प्रशासकीय अधिकृतलाई फिर्ता गर्न मन्त्रालयमा मेयरको पत्र !

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाका मेयरले प्रशासकीय अधिकृत फिर्ता गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्र पठाएका छन् । मध्यपुरथिमिका मेयर मदनसुन्दर श्रेष्ठले प्रमुख प्रशासकीय अधिकृत उद्धव रिजाललाई सम्बद्ध मन्त्रालयमा  फिर्ता गर्न बिहीबार पत्राचार गरेका हुन् ।

मेयर श्रेष्ठले सम्पदा पुनःनिर्माणलगायत उपभोक्ता समितिमार्फत भएका कामको भुक्तानी नदिई दुःख दिएको, आन्तरिक राजनीतिक गतिविधिमा सहभागी भएको र अनुचित आर्थिक लाभमा सहभागी भई नगरपालिकाका काममा असहयोग गरेको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई फिर्ता लान पत्र लेखेका हुन् ।

रिजाल कर्मचारी भएर पनि आन्तरिक राजनीतिक गतिविधिमा संलग्न भएको आरोप मेयर श्रेष्ठको छ । कोभिड–१९ को महामारीमा महिनामा एक दिन कार्यालय आउने र अरु दिन नगरपालिकाका कागजात घरमै लगेर कर्मचारीलाई घरमा धाउन बाध्य पारेको आरोपसमेत मेयरले अधिकृतमाथि लगाएका छन् । उनले दसैं अगाडि उपभोक्ता समितिलाई भुक्तानी नदिन प्रयास गरेको आरोपसमेत लगाएका छन् ।

नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा कोरोना प्रतिकार्यका लागि  एक करोड  निकासा गर्ने निर्णयविरुद्ध भूमिका खेलेको,  समयमै रकम नदिई कोरोना सङ्क्रमित नगरवासीको उपचारमा असहयोग गरेको  र  कार्यपालिका बैठक बस्नै नदिएको आरोपसमेत मेयरको छ । ​ दसैंजस्तो महत्त्वपूर्ण पर्वमा नियमित वितरण गर्नुपर्ने सामाजिक सुरक्षा भत्तासमेत प्रशासकीय प्रमुख रिजालले रोकेको मेयर श्रेष्ठको भनाइ छ ।

यता प्रमुख प्रशासकीय अधिकृत रिजालले भने नगर प्रमुख श्रेष्ठले लगाएको आरोपको खण्डन गरेका छन् । उपभोक्ता समितिका नाममा भएका कामको भुक्तानी दिन कार्यपालिका बैठकले निर्णय नगरेको र व्यक्तिगत रुपमा काममा लगाएर भुक्तानी मागेकाले रोकिएको उनको भनाइ छ ।

अत्यावश्यकबाहेक काम नगर्ने निर्णय भएकाले अन्य कामका भुक्तानी रोकिएको उनले बताए । वडाले विवरण नपठाउँदा सामाजिक सुरक्षा भत्ता वितरण नगरिएको जिकिर उनको छ । नगर प्रमुख तत्कालीन नेकपा(एमाले)बाट विजयी भए पनि नगरपालिकामा दुई तिहाइ बहुमत नेपाली कांग्रेसको छ ।  रासस

प्रतिक्रिया