दुई थरी प्रेसनोटमा अल्झियो कर्णाली विवाद : ओली-दाहालबीच फेरी मनमुटाव ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार बिहान भेटवार्ता भएको छ ।

कर्णाली विवादका बारेमा छलफल गर्न मंगलबार बालुवाटारमा ओली र दाहालबीच भेटवार्ता भएको हो । भेटवार्तामा के भयो भन्नेबारे सामाजिक सञ्जालमा अनावश्यक कुराहरु आउने गरे पनि अध्यक्षद्वयकै सचिवालयबाट विवादास्पपद प्रेसनोट जारी भएका छन् ।

प्रधानमन्त्री ओलीको सचिवालयबाट जारी भएको प्रेस नोटमा ओली–दाहालबीच छलफल भएको जानकारी दिइएको छ भने अर्का अध्यक्ष पुष्पकमल दाहालको सचिवालयबाट सहमति नभएको प्रेस नोट जारी भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जारी गरेको प्रेस नोटमा कर्णाली विवादबारे सहमति जुटेको भनिएको छ । कर्णाली प्रदेशका प्रमुख सचेतक गुलाबजंग शाह जिम्मेवारीबाट नहट्ने, मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता हुनेलगायतका अन्य विषयमा सहमति भएको जनाएको छ ।

उक्त प्रेस नोटमा प्रमुख सचेतकमा नियुक्त सीता नेपालीको निर्णय बदर गरी पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने सहमति भएको थापाले जारी गरेको प्रेस नोटमा भनिएको छ ।

यस्तो छ सूर्य थापाले जारी गरेको प्रेस नोट :

सम्माननीय प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज बिहानको भेटघाटमा भएको सहमति निम्नानुसार रहेको जानकारी गराउन चाहन्छु –
१. कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हटाउने निर्णय बदर गर्ने ।
२. प्रमुख सचेतकमा उहाँद्वारा नियुक्त साीता नेपालीको निर्णय बदर गरी पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने ।
३. मुख्यमन्त्रीविरूद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिने । र,
४. अन्य विषयहरूमा सल्लाह र समझदारीका साथ आवश्यक निर्णय लिने ।
यसबारेमा आजका कतिपय सञ्चारमाध्यममा आएकोजस्तो गरी छलफल र सहमति नभएको सबैको जानकारीका लागि अनुरोध गर्दछु ।
सूर्य थापा, प्रेस सल्लाहकार
४ कात्तिक २०७७

यस्तै प्रचण्डका प्रेस संयोजकले जारी गरेको प्रेस नोटमा भने सहमति नभएको जानकारी गराइएको छ । प्रेस संयोजक विष्णु सापकोटाले प्रदेशको विवादबारे बालुवाटारमा त्यस्तो कुनै पनि सहमति नभएको बताएका छन् ।

सापकोटाले जारी गरेको प्रेस नोटमा प्रदेशमा देखिएको विवाद प्रदेशबाटै समाधान हुनुपर्छ, केन्द्रले हस्तक्षेप गर्दा राम्रो सन्देश नजाने कार्यकारी अध्यक्ष प्रचण्डको धारणा रहेको बताइएको छ ।

प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच कर्णालीमा अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने र प्रमुख सचेतकसम्बन्धी विषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाव दिने सहमति भएको सापकोटाले जारी गरेको प्रेस नोटमा भनिएको छ ।

यस्तो छ सापकोटाले मंगलबार जारी गरेको प्रेस नोट
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा कर्णाली प्रदेशको बिषयमा छलफल भएको हो ।

उक्त छलफलमा अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने र प्रमुख सचेतक सम्बन्धी बिषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाव दिने समझदारी भएको हो । यसबारे कुनै भ्रममा नपर्न सबैसँग आग्रह गरिन्छ ।

बिष्णुप्रसाद सापकोटा ‘जुगल’
प्रेस संयोजक
अध्यक्ष प्रचण्डका निजी सचिवालय

गत हप्ताको आइतबार नेकपाकै १८ सांसदहरुले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि अध्यक्षद्वयबी, विवाद चर्किदै आएको छ ।

प्रतिक्रिया