सुनसरीका २० पत्रकारलाई बीमा बापतको दश हजार रुपैयाँ

धरान । सुनसरी जिल्लालाई कार्यक्षेत्र बनाई सञ्चारमाध्यममा सक्रिय पत्रकारहरूलाई प्रेस युनियन सुनसरीले बीमा बापतको दश हजार रुपैयाँ हस्तान्तरण गरेको छ ।

प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीका अनुसार यसअघि युनियनले जिल्लाका २ सय ६० जना सञ्चारकर्मीको निःशुल्क कोरोना बीमा गरेको थियो ।

कोरोना लागेका सुनसरीका २० जना पत्रकारहरूलाई घरमै गएर दश हजार रुपैयाँ हस्तान्तरण गरिएको हो ।

‘बीमा गरेको रकम भुक्तानी हुनका लागि केही समय लाग्ने भएका कारण हामीले अहिले दुई लाख रुपैयाँ ऋण काढेर दश–दश हजार रुपैयाँ हस्तान्तरण गरेका हौँ,’ अधिकारीले भने, ‘अहिले दशैँको समयमा मिडिया हाउसले पनि तलब दिन नसकिरहेको अवस्थामा तत्कालको खर्चका लागि भनेर सो रकम घरमै गएर सहयोग गरेका हौँ ।’

उनले पछि बीमा बापत आएको एक लाखबाट दश हजार कटाएर ९० हजार रुपैयाँ दिने बताउँदै तत्कालको बिषम् परिस्थितिमा उक्त रकमले घर खर्च जोहो हुने हिसाबमा युनियनले रकम दिएको बताए ।

सुनसरीको इटहरी, धरान, दुहबी लगायतका क्षेत्रमा रहेका २० जना पत्रकारहरूलाई दश हजारका दरले दुई लाख रुपैयाँ दिइएको उनको भनाई थियो ।

अधिकारीले भने, ‘हामीले अहिलेको परिस्थितिमा पत्रकारको घरमै गएर यो रकम दिएका हौँ, यति बेला अप्ठ्यारो परेको समयमा हामीले यो रकम दिँदा पत्रकारहरूका लागि केही भए पनि रकम खर्च होस् भन्ने उद्देश्यले यो रकम दिएका छौँ ।’

कोरोना पीडित धरानका सक्रिय पत्रकार केदार बस्नेतले युनियनले यो समयमा सहयोग गर्नु प्रशंसनीय काम रहेको बताए । उनले भने, ‘समस्याका बाबजुद पनि प्रेस जगतमा काम गर्नेहरूले न्यूनतम पारिश्रमिक समेत नपाइरहेको अवस्थामा पत्रकारको संरक्षणका लागि युनियनले चालेको कदम उदाहरणीय छ ।’

दुहबीका पत्रकार आशिष् यादवले युनियन सुनसरीले अहिले समस्या भइरहेको समयमा दश हजार रुपैयाँ दिनु सराहनीय काम रहेको उल्लेख गरे ।

यादवले भने, ‘अहिलेको कठिन समयमा पाएको यो रकमले ठुलो राहत भएको महसुस भएको छ ।’

यसअघि प्रेस युनियन सुनसरीले पत्रकारहरूका लागि फुड बैङ्क समेत सञ्चालन गरेको थियो ।

प्रतिक्रिया