मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

त्यो बेलाको दसैं र अहिलेको दसैं

१४ खुरे जुत्ता

सिआर बस्नेत
सुन्तला भर्खर खान ठिक्क परेका हुन्थे, आधा काँचा आधा पाकेका । घर अगाडी पछाडी सुन्तला, अम्बक लटरम्म हुन्थे दसैं आउने बेला । अझ कुनै कुनै वर्ष कात्तिकमा दसैं पर्थ्यो । बोटभरी सुन्तला पहेंलपुर भएका हुन्थे । बा’ले अमिला सुन्तला धेरै खायो भनेर जहिल्लै कराउने ।
पूर्वि पहाडी जिल्लाहरुको सुन्दर र ऐतिहासिक राजनीतिक विरासत बोेकेको धनकुटा आफैंमा प्राकृतिक सुन्दरता र विविधता बोकेको जिल्ला हो । त्यसमाथि पाख्रिबास कृषि उब्जाउका लागि कहलिएको ठाउँ । मेरो बाल्यकाल धनकुटामै वित्यो । पाख्रिबास बजारबाट घर (फांदुवा) पुग्न तीन किलोमिटर हिँड्नु पर्थ्यो । २०५६÷०५७ सालतिर होला गाउँमा विजुली थिएन । टुकीको सहाराले पढ्नु पर्थ्यो । आमाहरु घरको र खेतबारीको काम गर्नुहुन्थ्यो । हामी चार दाजुभाई दिदिबहिनीको काम विहान बेलुका घरमा सघाउने, दिउसो स्कुल जाने हुन्थ्यो ।
घरमा गाई, गोरु, भैसी, बाख्राहरु थिए । विहान एक भारी घाँस काटेर मात्र स्कुल जान पाइन्थ्यो । दाई, दिदिहरुसँगै मैले पनि घाँसका भारी बोके ।
मध्यम वर्गीय परिवार भएकाले खेती किसानी नगरी नहुने । लाउन खानको दुखः नभएपनि घरको काम चैं सबैले गर्नुपर्थ्यो । घरबाट बजार टाढा थियो ।
०००००
दसैं आउँदा रमाइलो हुन्थ्यो । घटस्थापनाकै दिनदेखि तिहारसम्म एक महिना स्कुल विदा हुन्थ्यो । यो एक महिना झोलाबाट मुस्किलले किताब झिकिन्थ्यो । दसैंतिहार भन्ने वित्तिकै रमाइलो गर्ने, खेल्ने भन्ने हुन्थ्यो । तर, हामी चैं कमै खेल्न, रमाउन पाउथ्यौं । घरको काम गर्नुपर्दथ्यो ।
बुबाले घटस्थापनाको दिन विहानै घरमा दुर्गा भवानीको स्थापना गर्नुहुन्थ्यो, जमरा राख्नुहुन्थ्यो, घरमा भएका कुटो, कोदालो, काट्ने हतियारहरु पनि सँगै राखेर पुजा गर्नुहुन्थ्यो । हामीपनि विहानविहानै उठेर नुवाई धुवाई गर्थ्यौं । बुबाले चण्डी पाठ गर्दैगर्दा घटस्थापना राखेको देवीलाई नमस्कार गरेर पुजा गर्थ्यौं । ‘भगवान यसपाली पास गरिदेउ, हामीलाई केही नहोस् म अजामबाट केही गल्ती भएमा माफ गरिदिनुहोला’ भनेर प्रार्थना गर्थ्यौं ।
असोजको पहिलो हप्तातिरै दसैं पर्यो भने त्यत्ति जाडो पलाएको हुँदैनथ्यो, कात्तिकमा पर्यो भने चैं पाख्रिबासमा जाडो शुरु भइसकेको हुन्छ । तैपनि हामीहरु हरेक दसैंमा विहानविहानै उठेर बा’ले चण्डी पाठ गर्दानगर्दै नुहाएर बा’का पछिल्तीर नमस्कार गर्दै पुग्थ्यौं ।
दसैंको लुगा स्कुल ड्रेस
८–१० वर्षको हुन्जेलसम्म हामीलाई नयाँ लुगा पाउन दसैं नै कुर्नुपर्थ्यो, दसैंमा नयाँ लुगा पनि आफुले भनेजस्तो कहाँ पाइन्थ्यो र ! स्कुलको ड्रेस हाल्दिनु हुन्थ्यो निलो सर्ट निलो पेन्ट । दिदिहरुलाई सर्ट र फ्रक हुन्थ्यो । हाम्रो घरमै लुगा सिलाउन आउँथे । हामी उनीहरुलाई धान, चामल र पैसा दिन्थ्यौं, खसी काटेपछि पुच्छरको भाग दिने चलन थियो । उनीहरुपनि खुसी हुन्थे ।
