चाडपर्व मनाउँदा आफू र आफ्नो परिवारलाई सुरक्षित राखौं: सभापति देउवा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो परिवार कसरी सुरक्षित रहन्छ भन्ने कुरामा ध्यान दिएर मात्र यो वर्षको दशैं मनाउन आग्रह गरेका छन् ।

उनले कोरोना महामारीका कारण विगतमा जस्तो स्वतन्त्र रुपमा हिंडडुल गर्न जोखिम रहेकाले घर-डेरामै सीमित रहेर दशैं मनाउन सबै नेपाली दिदीबहिनी दाजुभाइहरुमा अपील गरेका छन् । विजया दशमीका अवसरमा आज शुभकामना सन्देश दिँदै देउवाले पर्व मनाउँदा आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न अपिल समेत गरेका छन् ।

कोभिड-१९ को संक्रमणप्रति सचेतता अपनाई मठमन्दिर जाँदा मास्क अनिवार्य लगाउन र भौतिक दूरी कायम राख्न पनि सुझाव दिएका छन् । सभापति देउवाले शुभकामना सन्देशमार्फत विजयादशमीले समुदाय, संस्था, परिवार र व्यक्तिव्यक्तिबीचको एकतालाई अझ मजबूत बनाउँंदै आएको र बनाउनुपर्ने उल्लेख गरेका छन् ।

विजयादशमीका अवसरमा सभापति देउवाले आफू र नेपाली कांग्रेसका तर्फबाट स्वदेश तथा विदेश रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया