बाल्यकालको दशैंः पाँचसय भन्दा ५० को पाँचवटा नोट दिँदा बढी खुशी लाग्थ्यो

सृष्टि नेपाल (द्वारिका)
काठमाडौं । नेपाली हिन्दु धर्मालम्बीहरुको महान चाड बडा दशैं अर्थात् विजयादशमीले सर्वसाधारण, राजनीतिज्ञदेखि कलाकारसम्मलाई छपक्कै छोपिसकेको छ ।यद्यपी कोरोना महामारीका कारण खासै उमंग भने देखिँदैन ।

अन्य वर्षजस्तो सबैको घरमा मिठा परिकार पाक्दैनन् यो वर्ष । भेटघाट पनि कमैको हुन सक्छ । किनकी कोरोनाले धेरै नागरिकको रोजीरोटी खोसिएको छ । कतिका व्यापार, व्यवसाय बन्द अवस्थामा छन् ।

अन्य वर्षका दशैंमा देश–विदेशका कार्यक्रम, कन्सर्टतिर व्यस्त हुने कलाकारहरु पनि यो वर्ष प्रायः फुर्सदमै छन् । हलहरुले सञ्चालनको अनुमति नपाएका कारण चलचित्र क्षेत्र सुनसान छ । कोरोना संक्रमणको जोखिमबाट बच्न भौतिक दुरी कायम गर्नुपर्ने हुँदा भीड लाग्ने कार्यक्रमहरु आयोजना भएका छैनन् ।

लोकप्रिय तथा चर्चित लोकदोहोरी गायिका राधिका हमाल पनि दशैंमा विदेशतिरै हुन्थिन् कार्यक्रममा । तर यो वर्ष उनी पनि घरैमा छिन्, काठमाडौंमा । नेपालमै भएपनि यो वर्ष गाउँघरतिर भने नजाने उनी बताउँछिन् ।

‘यो वर्षको दशैंमा अनौठो महशुष भएको छ । सबैसँग भेटघाट बन्द छ । खासै रौनक छैन । कोरोनाले सबैलाई दुःखी बनाएको छ । गाउँपनि जान पाइएन, कोरोनाको डर छ,’उनले दशैं मनाउन गाउँनजानुको कारण सुनाइन् ।

हुन त उनलाई बाल्यकालमा जस्तो अहिले खासै रमाइलो लाग्दैन दशैं । विशेषगरी २०६५ सालदेखि उनले हर्षोल्लासका साथ दशैं मनाएकी छैनन् । हरेक वर्षको दशैंमा हर्ष हराउनुको कारण हो, आमा नहुनु !

उनी भन्छिन्– ‘आमा ६५ सालमा बित्नुभएको थियो । असोज महिनामा उहाँ बित्नुभएका कारण मलाई दशैं खल्लो लाग्छ । उहाँको अभाव महशुष गराउँछ हरेक दशैंले ।’

हुन त यो वर्षको दशैं कार्तिकमा परेको छ । तैपनि दशैंको उमंग, रौनक भन्दा पहिले उनको आँगनमा आमाको याद आइपुग्छ । अनि विथोलिन्छ मन, हराउँछ हर्ष ।त्यसैले पनि खासै खास लाग्दैनन् अचले राधिकालाई दशैं।

बाल्यकालमा भने खुबै रमाइलो मान्थिन् दशैं आउँदा । दक्षिणा र पिङमा घन्टौँ झुण्डिएको अझै ताजा छ उनको स्मृतिमा । हुन त बाल्यकालमा दशैं सबैलाई रमाइलो लाग्छ नै, गायिका हमाललाईरमाइलो नलाग्ने कुरै आएन ।

फरक यति हो, अरु बालबालिकाहरु प्रायः खानामा रमाउँथे, उनी भने लाकुरीको बोटमा झुण्ड्याइएको पिङ्मा झुण्डिरहन्थिन्, चौविसै घण्टा ।

पिङ खेल्न पाए उनलाई केही चिजको वास्तै नुहने । खाना, खाजा खानका लागि समेत आमाले बोलाउनु पथ्र्यो, उनी बिर्सिन्थिन् ।

केटाकेटीका लागि दशैं भनेकै नयाँ लुगा र दक्षिणा हो । गायिका हमाललाई पनि दशैंमा टिकाको दिन अझै विशेष लाग्थ्यो । टिका, जमारासँगै ठुलाबडाको आर्शिवाद त छ नै, दक्षिणाको अझै बढी महत्व हुन्थ्यो ।

दशैंमा दक्षिणा कसले कति दिन्छ भन्ने खुब ख्याल गर्छन् क्टाकेटी । धेरै दक्षिणा पाउँदा उनीहरु रमाउँछन् । राधिका भने पाँच सयको नोट दिँदाभन्दा ५० को पाँच ओटा नोट दिँदाबढी खुशी हुन्थिन् ।

‘टोलैभरीका आफन्तकोमा टिका थाप्न पुगिन्थ्यो । कम्तिमा हजार–बाह्र सय त उठ्थ्यो दक्षिणा । त्यो समयमा हजार रुपैयाँ भनेको निकै ठुलो रकम हो’, उनी भन्छिन्– ‘आमाले पैसा राख, कानमा मुन्द्री बनाएर लगाउनुपर्छ भन्नुहुन्थ्यो । उहाँलाई नै राख्न दिन्थेँ ।’

उनलाई दही एकदमै मन पथ्र्यो । दशैंमा झन् कहिल्यै नटुट्ने । एकदिन धेरै दही खाएर बिरामी समेत परेकी थिइन् राधिका । अनि नयाँ लुगा पाउँदाको खुशी बेग्लै । जतिबेलै लगाइराख्न मन लाग्ने । बाल्यकालको दशैंको मज्जै अर्को ।

अहिले भने जिम्मेवारी अलिकति बढेको छ । सानोमा आमाबुवाले रहर पुरा गरिदिनुहुन्थ्यो भने अहिले सन्तानको रहर आफूले पुराउनुपर्ने अवस्था छ । जिम्मेवारी थपिए पनि खासै बोझ भने मान्दिनन् उनी ।

‘अभिभावक भएपछि जिम्मेवारीबाट पन्छिने कुरा आउँदैन, आफ्नो कर्तव्य पुरा गर्नुपर्छ । मलाई यो बाध्यता जस्तो पनि लाग्दैन । आफ्नो सन्तानको रहर पुर्याउनुमा खुशी लाग्छ’, उनी बताउँछिन् ।

गायिका हमालले कोरोना संक्रमणको जोखिमलाई ख्याल गर्दै सुरक्षित भएर दशैं मनाउन सम्पूर्णमा आग्रह समेत गरेकी छिन् ।

‘हामी अहिले बाँच्यौँ भने दशैं त अर्को वर्ष पनि आउँछ त्यसैले आफू पनि जोगिऔँ, आफन्तलाई पनि जोगाऔँ’, उनले भनिन्, ‘सकेसम्म जहाँ छौँ, त्यहीँ नै खुशी भएर दशैं मनाऔँ । दुःखी नहोऔँ ।’

प्रतिक्रिया