कम्युनिस्ट शासक अत्ति त गर, अत्तिचार चैं नगर

  • अर्जुन खड्का

अफ्रिकन मुलुकको एक देशमा कुनै बेला एकजना यस्ता शाशक थिए जसलाई हरेक दिन आफुले खाना खानु भन्दा पहिला ५ जनाको हत्या गरेको हेर्नै पर्ने हुन्थ्यो ।

दरबारियाका बिस्वास पात्र लाइ ति राजाले दैनिक मान्छे ल्याउने ठेक्का दिएका थिए, महिला केटाकेटी बुढा बुढि जो सुकै भएपनि हरेक दिन ल्याएर दरबार सामुन्ने लस्करै सुताइन्थ्यो । राजा आफ्नो कौसीमा बसेर हुक्का तानिरहेका हुन्थे, राजाको आदेश कुरि बसेका पहलमानहरु खड्ग, तलवार बोकेर ती अबोध निरिह जनता मार्न तयारी रहन्थे । तानाशाहका अगाडी निरिह जनता जीवन याचना गर्दै चित्कार छाड्दै रुन्थे, कराउथे ।

तर हात खुट्टा बाधेर लडाएकाहरुको के जोड चल्थ्यो, कस्ले सुन्ने तिनका दर्दनाक पिडा ? जब राजाले आदेश दिन्थे तब पहलमानहरुले आफ्नो खड्ग निकालेर पहिला नाक काटिदिन्थे, त्यसपछि भुडि काटिदिन्थे, अनि हात खुट्टाको औला काटि दिन्थे, पिडा सहन नसकि जनताहरु खुब रुन्थे । र, जति जति ती घाइते जनता रुन्थे उति उति राजा मुस्कुराउथे, अट्टहाँस गर्दथे ।

अन्तिममा तिनिहरुको घाँटिमा आधाभाग मात्रै काटिदिएर छाडिन्थ्यो, रगत बगि रहेको हुन्थ्यो, लास छट्पटाई रहेको हुन्थ्यो तब राजा आफ्ना ८४ ब्यन्जनहरुमा हात गाडेर स्वाद लिदै खाना खान्थे । अहिलेका बर्तमान शासकको स्वभाव, काम गराई र भनाई ठ्याक्कै मेल खान्छ ।

सुन्दा मिथक जस्तो लाग्ने कथाका क्रुर शासक अहिले हामीले पाएका छौं । जनता रोग भोक र शोकले प्रताडित छन्, माहामारीले स्थिती भयावह छ तर, सरकार आफ्नो जिम्मेवारीबाट भागेर सुबिधाभोगी बनेको छ ।

अबदेखि सरकारले कोरोना परिक्षण, आइसियु र आइसोलेशन खर्च नबेहोर्ने रे ! कोरोना लागेमा बिरामी आफैंले यी सबै खर्च ब्यहोर्नु पर्ने जनउपयोगी निर्णय गरेछ ।

माहामारी रोकथाम, नियन्त्रण, उपचार राज्यको दायित्व हो तर, देशमा मानवको राज्य छैन, दानवहरुलाई मानवको मतलब हुँदैन । करोडौं रुपिँया दशै भत्ता बाँड्न सक्ने, तलब सुबिधा नछुटाउने, कार, बंङ्गला, सुसारे राख्न सक्ने, महाराजा शैलीको आलिशान जिवनशैली जिउने, आफु र आफ्ना लाइ युवराज शैलीको सुबिधा दिलाउने, राज्यको ढुकुटीमा ब्रम्हलुट गर्ने निर्दयी सरकार नाउँको गिरोहले अब जनता सोत्तर बनाएर मार्ने निधो गर्नु नागरिकको दुभाग्य हो ।

अब गरिब, अति बिपन्न, दैनिक ज्यालादारी मजदुरहरु पैसा नभएरै रोग लुकाउने छन्, अकालमा मर्ने छन्, जस्को कारण रोग अझै भयावह फैलिने छ ।

