सामाजिक तथा भौतिक दूरी कायम गरी दशैं मनाऊ : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको संरक्षण एवं सम्वर्धन गर्न आह्वान गरेकी छन् ।

राष्ट्रपति भण्डारीले बडादशैं २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै कोभिड-१९ को जोखिम विश्वभर बढेकाले नेपाल सरकारले लागू गरेको स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गरेर दशैं मनाउन आग्रह गरेकी हुन् ।

‘आफू र आफ्नो परिवार समेत सचेत र सजग हुँदै सुरक्षाका उपायहरू अवलम्बन गर्नु सबैको दायित्व हुन आएको छ,’ शुभकामना सन्देशमा भनिएको छ । विजयादशमी, २०७७ ले हामी सबैमा नयाँ उत्साह, उमंग, जोश र जाँगर थप्ने विश्वासका साथ राष्ट्रपति भण्डारीले उत्तरोत्तर प्रगतिको कामना गर्दै मंगलमय शुभकामना व्यक्त गरेकी छन् ।

यस पर्वले क्रोध, लोभ, अन्याय, अत्याचार, रोग, व्याधि तथा भोक र शोकले व्याप्त अनेक असत्यताको अन्त्य गर्दै सामाजिक एकता, आपसी सदभाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने विश्वास राष्ट्रपतिको छ । विजयादशमीका दिन भगवतीले सत्य हासिल गरेका उपलक्ष्यमा नवदुर्गा भवानीको प्रसादस्वरूप मान्यजनबाट टीका, जमरा, फूलपाती र प्रसादसहित आशीर्वाद ग्रहण गरिन्छ ।

असत्यमाथि सत्य तथा अन्यायमाथि न्याय र अमानवीय तत्वमाथि मानवताको विजयको प्रतीकका रूपमा मनाइने यस पर्वमा घटस्थापनादेखि नवमीसम्म माता नवदुर्गाको पूजा गर्दै सप्तशती पाठ गरी विशेष अर्चना र आराधना गरिन्छ ।

प्रतिक्रिया