प्रधानमन्त्री ओलीलाई भेट्न बुधबार राति बालुवाटार पुगेका थिए ‘रअ’ प्रमुख

काठमाडौं । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

एक प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले यसबारे पुष्टि गरेका हुन् । ‘भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुभएको छ, ’ प्रेस सल्लाहकार थापाद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ, ‘उहाँ भेटकाे लागि बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आउनुभएको थियो ।’

भेटवार्ताका क्रममा गाेयलले नेपाल-भारतबीचको मैत्री सम्बन्ध खल्बलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बिषयमा आफ्नो धारणा राखेकाे थापाले स्पष्ट पारे ।

बुधबार नेपाल आएका रअ प्रमुख गोयल आज (बिहीबार) दिल्ली फर्किसकेका छन् । बिहीबार बिहान सवा १० बजे इन्डियन एयरफोर्सको जहाज दिल्लीतर्फ फर्किएको विमानस्थल प्रहरीले जनाएको हो । उक्त जहाजमा बुधबार रअ प्रमुख गोयलको टोली आएको बताइएको छ । उनी बुधबार दिउँसो पौने १ बजे काठमाडौं आएका थिए ।

प्रतिक्रिया