नागरिकले आफ्नो पेटमा पटुका कसेर, आँसु सँग भात खाएर, अर्काको भारी बोकेर, चाकमा दुलो परेको कट्टु लगाएर, चप्पल किन्न नसकेर फुटेका खाली खुट्टा हिँडेर, छोराछोरीलाई एक छाक मासु खान नदिएर जोगाई जोगाई राज्यलाई तिरेको करले आफु उग्राउँदै मात्तिएको साँढे झै उल्टै जनतालाई नै मार्ने ? डस्ने ? चुस्ने ? सक्ने ? कतिसम्मको निर्लज्जता । कति निर्मम अनि निर्दयी हुन सकेको होला ।

बेसार पानी खाने, घरबाट ननिस्किने, कर तिर्न नछुटाउने, चाडबाड नमान्ने भनेर उर्दि गर्ने सरकार आफु मात्रै खुसी हुने जनता खुसी भएको देख्नै नसक्ने कति सम्मको डाहा गरेको ? बेसार पानी, गुर्जोले मात्रै कोरोना भाग्ने भए कोरोनाको नाममा अरबौं रुपिँया सोत्तर किन पारेको ?

गरिब र सर्वहाराको नाम बेचेर किनेको सत्ता र सुखको भोगाई निश्चित अवधिसम्म त मिठै होला तर यसको हिसाब यदि जनता महामारीबाट बाँचेभने पक्कै लिने नै छन् । संसारमा कस्ता कस्ता निरंकुश क्रुर शासकको त पतन भएको छ । मात्र जनताले समय पर्खनु पर्दो रहेछ ।

थुक तेल गरेर जमाएको पैसाले तिरेको कर ख्वाएर, चुनावमा जिताएर, सुख सुबिधा दिलाएर पोसेको भुसतिघ्रे सरकारको काम जनतालाई सिध्याउने होइन रक्षा गर्ने हो । किन बुद्धिमा विर्को लागेको ?

बर्तमान शासक कम्युनिस्ट शासकका नाममा कलंक भयो । कम्युनिस्टहरु निरंकुश हुन्छ भन्थे, तर हाम्रो सरकार संसारकैै कठोर निरंकुश भयो । चीनमा कम्युनिस्ट शासकले आर्थिक क्रान्ति गरेर जनतालाई सुख सयलमा राखे, नेपालका शासकले निरंकुशता लादेर जनतालाई घरभित्रै मार्ने भए ।

अवसानको पथमा अन्धाधुन्ध दौडिरहेको साँढेले भिर पाखा केही देख्दैन भन्थे, कम्युनिस्ट शासकको दौडाई पनि त्यस्तै भयो । के गर्ने, कसरी गर्ने, कसले गर्ने, कहाँबाट गर्ने ? कुनै योजना छैन यो सरकारसँग ।

बालुवाटारको पर्खालभित्रबाट टेलिभिजनको पदाँमा अनुहार देखाउँदैमा सरकार भएको प्रमाण पुग्दैन । आजकल पर्दा पछाडी बसेर डमी अनुहारमा भाषणबाजी गर्ने धेरै पाइन्छन् । जनतालाई सरकार छ, अभिभावक छ भन्ने आभाष गराउन त जनताका झुपडीमा नियाल्न जानु पर्छ । सडकमा रोग र शोकले छट्पटाईरहेका हरुको घाउमा मल्हम लगाउनु पर्दछ ।
यहाँ त रोग आयो भनेर जनतालाई भोकै घरभित्र थुन्ने अनी आफु चैं राज्यको ढुकुटीबाट चाहिएजति निकालेर सिंहदरबार र बालुवाटारमा चौरासी व्यञ्जन ज्यूूनार गर्ने काम भयो ।

हिन्दीमा एउटा कहावत छ ‘उपरवालेके यहाँ देर हे अन्धेर नहिँ’
जनता जर्नादन हुन् महोदय, समयले देखाउँछ । आज जसले सत्तामा पुर्याएका छन् भोली घाटमा पुर्याउन बेर लगाउँदैनन् । अत्ति त गर्नुस अत्तिचार चैं नगर्नुस् ।

प्रतिक्रिया