मुसहरको दशैं: मन अमिलो, चामलको बोरा रित्तो !

चितवन । माछा मार्न पाए बिहान बेलुकाको छाक टर्छ नत्र कहिले काहीँ त भोकै बस्नु पर्छ । ज्याला मजदु्ीका लागि पनि खासै बोलाउँदैनन् । केही दिन त पैसा सापटी गरेर भए पनि किनेर खान्छन् । यस्तै बाध्यता र दयनिय अवस्थाबाट गुज्रिएको छ चितवन खैरहनी १० कठारका सिमान्तकृत समुदायको रूपमा चिनिएका मुसहर समुदायको जीवन ।

दशैं भित्रिसकेको छ, मीठो मसिनो खाएर चाडवाड मान्ने रहर उनीहरुमा पनि छ तर, बाध्यताले मन खुम्च्याउँदै जसरी टर्छ त्यसरी नै मान्ने तयारीमा छन् । रिपोर्टिङकै क्रममा त्यहाँ पुग्दा कतिले चामलको बोरा रित्तो भएको देखाए त कति ज्याला मजदुरी गरेर जसोतसो दशैं मनाउन काममा गएको सुनाए । स्थानीय गिता माझिले रित्तो बोरा देखाउदै भनिन्- ‘यसपालीको दसैमा पनि पहिलेकै जस्तै अवस्था दोहोरियो ।’ माछा मार्न पाएको दिन आधा किलो एक किलोसम्म चामल किन्ने गरेको उनले बताइन् ।यहाँका मुसहरले माछा मारेरै बिहान बेलुकाको छाक टार्दै आएका छन् । २८ वर्षीय जिते माझी पैसा भए दसै मान्ने र नभए नमनाउने बताउँछन् । दशैं जस्तो चाड मनाउने रहर छ माझिले भने- ‘पैसा नभए त कसरी मनाउने ?’ लकडाउन पछि ज्यालामजदुरीका लागि बोलाउन छाडेको उनले दुखेसो पोखे ।छाक टार्नकै लागि ट्याक्टरमा परालको काम गरेर घरमा खाना खान आएको बेला भेटिएका अनिल माझी नुन खुर्सानीसंग भात खाइरहेका थिए । ट्याक्टरमा काम गरेर कमाएको केही रकम दशैंको लागि छुट्याइने उनले सुनाए । बसीबसी खान पुग्दैन अनिलले भने- ‘काम पाउनेले त्यसबाट भएको आम्दानीले चामल किन्ने हो,काम नहुदा माछा मारेर छाक टार्ने गरेका छौं ।’सो बस्तीमा २८ घरधुरी मुसहर बसोबास गर्छन् । दुई तीन जनाको बाहेक अरुको नागरिकता छैन । स्थानीय सरकार खैरहनी नगरपालिकाले उनीहरुको लागि पक्की घर बनाइदिएको छ । महिलाहरुको आयाआर्जनका लागि सिलाइ कटाइ तालिमसहित मेसिननै प्रदान गरेको थियो । आयआर्जनकै लागि प्रत्येक घरलाई एक/एक वटा बंगुर समेत नगरपालिकाले दिएको छ ।खैरहनी नगरपालिका प्रमुख लालमणी चौधरी नगरपालिकाले उनिहरुका लागि बाटो देखाइदिएको भन्दै आफ्नो जीवन कसरी सहज पार्न सकिन्छ भन्ने कुरामा उनिहरु पनि सचेत बन्नु पर्ने बताउँछन् । अरुले दिन्छन् भनेर आश गर्नु हुन्न नगर प्रमुख चौधरीले भने– ‘नगरपालिकाले सीप सिकाएको छ, बंगुर दिएको छ, अब स्वयं पनि जागरुक हुनुपर्छ । ४५/५० वर्षदेखि उनीहरु यहीँ बसोबास गर्दै आएका छन् । लामो समय हुंदा पनि उनीहरुको जिवनशैलिमा सुधार आउन सकेको छैन ।

प्रतिक्रिया