मुसहरको दशैं: मन अमिलो, चामलको बोरा रित्तो !

चितवन । माछा मार्न पाए बिहान बेलुकाको छाक टर्छ नत्र कहिले काहीँ त भोकै बस्नु पर्छ । ज्याला मजदु्ीका लागि पनि खासै बोलाउँदैनन् । केही दिन त पैसा सापटी गरेर भए पनि किनेर खान्छन् । यस्तै बाध्यता र दयनिय अवस्थाबाट गुज्रिएको छ चितवन खैरहनी १० कठारका सिमान्तकृत समुदायको रूपमा चिनिएका मुसहर समुदायको जीवन ।
दशैं भित्रिसकेको छ, मीठो मसिनो खाएर चाडवाड मान्ने रहर उनीहरुमा पनि छ तर, बाध्यताले मन खुम्च्याउँदै जसरी टर्छ त्यसरी नै मान्ने तयारीमा छन् । रिपोर्टिङकै क्रममा त्यहाँ पुग्दा कतिले चामलको बोरा रित्तो भएको देखाए त कति ज्याला मजदुरी गरेर जसोतसो दशैं मनाउन काममा गएको सुनाए । स्थानीय गिता माझिले रित्तो बोरा देखाउदै भनिन्- ‘यसपालीको दसैमा पनि पहिलेकै जस्तै अवस्था दोहोरियो ।’ माछा मार्न पाएको दिन आधा किलो एक किलोसम्म चामल किन्ने गरेको उनले बताइन् ।
यहाँका मुसहरले माछा मारेरै बिहान बेलुकाको छाक टार्दै आएका छन् । २८ वर्षीय जिते माझी पैसा भए दसै मान्ने र नभए नमनाउने बताउँछन् । दशैं जस्तो चाड मनाउने रहर छ माझिले भने- ‘पैसा नभए त कसरी मनाउने ?’ लकडाउन पछि ज्यालामजदुरीका लागि बोलाउन छाडेको उनले दुखेसो पोखे ।
छाक टार्नकै लागि ट्याक्टरमा परालको काम गरेर घरमा खाना खान आएको बेला भेटिएका अनिल माझी नुन खुर्सानीसंग भात खाइरहेका थिए । ट्याक्टरमा काम गरेर कमाएको केही रकम दशैंको लागि छुट्याइने उनले सुनाए । बसीबसी खान पुग्दैन अनिलले भने- ‘काम पाउनेले त्यसबाट भएको आम्दानीले चामल किन्ने हो,काम नहुदा माछा मारेर छाक टार्ने गरेका छौं ।’
सो बस्तीमा २८ घरधुरी मुसहर बसोबास गर्छन् । दुई तीन जनाको बाहेक अरुको नागरिकता छैन । स्थानीय सरकार खैरहनी नगरपालिकाले उनीहरुको लागि पक्की घर बनाइदिएको छ । महिलाहरुको आयाआर्जनका लागि सिलाइ कटाइ तालिमसहित मेसिननै प्रदान गरेको थियो । आयआर्जनकै लागि प्रत्येक घरलाई एक/एक वटा बंगुर समेत नगरपालिकाले दिएको छ ।
खैरहनी नगरपालिका प्रमुख लालमणी चौधरी नगरपालिकाले उनिहरुका लागि बाटो देखाइदिएको भन्दै आफ्नो जीवन कसरी सहज पार्न सकिन्छ भन्ने कुरामा उनिहरु पनि सचेत बन्नु पर्ने बताउँछन् । अरुले दिन्छन् भनेर आश गर्नु हुन्न नगर प्रमुख चौधरीले भने– ‘नगरपालिकाले सीप सिकाएको छ, बंगुर दिएको छ, अब स्वयं पनि जागरुक हुनुपर्छ । ४५/५० वर्षदेखि उनीहरु यहीँ बसोबास गर्दै आएका छन् । लामो समय हुंदा पनि उनीहरुको जिवनशैलिमा सुधार आउन सकेको छैन ।









