आईपीएलः कोलकातालाई हराउँदै बैंगलोर दोस्रो स्थानमा

काठमाडौं । कोलकत्ता नाइट राइडर्सले दिएको झिनो लक्ष्य १३ ओभरमा भेट्दै रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग (आईपीएल)को दोस्रो स्थानमा उक्लिएको छ । बुधबार राति शेख जायद क्रिकेट स्टेडियममा भएको खेलमा बैंगलोरले कोलकत्तालाई आठ विकेटले पराजित गरेको हो ।

टस जितेर पहिलो ब्याटिङ गरेकोको कोलकत्ताले दिएको ८५ रनको लक्ष्य बैंगलोरले १३ ओभर २ बलमा दुई विकेटको क्षतिमा पूरा गरेको हो । ​ बैंगलोरका लागि देवदूत पड्डीकल २५ र आरोन फिन्चले १६ रन जोडे । गुर्किरात सिंह २१ र कप्तान विराट कोहली १८ रनमा अविजित रहे ।

पहिलो ब्याटिङ गरेको कोलकत्ता बैंगलोरसामू निरिह देखियो । उसले २० ओभर खेल्दा ८ विकेट गुमाएर ८४ रन मात्र बनाउन सक्यो । कप्तान इयान मोर्गनले सर्वाधिक ३० रन बनाउँदा कोलकत्ताका लागि लक्की फर्गुसन १९, कुलदिप यादवले १२ र टम बानटनले १० रन बनाए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन् । ​

बैंगलोरका मोहमद सिराज ३, युजभेन्द्र चाहल २, नाभदिप शैनी र वासिङ्गटन सुन्दरले १/१ विकेट लिए । ​

कोलकत्तामाथि सहज जित दर्ता गरेसँगै बैंगलोर तालिकाको दोस्रो स्थानमा उक्लिएको हो । बैंगलोरले १० खेलमा ७ जितसहित १४ अंक बनाएको छ । तालिकाको चौथो स्थानमा रहेको कोलकत्ताले १० खेलमा १० अंक जोडेको छ ।

प्रतिक्रिया