विराटनगरमा एकैदिन सात जना कोरोना संक्रमितको मृत्यु

  • सुजाता लिम्बु

विराटनगर । विराटनगरमा एकै दिन सात जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा तीन जना, विराट नर्सिङ हाेम, न्युरो, विराट मेडिकल कलेज र नोबेल शिक्षण अस्पतालमा एक/एक जनाको मृत्यु भएको हाे । मृतक संक्रमितमध्ये पाँच महिला र दुई पुरुष रहेका छन् ।

मोरङ कटहरी गाँउपालिका २ आदर्श टोलकी २९ वर्षीया युवतीको बिहान ५:३० बजे कोशी कोभिड उपचार केन्द्रमा मृत्यु भएको केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिएका छन् । बस्नेतका अनुसार पीसीआर परीक्षण गराउँदा आइतबार रिपोर्ट पोजेटिभ आएकी उनलाई सोहि दिन उपचारका लागि भर्ना गरिएको थियो ।

त्यस्तै कोरोना पोजेटिभ भएपछि सोमबार दिँउसो उपचारका लागि कोभिड अस्पताल ल्याइएको विराटनगर महानगरपालिका १२ की ६४ वर्षीया वृद्धा कोशीमै बिहान ४:४५ बजे मृत्यु भएको छ भने सुनसरीस्थित इटहरी उपमहानगरपालिका ५ का ३८ वर्षीय पुरुषको साँझ ६:३० बजेतिर कोशी कोभिड अस्प्तालमा नै मृत्यु भएको छ ।

त्यस्तै मोरङको रंगेली नगरपालिका-३ का ८५ वर्षीय वृद्ध पुरुषको उपचारका क्रममा विराट नर्सिङ होम एवम् अस्पताल प्रालिमा मृत्यु भएको छ । असोज १८ गते पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । अस्पतालका अनुसार श्वासप्रश्वासमा समस्या भएका उनको राति १३ बजेतिर मृत्यु भएको हो ।

विराटनगरकै न्युरो अस्पतालमा उपचाररत एक वृद्धा महिलाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१० की ६४ वर्षीया वृद्धाको बिहान ५ बजे मृत्यु भएको अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यले जानकारी दिए । असोज १५ गते कोरोना पुष्टि भएकी उनलाई असोज २४ न्युुरोको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

त्यस्तै विराटनगर महानगरपालिका–७ की ६९ वर्षीया वृद्धा महिलाको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ । उपचारका क्रममा बिहान ८ बजेतिर उनको ज्यान गएको अस्पताल प्रबन्धक नारायण दाहालले जानकारी दिए । दाहालका अनुसार असोज २६ गते पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो र स्वास्थ्यमा समस्या थपिएपछि उपचारका लागि गत शनिबार अस्पताल भर्ना गरिएको हो ।

त्यस्तै मोरङको बूढीगंगा गाउँपालिकामा रहेको विराट शिक्षण अस्पतालको आइसोलेसनमा ७६ वर्षीया संक्रमित वृद्ध महिलाको बिहान ८:५० बजेतिर मृत्यु भएको छ ।

अस्पतालको आइसोलेसन इन्चार्ज सुनिल देवका अनुसार झापाको विर्तामोड नगरपालिका–४ की महिलाको उपचारका क्रममा मृत्यु भएको हो । कोरोना पुष्टि भएपछि निमोनियाको समस्या रहेकी वृद्धालाई उपचारका लागि असोज ३० गते अस्पतालमा भर्ना गरिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया