मुख्यमन्त्री शाहीविरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ । नेकपा कर्णाली प्रदेश संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री शाहीविरुद्ध पेस भएको अविश्वासको प्रस्ताव अस्वीकृत भएको हो ।

गुलाबजंग शाहलाई निलम्बन गरि प्रमुख सचेतक बनाएका सिता नेपालीको अध्यक्षतामा बसेको बैठकमा १८ जना सांसद उपस्थित थिए । सबै सांसदले प्रस्तावको विपक्षमा मत जाहेर गरे । काठमाडौंमा रहेका एक जना सांसद ठम्मर बिष्टले पनि प्रस्तावमा विपक्षमा लिखित मत पठाएका थिए ।

यसअघि सांसद यामलाल कँडेलको अगुवाइमा असोज २५ गते १८ जना सांसदले शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । तीमध्ये ९ जनाले आफ्नो हस्ताक्षर फिर्ता लिएका थिए । उनीहरुले फिर्ता लिएपछि प्रस्ताव अल्पमतमा परेको हो ।

बैठकमा पूर्वमाओवादी पक्षका ११ जना (ठम्मर बिष्टको लिखित समर्थन) र वरिष्ठ नेता माधवकुमार नेपाल खेमाका ८ जना उपस्थित थिए । अध्यक्ष तथा प्रधानमन्त्री ओली समूहका कँडेलसहित ११ जना र पूर्वमाओवादी समूहका सांसदहरु धर्मराज रेग्मी र पुष्पा घर्ती भने सहभागी भएनन् ।

असोज २५ गते अविश्वासको प्रस्ताव पेस भएपछि उत्पन्न विवाद समाधान गर्न नेकपाका अध्यक्षद्वयले विवादित पक्षलाई काठमाडौं बोलाएका थिए । तर विवाद समाधान हुन सकेको थिएन । आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भए लगत्तै मुुख्यमन्त्री शाहीले दलको प्रमुुख सचेतकको जिम्मेवारीबाट सांसद गुलाबजंग शाहलाई पदमुक्त गरेका थिए । उनको ठाउँमा सचेतक सांसद सिताकुमारी नेपालीलाई जिम्मेवारी दिइएको छ । ​

प्रतिक्रिया