कर्णाली विवाद: आ-आफ्नै अडानकाबीच संसदीय दलको बैठक, लाग्ला त टुंगो ?

काठमाडौं । कर्णाली प्रदेशमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको विवादका सम्बन्धमा छलफल गर्न पार्टीको प्रदेश संसदीय दलको बैठक बस्दैछ । नेकपाको केन्द्रमासमेत निकै चर्चा पाएको यो विवाद समाधानको लागि संसदीय दलको बैठक बस्न लागेको हो ।

बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको नेकपा कर्णाली प्रदेश सभा संसदीय दलकी प्रमुख सचेतक सीता नेपालीले जानकारी दिइन् । केन्द्रीय नेतृत्वले छिनोफानो गर्ने गरि काठमाडौं पुगेको विवाद फेरि कर्णाली फर्किएपछि अब टुंगो लाग्ने दावी गरिएको छ ।

केन्द्रले समेत मिलाउन नसकेको प्रदेश संसदीय दलको विवाद अब प्रदेशबाटै मिल्ने प्रमुख नेपालीले दाबी गरिन् । ‘आज संसदीय दलबाटै विवादको छिनोफानो गरिनेछ,’ उनले भनिन्, ‘यसको लागि विवादित पक्षसँग छलफल गरी समस्या समाधानको पहल गर्ने कोसिस हामीले गरका छौं ।’

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आफ्नै दलका सांसदले सरकार र दलको नेतृत्व प्रभावकारी रुपमा गर्न नसकेको भन्दै अविश्वासको प्रस्ताव दर्ता गरेपछि कर्णालीमा विवाद भएको हो । पार्टी अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्कमल दाहाल ‘प्रचण्ड’ ले विवाद समाधानका लागि शीर्ष नेतालाई केन्द्रमा बोलाए पनि विवाद समाधान हुन सकेको छैन ।

मुख्यमन्त्रीविरुद्ध नेकपा कर्णाली प्रदेशका सह–इन्चार्ज सांसद यामलाल कँडेलको नेतृत्वमा १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । असोज २५ गते मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि नेकपा विवाद सतहमा आएको हो ।

आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भए लगत्तै मुुख्यमन्त्री शाहीले दलको प्रमुुख सचेतकको जिम्मेवारीबाट सांसद गुलाबजंग शाहलाई पदमुक्त गरेका थिए । उनको ठाउँमा सचेतक सांसद सिताकुमारी नेपालीलाई जिम्मेवारी दिइएको छ । ​

मुुख्यमन्त्रीले आफूविरुद्ध आएको अविश्वासको प्रस्तावलाई विफल पार्न हस्ताक्षर गर्नेमध्ये सात नेतालाई मन्त्रिपरिषद्मा समेट्ने सहमति गरेपछि उक्त पस्तावसमेत सफल हुने देखिएको छ । यो सहमतिपछि केन्द्रले विवाद मिलाउने भन्दै काठमडौं आएका नेता प्रदेश फर्किइसकेका छन् ।

प्रतिक्रिया