साझाकाे प्रश्न : के नेपालका प्रधानमन्त्री भारतीय खुफिया प्रमुखका समकक्षी हुन् ?

काठमाडाैं । साझा पार्टीले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयल र प्रधानमन्त्री केपी शर्मा ओलीबीचकाे भेटवार्तामा गम्भीर आपत्ति जनाएको छ ।

साझाले आज (बिहीबार) एक विज्ञप्ति जारी गर्दै के रअ प्रमुख गोयललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ‘विशेष दूत’का रूपमा नेपालका प्रधानमन्त्रीलाई भेट्न पठाएका हुन् ? भन्दै प्रश्न समेत गरेकाे छ ।

आफ्ना खुफिया एजेन्सी प्रमुखलाई विशेष विमानबाट नेपाल पठाएर प्रधानमन्त्रीसँग भेटाउनुबाट भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको संकेत गर्ने साझाकाे भनाइ छ । ‘त्यो प्रधानमन्त्रीकै तहबाट नेपालको कूटनीतिक सम्मान र राष्ट्रिय स्वाभिमानमाथि भएको ठाडो आक्रमण हो’, साझाले भनेकाे छ ।

‘के रअका प्रमुख उनको नेपाली समकक्षी नेपालको गुप्तचर निकायका प्रमुखको निमन्त्रणामा आएका हुन् ? के त्यसरी आउँदा उनले प्रधानमन्त्रीसँग ‘शिष्टाचार भेट’ गरेका हुन् ? यदि हुन् भने त्यो पनि प्रधानमन्त्री ओलीको कार्यालयले तुरुन्त स्पष्ट पारोस् । होइन भने, देशको प्रधानमन्त्रीको मर्यादाको ख्याल भयो कि भएन ?’, साझाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

एकातिर परराष्ट्र मन्त्रालयले औपचारिक वार्ताका लागि गरेको पत्राचारको जवाफ दिल्लीले नदिनु र अर्कोतिर खुफिया एजेन्सीका प्रमुख आएर सिधै प्रधानमन्त्रीलाई भेट्नुले नेपाली कुटनीति भारतसँगको सम्वन्धमा कुन तहमा गिरेको छ भन्नेमात्र स्पष्ट पार्दैन, त्यसले अन्य देशहरूसँगको हाम्रा कुटनीतिक सम्बन्धलाई पनि अत्यन्तै हलुका र सस्तो बनाइदिने पनि साझाका प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

साझा पार्टी प्रधानमन्त्री ओलीको यस्तो लज्जाजनक रवैयाको गम्भीर भर्त्सना समेत गरेकाे छ ।

प्रतिक्रिया