्किएको गालीले उनलाई भारतसम्म जाने योजना बुन्न बाध्य बनायो ।

बिहान झिसमिसेमै भारत जाने योजनामा साथीहरुले पनि सहमति जनाए । तर उनीहरुको योजना सफल भने हुन पाएन । ‘झिसमिसे उज्यालोमा कसैले नदेख्ने गरी जाने भनेर सल्लाह गरेका थियौँ । उठ्दा त बिहान घाम लागि सकेको रहेछ । अनि त्यो सल्लाह त्यहिँ टुङ्गीयो’, विगतका बाल्यकाल सम्झँदै उनी भन्छन् ।

यसरी भारत जाने उनको योजना असफल भयो । फेल भएपछि बुबाले स्कुल भर्ना पनि गर्दिएनन् । तर, एकदिन संस्कृत पढाउने भनेर गुरु कहाँ लिएर गए । त्यसपछिको ३-४ वर्ष भने उनको कहिले पढ्ने, कहिले गाईबाख्राको गोठालो जाने गरेरै समय बित्यो । एकदिन भिनाजु आएर बुबालाई रिसाउँदै सम्झाए–‘छोरालाई यसरी गोठालो पठाएर हुँदैन । पढाउनु पर्छ ।’

भिनाजुको सम्झाइले काम गर्यो । पढाउन बुवा राजी भए । ३ कक्षा फेल भएको मान्छेलाई भिनाजुले एकै पटक ७ कक्षामा भर्ना गरिदिए । ‘३ कक्षामा फेल भएको मान्छेलाई ७ कक्षामा भर्ना गरिदिँदा त मेरा दाँतबाट पसिना छुट्थे । तर, दिनरात नभनी मेहनत जारी राखेँ । प्रथम भएँ । त्यसपछि बुवा खुशी हुनुभयो ।’

८ र ९ कक्षामा पनि प्रथम भएका जीवन एसएलसीमा ६८ प्रतिशत ल्याएर उत्तिर्ण भए । त्यसपछि क्याम्पस पढ्नका लागि काठमाडौं हान्निए । पुल्चोकमा रहेको इन्जिनियरिङ कलेजमा भर्ना भए । तर, पढ्न सकेनन् । कलेज पढ्दै गर्दा २०३५-३६ सालको आन्दोलन चर्कियो । उनी पनि त्यसमा सामेल भए– जनताको न्यायका लागि लड्न ।

जनताको पक्षमा गीत गाउनुपर्छ भन्ने हेतुले उनले कलेज नै छोडिदिए । त्यहीँबाट सुरु भयो जीवनको सांगितिक यात्रा । त्यो यात्राले अहिलेसम्म गति लिइरहेको छ ।

जतिबेला उनले गीत गाउन सुरु गरे त्यति बेलाको समय सहज थिएन । देशमा पञ्चायत थियो । पञ्चायतले गरीब दुःखी जनताको बिषयमा बोल्न दिँदैनथ्यो । बोल्यो भने, प्रहरीले समातेर जेल चलान गरिहाल्थ्यो । उनले पनि त्यो पीडा झेल्नु परेको थियो । ‘दु:खी गरीबका बारेमा किन गीत गाउँछस् ? भन्दै जेलमा हाल्थ्यो । उस्तै परे फाँसी दिनेसम्मका कानुनहरु बनेका थिए त्यतिबेलाको समयमा’, उनले विगत सम्झिए ।

जसले जति रोकछेक र धम्की दिएपनि उनले जनताको बारेका गीतका माध्यमबाट बोल्न भने छोडेनन् । उनी गरीबहरुको बारेमा गीत गाउँदै कहिले कहाँ पुग्थे त कहिले कहाँ । भोक–प्यास, उकाली–ओराली, डाँडा–पाखा, हिलो–धुलो केहि नभनि उनि एउटा निश्चल गंगाको पानी जसरी गरीब र दुःखीको आवाज बनेर बग्न थाले ।

एकदिन एकसुरमा स्याङजामा उकालो चढ्दै थिए । एउटा चौतारोमा बसेका एक ८०-८१ वर्षीय भरियामा उनको नजर पुग्यो । उनलाई ती भरियाको जीवनबारे जान्ने इच्छा भयो, नजिकै गए । भरियाले भने उनलाई लुटेरा सम्झिएछन् सायद–तर्किए, डरले थरथरी कापे ।

नडराउन आग्रह गरेपछि उनी जीवनसँग गफिन थाले । भरिया कहिले हातले कहिले च्यातिएको मैलो ढाका टोपीले आँशु र पसिना पुछ्दै आफ्नो कथाको वृतान्त सुनाएर छुट्टिए । भरियासँग छुट्टिएर बाटो लाग्दै गर्दा बीच बाटोमा जीवनले फुराएको चर्चित गीत हो ‘सिमली छाँया’

देश तथा विदेशमा पुगेर गरीब, दुःखी जनताका न्यायका लागि गीत गाउँदै यहाँसम्म आइपुगेको जीवन बताउँछन् । उनी अहिले पनि शोषण र दमनविरुद्धका गीतहरु गुन्गुनाउँछन्, जनताका पक्षमा आवाज उठाउँछन् ।

