नेपालमा कोरोना: के दशैँको अन्त्यसँगै स्थिति भयावह हुनसक्छ ?

काठमाडौं । यतिखेर नेपालीको घर-आँगनमा चाडपर्वको माहोल छ । बडादसैंले लगभग बिदा लिन लागेको छ भने अर्को ठूलो पर्व तिहार नजिकै आइपुगेको छ । विजयादशमी समाप्त भए पनि परिवारका जेष्ठ सदस्यबाट टीका, जमरा र आर्शिवाद लिने क्रम भने अझै चलिरहेको छ ।

सामान्यतया वर्षभरि विभिन्न कामले देश-विदेशमा रहे पनि दसैं तिहारमा भने घरमा भेला भई मिठो परिकार खानुका साथै आशिर्वाद आदानप्रदान गर्ने गरिन्छ। यद्यपि, यो वर्ष भने कोभिड-१९ को महामारीको बीचमा दसैं–तिहार मनाइरहँदा कोरोना भाइरसबाट बच्न विशेष सावधानी अपनाउनु पर्ने देखिन्छ ।

साँच्चै भन्नु पर्दा अहिलेको अवस्था जटिल छ । यो महामारीको विशेष अवस्था हो । कतिपय मानिसले कोरोनालाई बेवास्ता गरेको पनि पाइन्छ । तर कोभिड-१९ संक्रमणबाट बच्न सकेसम्म प्रयास गर्नुपर्छ । यो प्रयास गर्दा गर्दै पनि कोरोनाका संक्रमण हुने जोखिम भने कायमै रहन्छ । जाडोयामको आगमन र दशैँको अन्त्यसँगै स्थिति भयावह हुन सक्ने विज्ञहरुको चेतावनी छ ।

दशैँपछि चुनौतीपूर्ण
नेपालमा जाडोयामको आगमन र दशैँको अन्त्यसँगै स्थिति भयावह हुन सक्ने सङ्क्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीको चतावनी छ । ‘परीक्षण कम हुने गरेकोले अबका दुई-तीन दिन कम देखिन सक्छ । त्यसपछि दशैँ सकेर आवतजावत बढेसँगै ह्वात्तै बढ्न सक्ने देखिन्छ,’ उनी भन्छन् ।

डा. सुवेदीका अनुसार आउँदा केही दिनमा दैनिक आठ-दश हजारसम्म पनि सङ्क्रमित देखिन सक्छन् । नेपालमा पहिलो लहर नै नियन्त्रणमा आइनसकेको भन्दै उनी यही लहर नै घातक हुन सक्ने बताउँछन् ।

आउँदा दिनमा राज्य र नागरिक दुवै पक्ष उत्तिकै जिम्मेवार हुनुपर्ने डा. सुवेदीको सुझाव छ । उनी भन्छन्, ‘आमनागरिकले सामाजिक दूरी कायम गर्ने र मास्क लगाउने लगायत जनस्वास्थ्यका मापदण्डको पालना गर्नुपर्छ भने सरकारले परीक्षण र कन्ट्याक्ट ट्रेसिङ्ग बढाउनुपर्ने हुन्छ ।’

संक्रमितको संख्या १ लाख ५९ हजार नाघ्यो
सोमबार देशभर १ हजार ४१ जना थपिएसँगै नेपालका कुल संक्रमितको संख्या १ लाख ५९ हजार ८३० जना पुगेको छ । अहिलेसम्म १ लाख १५ हजार ६७५ जना निको भएका छन् भने मृतकको संख्या ८६२ पुगेको छ ।

प्रतिक्रिया