१४ खुरे जुत्ता
त्यत्तिबेला प्लास्टिकको जुत्ता पाइन्थ्यो, १४ खुरे । नयाँमा सारै दुखाउँथ्यो, कुर्कुच्चा मुनी घाउ पार्थ्यो, तैपनी लगाउँथ्यौं । दसैंमा किनेको जुत्तापछि लगाएर स्कुल जान्थ्यौं । जुत्ता फाटेपछि धागोले सिलाइयो पनि । चप्पलको कुरै नगरौं, तुना चुटिएर कतिपल्ट धजाले बाँधेको छु । कुपीमा सल्काएर जोडेको छु । कुर्कुच्चाले भुईं भेटुञ्जेल चप्पल लगाउनु पर्थ्यो ।
लिङ्गेपिङको मज्जा
बाल्यकालको दसैं साँच्चिकै दसैं आए जस्तो लाग्थ्यो, आजकल व्यवहारले थिचिएर होकी दसैं दसैंजस्तै लाग्दैन ।
दसैं लागेपछि घर मास्तिर ‘कामीडाँडा’मा लिङ्गेपिङ हाल्थे । हामी भुराहरुको दिनभरी त्यहि पिङमा झुण्डिने काम हुन्थ्यो । कसैले बढी पिङ खेल्यो भने झगडा गर्थ्यौं, ठूला दाई दिदिहरु खेल्दा चुपचाप हेर्नुपर्थ्यो । म र मेरा साथीहरु दिवस, दिपा, राजन, विनोद लगायत दिनभर पिङ खेल्ने, गुच्चा खेल्ने, मोजामा कागज कोचेर भकुण्डो बनाएर घरमुनीको खेतको पाटामा फुटवल खेल्ने काम हुन्थ्यो । चुङ्गी पनि खेलिन्थ्यो ।
कुनै चिन्ता थिएन, भोली के गर्ने सोच थिएन । एक हिसाबले स्वतन्त्र पन्छी जस्तै थियो बाल्यकालको जीवन । अहिले काठमाडौंमा छु, पलपल सोचेर, भोलीको लागि चल्नुपर्छ । आफ्नो मात्र हैन, परिवार, श्रीमती, दाजुभाई दिदिबहिनी, बुबाआमा, आफन्त सबैको बारेमा सोच्नुपर्छ । घरगृहस्थी भएपछि दसैं दसै जस्तो नहुँदो रहेछ ।
दसैंमा ९ घरका बस्नेतहरु एकै थलोमा
फुलपातीको दिनमा घरमा फुलपाती भित्र्याइन्थ्यो, काटमार हुँदैनथ्यो । महाअष्टमी र महानवमीमा भने घरमा कुल देउतालाई भनेर बोको बलि दिने कार्य हुन्थ्यो । बस्नेत परिवारको जेष्ठ सदस्यका घरमा सबै बस्नेत परिवारहरु भेला भएर बोको पुजा गर्ने, बलिदिने कार्य हुन्थ्यो, हामी केटाकेटीहरुलाई खुब रमाइलो हुन्थ्यो । बा’हरु कुल देवताको पुजा गर्नुहुन्थ्यो । नवमीको दिनपनि खसी काट्ने, बनाउने, अनी पकाएर खाने हुन्छ । सबैका घरमा मासुको परिकार बन्थ्यो, पुरै गाउँ हरहर बास्ना छाउँथ्यो ।
कुलपुजा गर्ने दिन ९ घरका ३०, ४० जना एकै ठाउँमा भेला भएर कुल पुजा गर्ने, बोको बलिदिने, नाचगान गर्ने, रमाइलो गर्ने हुन्थ्यो ।
दक्षिणाः छोरालाई कम
दशमीको दिन विहानै उठेर एक भारी घाँस नल्याई हुँदैनथ्यो । गोठमा बस्तुभाउ हुन्थे, प्रायः हरेक दिन धाँस काट्नै परेपनि त्यो दिन दिनभरीका लागि काट्नु पर्थ्यो । त्यसपछि नुहाईधुवाई गरेर साइतको टिका लगाइन्थ्यो । नयाँ लुगा भनेकै स्कुलको ड्रेस हो, त्यहि लगाएर बुबाआमाको हातबाट टिका लगाइन्थ्यो, मासु चिउरा खाइन्थ्यो । छोरा मान्छेले घरमा दक्षिणा पाउँदैनथे, दिदिबहिनीहरुले भने १० रुपैंयासम्म पाउँथे । घरमा टिकाटालो गरेपछि बा’आमाको पछि लागेर मामाघर लेगुवा गइन्थ्यो । मामाघरमा भने मामा, माइजु, हजुरबुबा हजुरआमाले टिका लगाइदिएर पैसा पनि दिनुहुन्थ्यो । मावलमा कट्कटिएको नयाँ नोटसँगै सरिफा, केरा दिनुहुन्थ्यो ।

