‘फेरी कहाँ आँउछ र घुमेर बालपनको उमेर…’

  • सुजता निङ्लेकू

विराटनगर । मानिसको जीवन अनुभूती र भोगाईको वृहत पुस्तक रहेछ । जहाँ विगत, वर्तमान अवस्थामा भोगका कयौं तिता, मिठा भोगाईहरु समावेश भएका हुन्छन् ।

प्रत्येक मानिसको भविष्यका यात्रा अनिश्चित हुन्छन्, विगतका सम्झना र वर्तमानका अनुभूतीहरु यथावत नै रहन्छ । जति उमेर बढ्दै गयो उति नै विगतका पुराना दिनहरु सम्झनाका छाल बनेर आइदिन्छ ।

यी सम्झनाका प्रतिबिम्बहरु पनि समय, घटना र सन्दर्भ सापेक्ष हुँनेरहेछ । अहिले मेरा मन, मस्तिष्कमा बाल्यकालमा मनाएको दशैँको झल्झल्ती सम्झनामा आईरहेको छ ।

सुजता निङ्लेकु

म संखुवासभा जिल्लाको सदरमुकाम खाँदबारीमा जन्मेकी । पहाडी श्रृंखलाले संखुवासभा र खाँदवारीलाई सधैं रसिलो र भरिलो बनाई दिन्छ । विहानै हिमश्रृंखला चिरेर निस्कने सुर्यले हरेक दिन नयाँ उत्साह, आशा र उमंग दिन्छ ।

म जन्मेको ठाँउमा सबै जातजाति, धर्मको समावेशी संरचना युक्त समाज छ । सदरमुकाम बजारमा नेवार समुदायको बाहुल्यता छ, म त्यहि नेवारी समुदायमा हुर्केकी लिम्बुकी छोरी हुँ । मेरो परिवारमा बुवाले दशै मनाउनु हुन्न । लिम्बूहरुको मौलिक पर्व दसैं होईन भन्ने उहाँको अडान थियो ।

तर, पनि सन्तानको खुशीका लागि बाआमा हारिदिन्थे । हामी दसैं आउनु अघि नै दसैंको खुसीयाली मनाउन आतुर हुन्थ्यौं ।
बुवा जनकपुर चुरोट कारखानामा कार्यरत हुनुहुन्थ्यो । दसैं आउनु केहि दिन अगावै बुवाको दसैं बोनस आएपछि आमाले नयाँ लुगा र जुत्ता किनिदिनुहुन्थ्यो ।

भाईको रोजाई अलिक फरक थियो, उसलाई जुत्ता, लुगा आफ्नो रोजाईमा किन्नुपर्ने त्यो पनि महंङगो बजारमा चल्ति खाल्को ।
मेरो रोजाई भने भाईको विपरित थियो । मलाई आमाले जस्तो रोजेर किनिदिनुहुन्थ्यो म त्यसैमा खुसी हुन्थे । म अलिक सन्तोषी थिए । आमाको रोजाई नै मेरो रोजाई हुन्थ्यो । आमाले सानैमा छोरी मान्छे भएर सर्ट पेन्ट लगाउनु हुन्न भन्ने धारणाको विउ कलिलो मस्तिष्कमा छरिदिनुभएको थियो । त्यसैले प्रत्येक वर्ष मेरो बाल्यकालको दसैं थानबाट सिलाएको लामो कुर्ता सुरुवालमा नै वित्यो ।

पहिरनमा पनि लिङ्ग विभेद गर्ने आफ्नै आमाको स्वभावलाई कुनैकुनै समय त प्रतिकार गर्न मन लाग्थ्यो तर नैतिकता अग्रभागमा आएर मेरो विद्रोहपूर्ण शब्दमा पूर्णबिराम लाग्थ्यो । म मौन भएर आमाको रोजाइमा दसैं मनाउथें ।

मलाई पहिरनमा महिला हुनुको आभास दिलाउने मेरी आमाले बाँचेको समाज, परिवारको पनि उहि सोंच थियो होला, सायद उहाँको आमा र समाजले पनि हरेक कोणहरुबाट महिला हुनुको आभास दिलाएको थियो त्यसैले पनि मैले मेरो आमासँग महिला र पुरुष विचको विभेद विरुद्ध विद्रोह गर्न सकिन ।
०००
मेरो बुवाले हामी आदीवासी लिम्बू समुदायले दसैं मनाउन हुँदैन भन्ने विषयमा रहेर केहि पुरानो ऐतिहासिक मिथक कथाहरु सुनाउनुहुन्थ्यो । तर म सानै देखि विगतलाई भुलेर वर्तमानमा रमाउने स्वाभावकी थिए । म र मेरो भाईले बुवाको विगतका ऐतिहासिक कथाका घटनाक्रमलाई वेवास्ता गर्दै वर्तमान अवस्थामा रमाईरहेका हुन्थ्यौं ।

हामी नेवारी समुदायमा हुर्केकाले हाम्रो लिम्बू परम्परा, संस्कार, संस्कृति भन्दा पनि नेवारी संस्कारसँग धेरै घुलमिल हुन पुगेका थियौं ।

बुवाले रातो रङको टिका लगाउनु हुँदैन, सेतो टिका लगाउनु भन्नुहुन्थ्यो तर, बाल्यकाल जिद्दिपनाको एउटा भण्डार नै रहेछ । साथीभाईले खिसी गर्छन हामी रातो टिका नै लगाउछौं भन्दै अडान लिएपछि बाले त रातो टिका छुनु हुन्न थियो तर, आमाले चैं रातो टिका, जमरा लगाईदिनु हुन्थ्यो ।

खाँदबारीमा हाम्रो दाजुभाई, आफन्त कोहि नभएकाले हाम्रो आफ्नाे, आफन्त भनेको नै हामी हुर्केको समाज थियो ।

घरमा बाआमाको आर्शिवाद थापेर छिमेकी अजीको हातको टिका, आर्शिवाद ग्रहण गर्न जाने गर्दथ्यौं । अजीले टिका लगाएर दिएको दुई रुपैयाँको ‘कटकटे’ नयाँ नोट पाउँदा त्यो समयमा दुई हजार नै पाए झैं खुशी मिल्थ्यो । कसैले टिका लगाएर पाँच रुपैँया दिदाँ त खुशीले भुँईमा खुटटा हुँदैनथे ।

दिनभरी साथीभाई, चिनेजानेको घरमा टिका थापेर बटुलेको पैसा गन्दै दिदिभाई कस्को धेरै भन्दै बाजी लगाउँदाको त्यो क्षण अब कहिले आउला ? सबै साथीभाई भेला भएर एकअर्काको दक्षिणा कसको कति भयो भन्दै सोधासोध गर्दाको मज्जा नै बेग्लै ।

दसैंमा जम्मा भएको पैसाले के–के किन्ने भन्ने योजना बुन्दाबुन्दै दसैं भरमा एक रुपैंया, दुई रुपैंया रित्तो हुन्थ्यो ।

बाल्यकालको दसैं रहरको दसैं हुने रहेछ, उमेर बढ्दै गएसँगै दसैं जिम्मेवारी र आफन्त भेटघाटको माध्यम बन्दो रहेछ । त्यसैले त भनिएको होला, ‘फेरी कहाँ आँउछ र घुमेर बालपनको उमेर….।’

प्रतिक्रिया