कोरोना संक्रमितको नि:शुल्क उपचार गर्छाैँ : मेयर वन

रत्ननगर । रत्ननगर नगरपालिकाका मेयर नारायण वनले कोरोना संक्रमितको उपचार नि:शुल्क गर्ने घोषणा गरेका छन् ।

केन्द्र सरकारले कोरोना संक्रमितको उपचार खर्च आफैँले व्यहोर्नुपर्ने निर्णय सार्वजनिक गरेको भोलि पल्ट मेयर नारायण वनले नगर भित्रका कोरोना संक्रमितको उपचार नगरपालिकाले गर्ने घोषणा गरेका हुन् । रत्ननगर नगरपालिका वडा नं. १५ को नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा बोल्दै मेयर वनले अहिलेको प्राथमिकता नगरबासीको जीवन रक्षाको भएकाले संक्रमितको उपचार नि:शुल्क गर्ने घोषणा गरे ।

‘विकास अर्को बर्ष गरौँला । अहिले कोरोना महामारीबाट नगरबासीलाई जोगाउने हो’, उनले भने ।

कोरोना संक्रमितको नि:शुल्क उपचारको लागि मुख्यमन्त्रीलाई आग्रह गरेको भन्दै उनले कथमकदाचित प्रदेशले नगरे रत्ननगरले नै संक्रमितको नि:शुल्क उपचार गर्ने बताए । उनले दसैं लगतै कार्यपालिकाको बैठक बोलाएर संक्रमितको नि:शुल्क उपचार गर्ने एकमात्र प्रस्ताव पारित गर्ने बताए ।

उनले भने, ‘प्रदेश सरकारले गरयो भने भइहाल्यो उनले भने नगरेपनि यो विषयमा हामी चुक्दैनौँ ।’ आर्थिक अबस्था कमजोर भएर कोरोनाको उपचार नपाएर कुनै पनि नागरिकले ज्यान गुमाउनु पर्ने अवस्था आउन नदिने उनको भनाइ छ ।

प्रतिक्रिया