मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

नागरिकको जीवनप्रति सरकार जिम्मेवार बनोस् : नवीन्द्रराज जाेशी

काठमाडाैं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीले आम नागरिकको जीवनप्रति सरकार जिम्मेवार बन्नुपर्ने बताएका छन् ।

गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्षसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य जोशीले बिहीबार साँझ एक विज्ञप्ति जारी गरी मुलुक र जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन मूल जिम्मेवारी बोकेको सरकार जनताले भोग्नुपर्ने पीडाप्रति उदासीन देखिएको बताए ।

नेता जोशीले सात महिना लामो बन्दाबन्दी र निषेधाज्ञाका कारण आर्थिक क्षेत्रमा शिथिलता आएको र लाखौँ जनताको रोजगारी गुमेको अवस्थामा कोभिड-१९ को उपचारमा सरकारले हात झिक्नु बिडम्वनापूर्ण कुरा भएको बताए । ‘क्वारेन्टाइनको अवस्था दयनीय हुनु, पर्याप्त मात्रामा आइसोलेसन नहुनु, अस्पतालमा भेन्टिलेटर अभावले जनताले जीवन गुमाउनुपर्ने, आम नागरिकले चिकित्सकको निगरानीमा उपचार पाउन नसक्नु दुःखद् कुरा हो’, नेता जोशीले भने ।

पूर्वउद्योगमन्त्री जोशीले भ्रष्टाचारका कारण राजनीति क्षेत्र कमजोर हुँदै गएको उल्लेख गरे । सरकारको भूमिकाबाट लोकतान्त्रिक संविधान कमजोर हुँदै गएको उनको भनाइ छ । उनले आम नागरिकको रगत र पसिनाबाट आर्जित सङ्घीय लोकतान्त्रिक व्यवस्थामार्फत बनेको सरकारले लोकतान्त्रिक समाजवादका माध्यमबाट समृद्ध जनता र समुन्नत मुलुक निर्माणमा लाग्नुपर्ने बताए । रासस

प्रतिकृयाहरु
Loading...