धवनको शतक रेकर्डले पनि हारबाट जोगिएन दिल्ली

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शीर्ष स्थानमा रहेको दिल्ली क्यापिटल्सलाई किङ्स इलाभेन पन्जाबले पराजित गरेको छ । मंगलबार भएको खेलमा दिल्लीका शिखर धवनले शतकको रेकर्ड बनाउँदासमेत दिल्ली पञ्जाबसँग चुकेको हो ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा दिल्लीले दिएको १६५ रनको लक्ष्य पन्जाबले पाँच विकेटको क्षतिमा १९ ओभरमै भेटेको हो । पञ्जाबका लागि निकोलस पुरनले ५३ रन, ग्लेन म्याक्स्वेल ३२ रन, क्रिस गेल २९, कप्तान केल राहुल र दिपक होडाले १५र१५, रन बनाए भने जेम्स निशमले १० रन जोडे ।

दिल्लीका कागिसो रबडाले २, अक्षर पटेल र रविचन्द्र आश्विनले १-१ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६४ रन बनाएको थियो । दिल्लीका लागि धवनको अविजित १०६ रनको शतकीय इनिङ जितका लागि पर्याप्त भएन ।

धवनले आईपीएलमा लागतार दुई खेलमा शतक बनाउने रेकर्ड बनाएका हुन् । यसअघि शनिबार चेन्नईविरुद्धको खेलमा पनि धवनले शतक बनाएका थिए । चेन्नईविरुद्ध ५८ बलमा १४ चौका र १ छक्कासहित १०१ बलमा अविजित रहेका धवन पञ्जाबविरुद्धको खेलमा १०६ रन बनाउँदै अविजित रहे । ६१ बलको सामना गरेका धवनले १२ चौका र ३ छक्का प्रहार गरे ।

एउटै आईपीएलमा दुई शतक बनाउने धवन पाचौं ब्याट्सम्यान हुन् । यसअघि २०११ मा क्रिस गेल, २०१६ मा विराट कोहली, २०१७ मा हसिम अमला र २०१८ मा शेन वाटसनले दुई शतक बनाएका थिए। धवनले यसै खेलबाट आईपीएलमा ५ हजार रन समेत पुरा गरेका छन् ।

धवन चम्किए पनि दिल्लीका अन्य ब्याट्सम्यान टिक्न सकेनन् । कप्तान श्रेयस आयर र ऋषब पन्तले समान १४-१४ रन बनाए । शिम्रन हिटमायर १० रनमा आउट भए । पन्जाबका मोहमद शामी २, ग्लेन म्याक्सवेल, जेम्स निशम र मुरुगान आश्विनले १र१ विकेट लिए ।

शीर्ष स्थानको दिल्लीमाथि जित दर्ता गरेसँगै पन्जाबले १० खेलमा ८ अंक जोडेको छ । दिल्लीले भने १० खेलमा १४ अंक बनाएको छ ।

प्रतिक्रिया