एक पटक त उनलाई प्रहरीले गिरफ्तार समेत गरेको थियो । ‘प्रहरीले पक्राउ गरेपनि हामी सहि छौँ भने कसैले केही गर्न सक्दैन भन्ने थियो । हामी उनीहरुको दमन शैलीबाट कहिल्यै निराश भएनौँ । जनताको पक्षमा उभिनु गलत होइन भनेर उल्टै प्रहरीलाई सम्झाउँथ्यौँ ।’

स्कुलमा पढ्दा उनले चेतनाको तरङ्ग भन्ने तालिम लिएका थिए । त्यहाँबाट उनले आफ्नो लागि होईन अरुको लागि बाँच्नुपर्छ भन्ने ज्ञान सिके । जनताको लागि जिउनु पर्छ भन्ने कुरा महान् हो भन्ने बुझे । बौद्धिक किसिमका किताबहरु पढे । विश्वका महान् व्यक्तिहरुका जीवनी, कृति पढ्न थाले । यहाँसम्म आइपुग्नुको श्रेय पनि उनी तीनै किताबलाई दिन्छन् ।

अहिले हाम्रा कला, संस्कार र संस्कृतिहरु हराउँदै गएका छन् । पहिला गाँउघरमा रोधी गाउने झ्याम्रे, टप्पा गाउने चलन थियो । रातभर केटाकेटी बसेर गाउने अनि उज्यालो हुँदा जसले जित्यो उसैले लैजाने प्रचलन थियो । उनी पनि साथीहरुसँग कहिलेकाहीँ जाने गर्थे । त्यतिबेलाको रमाइलो सम्झँदै उनी भन्छन्– ‘साथीहरु गाउँदै हुन्थे, म निदाइहाल्ने रहेछु ।’

पुरुषहरुको उमेर बढ्दै जाँदा स्वरमा पनि परिवर्तन आउँछ । तर उनको स्वर भने रोधी गाउन जाने बेलासम्म पनि परिवर्तन भइसकेको थिएन । केटीको जस्तो स्वर भएका कारण उनी केटीकै लाइनमा बसेर गीत गाउँथे ।

जीवनले हालसम्म झन्डै २ हजार बढी गीतहरु गाइसकेका छन् । जीवनले गाएका गीतले देश र समाजमा सकारात्मक चेतना फैलाउँछ । उनी भन्छन– ‘मर्छु भनेर हिँडेको थिएँ । तर हजुरका गीतहरु सुनेर सर्घर्ष गर्नुपर्छ लाग्यो र आजसम्म बाँचेको छु भन्ने धेरैँ भेटेँ । त्यसैले जीवनमा निराशा होइन आशा बोकेर हिँड्नुपर्छ ।’

उनका गीतले जनताहरुलाई मात्र होइन । देश र नेताहरुलाई पनि प्रभाव पार्यो । लाखौँ नेपालीको आवाज बनेर हिँडेका उनी काठमाडौंको अनामनगरमा श्रीमती र छोरीसहित डेरामा बस्छन् । ‘मैले इन्जिनियरिङ कलेज नछोडेको भए काठमाडौंमा एक दुई–वटा घर बनाएर धनाढ्य भएर बस्थेँ । मेरो जिन्दगी त्यहि घरभित्र कैद हुन्थ्यो’, उनले भने, ‘तीन करोड जनताको मायाबाट बन्चित हुन्थँे । त्यो खतरा टर्यो । मैले अवसर नपाएर साधारण जिन्दगी बिताएको होइन, अवसर त्यागेर यो जीवन बाँचेको हुँ ।’

जीवन गायनकै शिलशिलामा देश–विदेश पुगेका छन् । जापान, हङ्कङ्, बेल्जियम, मलेसिया, थाइल्यान्ड, अस्ट्रेलिया, कुवेत, बहराइन, युरोप, डेनमार्क, भारत लगायतका विभिन्न ठाउँमा पुगेर उनले जनताको पक्षमा आवाज उठाएका छन्, गीतसंगीतको माध्यमबाट ।

‘पछिल्लो समय जनताका विषयमा गीत गाउने कलाकार त्यति देखिँदैनन् । तर मेरी छोरीले भने यतातर्फ चासो देखाएकि छिन् । जनताको गीत गाउँछु भनेर लागि परेकी छिन् ।’

हिजोको संघर्ष सम्झिँदा गर्व महशुष गर्छन् जीवन । भन्छन्–‘कतिपनि विचल्लित नभइकन जनताका पक्षमा आवाज उठाउँदै हिँडेको हिजोका दिन सम्झँदा आज गर्व लाग्छ । त्यस्ता कठिन परिस्थितिमा पनि बाँचेर यहाँसम्म आइपुगियो । जनताको माया र साथ पाउँदा आत्मसन्तुष्टि मिल्छ ।’

प्रतिकृयाहरु
Loading...