म्कालु खबर दिनभर : यी हुन् आजका १० प्रमुख समाचारहरु (भिडियोसहित)

राष्ट्रपति भण्डारीद्वारा ऐतिहासिक रानीपोखरीको उद्घाटन
राष्ट्रपति भण्डारीले विशेष कार्यक्रमकाबिच आज ऐतिहासिक रानीपोखरीको उद्घाटन गरेकी छन् ।

२०७२ माघ ३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरेकी थिइन् ।

शिलान्यास भएको करिब ५ वर्षपछि मात्र रानीपोखरी पुननिर्माणको काम सम्पन्न भएको हो ।

राष्ट्रपति भण्डारीले प्राकृतिक एवं सांस्कृतिक सम्पदाले समृद्ध प्राचीन सभ्यताको उद्गमस्थलका रूपमा रहेको काठमाडौँ उपत्यकाको संरक्षण र विकासका निम्ति यो कार्य एउटा महत्वपूर्ण कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरिन् ।

उपत्यकामा ३१०७ सहित थप ५७४३ जनामा कोरोना संक्रमण, २९९६ डिस्चार्ज, २६ को मृत्यु
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७९१ पुगेको छ ।

आज देशभर ५ हजार ७४३ जना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा मात्रै ३ हजार १०७ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै देशभर कोरोना संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ ।
निको हुनेको संख्याल ९९,६०५ जना छन् ।

राष्ट्रपतिको दुई महिनाको पारिश्रमिक र चाडपर्व भत्ता कोरोना कोषमा
राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो दुई महिनाको पारिश्रमिक र चाडपर्व खर्च रकम ‘कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोष’ मा प्रदान गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले चालु आर्थिक वर्षको आफ्नो दुई महिनाको पारिश्रमिक कोरोना कोषमा प्रदान गरेकी हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक
नेपाल उद्योग वाणिज्य महासंघले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आगामी मंसिर १२ गते निर्वाचन गर्ने गरी महासंघले कार्यतालिका सार्वजनिक गरेको हो ।

महासंघको ५४ औँ वार्षिक साधारणसभा मंसिर ११ र १२ गते तोकिएको छ । साधारणसभाको अन्तिम दिन अर्थात १२ गते निर्वाचन हुने महासंघले जनाएको छ ।

नयाँ कार्यतालिका अनुसार महासंघको कार्यालय टेकु, कार्की व्याङकेट बबरमहल र प्रज्ञा प्रतिष्ठान कमलादी गरी तीन ठाउँमा मतदान गर्ने व्यवस्था मिलाइनेछ ।

महासंघको वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालको प्यानलले उम्मेदवारी दर्ता गराइसकेका छन् ।

सरकारविरुद्ध जुलुस निकाल्ने विप्लवको घोषणा
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारविरुद्ध संघर्षका कार्यक्रम गर्ने घोषणा गरेको छ ।

सरकारले कोरोनाको परीक्षण तथा उपचार खर्च नागरिक स्वयमलाई व्यहोर्नु भनेपछि विप्लवले संघर्षका कार्यक्रमहरू घोषणा गरेको हो ।

जनताको स्वास्थ्यमा खेलवाड गरेको र सत्ताको आडमा भ्रष्टाचार गरेको भन्दै यही कात्तिक १५ गतेदेखि २० गतेसम्म संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।

कात्तिक १५ गते कोणसभा गर्ने, १७ गते पर्चा वितरण गर्ने र २० गते विरोध जुलुस निकाल्ने नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

संक्रमितको उपचार नगर्ने सरकारको निर्णयले महामारी झन् विकराल बन्छ : भट्टराई
पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले सरकारको निर्णयले कोरोना महामारीले झन् विकराल रुप लिने आशंका व्यक्त गरेका छन् ।

बुधबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले कोरोना पीडितलाई निःशुल्क उपचारको दायित्वबाट भाग्नु सरकारको गैरजिम्मेवार चरित्रको पराकाष्ठा भएको बताए ।

यसले महामारी झन् विकराल बन्ने उनको भनाइ छ । सरकारलाई पैसाको अभाव भएर कोरोना संक्रमितको उपचार नगर्ने निर्णय लिएको भए अन्य सबै खर्च रोक्नुपर्ने भट्टराईको सुझाव छ ।

कक्षा १२ को परीक्षा मंसिर ९ देखि सञ्चालन हुने
कक्षा १२ को परीक्षा आगामी मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार एक सूचना सार्वजनिक गरी मंसिर ९ देखि १६ गतेसम्म परीक्षा सञ्चालन हुने जनाएको हो ।

गत बैसाख ८ गतेदेखि सञ्चालन हुने भनिएको परीक्षण कोरोना महामारीका कारण स्थगित भएको थियो । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षा बिहान ८ बजेदेखि सञ्चालन हुनेछ ।

आज पनि बढ्यो शेयर बजार, १ अर्ब ६३ करोड कारोबार
शेयर बजार लगातार ३ दिनदेखि दोहोरो अंकले बढिरहेको छ । हिजो मंगलबार १३.२२ अंकले बढेको शेयर बजार आज पनि १३.९४ अंकले बढेको हो ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज ०.८८ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १५९७.७१ अंकमा उक्लिएको छ ।

आईपीएल : दिल्लीमाथि पञ्जाबको जित
इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा किङ्स इलाभेन पञ्जाबले शीर्ष स्थानमा रहेको दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराएको छ ।

दुुबईमा भएको खेलमा पञ्जाबले नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध टिम दिल्लीलाई हराएको हो । दिल्लीले दिएको १ सय ६५ रनको लक्ष्य पञ्जाबले १९ ओभरमा मात्र ५ विकेट गुमाएर पुरा गरेको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । जितसँगै पञ्जाबले १० खेलमा ८ अंक जोडेर तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । दिल्ली १० खेलमा १४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

क्याथी प्यासिफिकद्वारा ८ हजार ५०० रोजगारी कटौती
हङकङको विमान कम्पनी क्याथी प्यासिफिक एयरवेजले ८ हजार ५०० रोजगारी कटौती गर्न लागेको छ ।

कोरोना महामारीका कारण विमान सेवा सञ्चालन गर्न नसकिएकाले कर्मचारीहरुलाई राखिरहन नसकिने भएकाले कटौती गर्न लागिएको कम्पनीका अधिकारीहरुले जानकारी दिएका छन् ।

रोजगारीबाट हटाउन लागिएका कर्मचारीहरु मध्ये ५ हजार ३ सय जना हङ्कङमै रहेर काम गर्नेहरु परेका छन् । त्यस बाहेक अरु ६ सय जना अन्य ठाउँमा रहेका कर्मचारीहरुलाई कटौती गर्न लागिएको कम्पनीको भनाई छ । अरु २ हजार ६ सय पद भने पहिलेदेखि नै खाली रहेको थियो ।

कम्पनीको कुल रोजगारीको २४ प्रतिशत रोजगारी कटौती भएको कम्पनीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया