उद्योग वाणिज्य महासंघ निर्वाचन : चन्द्र ढकालको टिमले दर्ता गर्यो उम्मेदवारी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालसहितको टिमले उम्मेदावारी दर्ता गराएका छन् ।

बुधबार महासंघको केन्द्रीय कार्यालय टेकुमा ढकालसहित उनको प्यानलका सबै उपाध्यक्षका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका हुन् । ढकाल प्यानलबाट बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र एशोशियट उपाध्यक्षमा रामचन्द्र संघाईले उम्मेदवारी दर्ता गराएका छन् ।

महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामी मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ ।

ढकालले गत वर्ष नै बागलुङ उद्योग वाणिज्य संघको एक कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदावार प्रस्ताव गरेको थियो । पछि गत फागुनमा काठमाडौंमा औपचारिक कार्यक्रम गरी ढकालले आफ्नो उम्मेदवारी घोषणा गरेका थिए ।

महासंघको चुनावका लागि उम्मेदवारहरुले आजदेखि मंसिर ४ गतेसम्म मनोनयनपत्र दाखिला गर्न सक्नेछन् ।

उम्मेदवारी दर्तापछि बोल्दै ढकालले कोभिड–१९ र अन्य विभिन्न कारणबाट उत्पन्न व्यवसायिक समस्या समाधान र मुलुकको आर्थिक सम्मृद्धिमा सशक्त निजी क्षेत्रको खाँचो रहेकोले आफूले उम्मेदवारी दिएको बताएका छन् ।

 

उनले अहिलेको जटिल परिस्थिथिमा महासंघमा सशक्त र डाइनामिक नेतृत्वको आवश्यकता रहेको बताउँदै आफ्नो समूहमात्र अहिलेको समय र परिस्थिति अनुकूल नेतृत्व हुनसक्ने दावी समेत गरेका छन् ।

“देश कोभिड–१९ को महामारीको चपेटामा परेको छ । अर्थतन्त्रका सबैजसो अवयवहरु क्षतविक्षत भएका छन् । व्यवसाय र व्यवसायी दुवै संकटमा परेका छन् । यो अहिलेको जटिल परिस्थितिमा व्यवसाय र व्यवसायीलाई जोगाउन सकिएन भने यसले मुलुकको अर्थतन्त्र र विकासमा समेत दीर्घकालिनरुपमा प्रभाव पर्छ । व्यवसाय र व्यवसायीलाई बचाउन, अहिलेको समस्याबाट मुलुकको समग्र अर्थतन्त्रलाई बचाउन र मुलुकको विकास र सम्मृद्धिमा सरकारसँग हातेमालो गर्न तथा निजी क्षेत्रको विकासमा रचनात्मक भूमिका निभाउन हामीले उम्मेदवारी दिएका छौं,” ढकालले भने ।

ढकालले मुलुकभर भएको व्यवसायिक सञ्जाल, साना देखि ठूला व्यवसायसम्मको अनुभव, व्यवसायी मित्रहरुसँगको सुमधुर सम्बन्ध र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नेटवर्क नै आफ्नो जीतको मुख्य आधार रहेको पनि बताएका छन् । आफ्नो समूहले महासंघलाई ठूला र साना सबै उद्योगी व्यापारीको साझा चौतारिका रुपमा स्थापित गर्ने र सबैका समस्या र गुनासा सुनुवाई हुने वातावरण बनाउने बताए ।

प्रतिक्रिया