दसैंमा नयाँ नोट हातमा परेपछि मात्र दसैं आएजस्तो लाग्थ्यो । मामाघरमा रोटेपिङ खेल्न पाइन्थ्यो ।

टिका लाएर पैसा पाउनेमा हामी केटा मान्छेहरु मामाघरमा पनि ठगिन्थ्यौं । दिदिबहिनीहरुले धेरै पाउथे, हामीहरुले कम । तैपनि नयाँ नोट देखेपछि खुसी लाग्थ्यो । रातो टिका, जमरा कानमा सिउरेर ठाँटका साथ हिँड्थ्यौं । बेलुकी कसको धेरै पैसा भनेर गन्ने चलन थियो । हामीहरुले मामाघरमा पाएको पैसा पनि आफैं राख्न पाउँदैनथ्यौं । आमालाई राख्न दिन्थ्यौं ।

हामी पूर्णिमासम्मै टिका लगाउन जान्थ्यौं, घरमा पनि पाहुनाहरु आउँथे । बाआमाले टिका लगाएर दक्षिणा दिनुहुन्थ्यो । टिका लगाउन सकिएपछि भने हामीहरुको काम घरको काम सघाउने, घाँस काट्ने, दिउसो पिङ खेल्ने यस्तै हुन्थ्यो ।

विगत ७ वर्षदेखि काठमाडौंमा छु, काठमाडौंमा बसेपनि दसैंमा घर गएकै हुन्थे, तर यस पटक घर जान पाइन । विश्वव्यापी कोरोना संक्रमणले दसैं मान्न घर पुग्न सक्ने अवस्था रहेन । यसपटक म मात्र हैन लाखौं नेपालीहरुको दसैं खल्लो भएको छ ।

सामाजिक दुरी कायम गर्नुपर्ने परिस्थितिमा सायदै कम नेपालीहरुको परीवारसँग बसेर दसैं मनाउन पाउने सौभाग्य छ । तथापि, हामीले निराश हुनुहुन्न । यो पालि हामी जो जहाँ छौं त्यहिँ बसेर चाडपर्व मनाउँ, यो बर्ष सामाजिक दुरी कायम गरेर कोरोनालाई भगाउनु छ । बाँचे अर्को वर्ष अवश्य घर परीवारसँगै बसेर चाडपर्व मनाउँला । सबैलाई दसैंको शुभकामना ।

प्रतिकृयाहरु
Loading...