‘अमृत बेचेर जहर खाने गाउँ’ मा बन्यो प्रहरी चौकी

डोटी । मदिरा सेवनका कारण दैनिक घर झगडा र किचलोले आजित दिपायल सिलगढी नगरपालिका–९ कलेनाका महिलाहरुले अहिले शान्तिको श्वास फेर्न थालेका छन् । पहिला पहिला गाउँमा मदिराका कारण अशान्ति नभएको सायद कुनै दिन हुँदैनथ्यो ।

महिलाहरु दिनभरी घरदेखि मेलापातको काम गर्ने तर पुरुषाहरु जुवा खेल्ने र राति मादक पदार्थ सेवन गरी घरमा झगडा गर्ने गरेका कारण उक्त वडामा जहिल्यै विवादका घटना भइरहन्थे । यस गाउँका युवादेखि वृद्धसम्मले भैसीको दुध बेचेर मदिरा पिउने एक प्रकारले संस्कार नै बनिसकेको थियो । घरको सबै काम श्रीमतीले गर्नुपर्ने र श्रीमान्ले बसेर खानुपर्छ भन्ने गलत मानसिकताका कारण यहाँका महिलाहरु वर्षौदेखि पीडित बन्दै आएका थिए ।

मदिराकै कारण वडाभरीका नागरिक असुरक्षित हुन थालेको गुनासोपछि नगरप्रमुख मञ्जु मलासीको पहलमा जिल्ला प्रहरी कार्यालय, डोटीले कलेना गाउँमा अस्थायी प्रहरी चौकी स्थापना गरेपछि अहिले शान्ति छाएको स्थानीयबासी इन्द्रबहादुर साउदले बताए ।

उनले भने, “मदिराका कारण कतिपयका घरबार बिग्रिए, कतिपयको त ज्यानै गइसक्यो, बल्ल अहिले प्रहरी चौकी राखियो, अब शान्तिसँग बस्न पाइने भइयो ।” जिल्ला सदरमुकाम सिलगढीबाट करिब आधा घण्टाको पैदल दुरीमा रहेको कलेना गाउँ विकासका हिसाबले पछाडि मानिन्छ ।

विशेषतः कलेना गाउँ र त्यहाँका मानिसहरुले सिलगढीमा दुध बेच्ने र सोही दुधबाट आएको पैंसाले मदिरा सेवन गर्ने र झगडा गर्ने ठाउँका रुपमा लामो समयदेखि आलोचित बन्दै आएको दिपायल सिलगढी नगरपालिका–६ का स्थानीय हरिष धामीले बताए ।

उनले भने, “घरबाट शुद्ध भैसीको दुध, दही, घिउलगायत अन्य पोषिलो वस्तु बेचेर र फर्कँदा सिलगढीमा कमसल खालको (ठेउका) मदिरा खाने गाउँका रुपमा कलेनाका नागरिक चिनिँदै आएका थिए ।

नवस्थापित प्रहरी चौकीको उद्घाटन गर्दै प्रमुख मलासीले अमृत बेचेर जहर किनेर खाने कलेनाबासीको प्रवृत्तिको अन्त्य भएको बताए । उनले भने, “घरमा भएको अमृत बेचेर जहर खाने प्रवृत्तिको अन्त्यका लागि प्रहरी चौकी स्थापना गरेका छौँ, अब जहर बेच्ने र खानेलाई कारवाही हुन्छ ।”

नगरपालिकाको पहलमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र अन्य सुरक्षा निकायको सहयोगमा चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेयले बताए ।

उनले भने, “कलेनामा मदिराले ठूलो समस्या भएको खबर पाएर हामीले प्रहरी चौकी खडा गरेका छौँ, अब शान्ति हुन्छ ।”

प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले महिला र बालिबालिका लगायत गाउँका अन्य नागरिकलाई शान्तिसुरक्षामा समस्या भएमा जतिबेला पनि उजुरी गर्न सकिने जनाए ।

उनले भने, “यो गाउँमा महिलाका पीडा सुन्दा आँखा रसाउने खालका रहेछन्, प्रहरी चौकी स्थापना भएपछि अब पनि मदिरा पिएर आतङ्क गरिए छोडिन्न । कानुनी कारवाही गरिन्छ ।”

जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त चौकीमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा हाललााई सात जनाको टोली खटाइएको छ । नगरपालिकाले विसं.२०७४ भादौ ७ गतेबाट कलेनालाई मदिरा निषेधित क्षेत्र घोषणा गरेपनि मदिरा कारोबार भने रोकिएको थिएन । रासस

 

प्रतिक्रिया