असई हत्या प्रकरण : संलग्नलाई कारवाही गर्न माग गर्दै धनगढीमा प्रदर्शन, आफन्तले बुझे शव

कैलाली । धनगढी उपमहानगरपालिका-१२ जुगेडास्थित अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको हत्या प्रकरणमा संलग्नलाई कारवाहीकाे माग गर्दै धनगढीमा प्रदर्शन गरिएकाे छ ।

असई विकको हत्यामा संलग्नलाई तत्काल पक्राउ गरेर कारबाहीको दायरामा ल्याउन माग गर्दै उनका आफन्त र स्थानीयले जिल्ला प्रशासन कार्यालयमा धनगढीमा प्रदर्शन गरेका हुन् ।

शनिबार गस्तीमा हिँडेका असई विकको हिजाे आइतबार बिहान नजिकैको मोहना नदीमा शव फेला परेको थियो । प्रहरी अनुसन्धानका क्रममा घाँटीमा धारिलो हतियार प्रहार गरी उनको हत्या गरिएको खुुलेको थियाे ।

नदी पारि भारतीय क्षेत्रबाट अवैध रुपमा मालसामान भित्रिने गरेको छ । अवैध रुपमा सामान भित्र्याउने समूहले विकको हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ । मृतक विकको कञ्चनपुर जिल्ला पुनर्वास नगरपालिकाका हुन् ।

विकसँगै गस्तीमा हिँडेका सोही कार्यालयका प्रहरी हवल्दार रामबहादुर साउद भने सम्पर्कविहीन छन् । गए राति प्रहरी सहायक निरीक्षक विक र हवल्दार साउदसँगै गस्ती गर्न गएकामा राति अबेरसम्म पनि सम्पर्क हुन नसकेपछि खोजतलास गरिएको थियो । सम्पर्कमा नरहेका हवल्दारको खोजी भइरहेको छ ।

घटनामा संलग्न रहेकाे भन्दै शंकास्पद ११ जनालाई नियन्त्रणमा लिएकाे थियाे । प्रहरीले अनुसन्धान जारी राखेकाे छ । हत्या भएकाे दुई दिन बितिसक्दा पनि हत्यारा पत्ता नलागेकाे भन्दै आफन्तहरूले प्रदर्शन गरेका हुन् । हत्यामा संलग्नलाई कारबाही हुनुपर्ने, गोबिन्दलाई सहीद घोषणा गर्नुपर्ने, आश्रित परिवारको जिम्मा सरकारले लिनुपर्ने लगायत उनीहरुको माग छ ।

यसैबीच विकका आफन्तले शव आफन्तले बुझेका छन् । आइतबार सेती प्रादेशिक अस्पतालमा उनको शव राखिएको थियो । सोमबार उनका आफन्तले शव बुझेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया