‘तलब र दशैं भत्ता नलिने नेताहरुले कसरी विलासी जीवन बिताइरहनुभएको छ ?’

  • धनबल राई

काठमाडौं । सांसदहरुले तलबबाहेक, घरबहाल, खानेपानी, विद्युत्, सञ्चारलगायतका विभिन्न शिर्षकमा खर्च बुझ्छन् । योसँगै उनीहरुको सचिवलाई तलब, बैठक भत्ता, भ्रमण भत्ताको व्यवस्था गरिएको छ र पाउँदै पनि आएका छन् । तर, दशैं भत्ताबारे भने कहीँकतै पनि केही प्रावधान भेटिन्न ।

सांसदहरुले हरेक दशैंमा माथि उल्लेख गरिएकाबाहेक दशैं भत्ताको रुपमा मोटै रकम पाउँछन् । र, उनीहरुले बुझ्दै पनि आएका छन् । यसैगरी यस वर्षको दशैंमा पनि सांसदहरुलाई ३ करोड ५४ लाखभन्दा धेरै रकम बाँडियो । यद्यपि पनि सत्तासिन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता तथा राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले दशैं भत्ता मात्रै लिएका छैनन् कि उनले गत चैत्रयता तलबसमेत बुझेका छैनन् । यस्तै सुदूरपश्चिमका नेता तथा सांसद भीम रावलले पनि आफ्नो खातामा जम्ममा भएको दशैंभत्ता कट्टी गर्न अनुरोध गरिसकेका छन् ।

सदाका दशैंहरुमा सञ्चारमाध्यमहरुले पनि यो विषयलाई यतिको गहण रुपमा उठाएका थिएनन् । कारण थियो, परिस्थिति सामान्य नै थियो । तर, यो वर्ष भने नागरिकहरु अस्पतालमा अक्सिजन किन्ने पैसा नभएर, अस्पतालहरुमा बेड नपाएर प्राण त्याग्नु परिरहेको बेला सांसदहरुलाई बाँडिएको पैसाको खह्रो रुपमै आलोचना भइरहेको छ ।

त्यसो त राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देनलाई भने उक्त विषयको बारेमा यतिका धेरै बहस गर्नुपर्छ जस्तो लाग्दैन । नेता लिङ्देनलाई अरु के के लाग्छ, अनि के के भन्छन् ? आउनुस् सुनौं उनै लिङ्देनलाई ।

तपाईँले दशैं भत्ता लिनुभयो ?
भत्ता नियमितजस्तै नै हो । सदा पनि आउँथ्यो । यसपालि पनि आयो होला । आयो कि आएन भनेर वास्ता गरिहिँड्ने मेरो बानी पनि छैन । जानकारी पनि आएको छैन ।

विद्यमान परिस्थितिमा जनप्रतिनिधिले दशैं भत्ता बुझे भनेर ठूलो आलोचना छ नि ?
सरकारले यसपालि चाहिँ नदिएको भए पनि हुने नै थियो । तर, हालिदियो । त्यसमा पनि ठीकै छ । फेरि कतिपय सांसदहरुलाई त मासिक खर्च चल्न पनि गाह्रो हुने स्थिति छ । त्यस्तो खण्डमा यो भत्ता त फेरि चाहिने पनि हो नि । यो विषयलाई त्यति ठूलो विषय बनाइराख्नुपर्छ भनेर मलाई लाग्दैन ।

त्यसको लागि त सांसदहरुको मासिक तलब पनि छ नि ?
मासिक तलब मात्रैले पनि कतिपय सांसदहरुको समस्यालाई हल गर्न सक्दैन । आज हेर्नुहुन्छ भने, कतिपय सांसदहरुसँग आफ्नो जिल्लासम्म पुग्ने खर्च पनि छैन । त्यसको अलवा, अन्य खर्च पनि हुन्छ । मासिक तलब त महिनामै गइहाल्छ नि ।

दशैं भत्ताको विषयमा केही प्रावधान छैन, यसलाई कानूनी भ्रष्टाचार हो भनेर विज्ञहरु भन्छन् नि ?
वास्तवमा यो कुरालाई नकार्न सकिन्न । यद्यपि पनि यो भनेको पहिल्यैदेखि चलिआएको कुरा हो । वास्तवमा यससम्बन्धी प्रावधान पनि छैन छ न त । यद्यपि पनि केही सांसदहरुलाई भने यो आवश्यक पर्छ नै । किनकी, सबै सांसद व्यवसायी हुँदैनन् । सबै सांसद पैसावाल हुँदैनन् । जनताको प्रतिनिधित्व मात्रै गरेर बस्ने सांसदहरुको कमाइ नै यही मात्रै हो । त्यसो हुँदा यो नदिनुनै भन्ने कुरा पनि गलत हो । अब कानूनी भ्रष्टाचारको कुरा जहाँसम्म छ, त्यो त अब विचार गर्ने कुरा हो । यद्यपि पनि यो पुनर्विचार भने गर्नैपर्छ ।

त्यसो त हाम्रो नारायणकाजी श्रेष्ठले भत्ता लिनुभएन, उहाँले त अझ गत चैत्रदेखि तलबसमेत लिनुभएको छैन । यता भीम रावलले फिर्ता गर्ने भइसक्नुभयो । तपाईँले चाहिँ गर्नुहुन्न ?
आएको छ कि छैन, वास्तवमा मलाई थाहा पनि छैन । आएकै हो भने पनि अब के फिर्ता गरिरहनु र ? यद्यपि यो यो पटक चाहिँ नहालिदिएको भए हुन्थ्यो । अब उहाँहरुले नलिने कुरा त उहाँहरुको कुरा हो । उहाँहरु गाडीमै हिँड्नुहुन्छ । सधैं टाइसूटमै देखिनुहुन्छ । उहाँहरुलाई जरुरत पर्दैन लिनुहुन्न । यो राम्रो हो । तर, कसरी चाहिँ एउटा राजनीति मात्रै गर्ने मान्छे कसरी चाहिँ यसरी विलासी जीवन बिताउन सक्छ ? यो सोचनीय विषय हो । पाएको बेलामा झ्वाम्मै पैसा कमाउने अनि नलिने । भएको यही हो ।

नागरिकहरु अस्पताल नपाएर, बेड नपाएर मृत्युवरण गरिरहेका अवस्था छ । तर, यहाँहरुले केही नसोची दशैं भत्ता बुझ्नुभयो, के लाग्छ तपाईँलाई ?
उहाँहरुको लागि सरकारले गरेकै छ । कतिपय घटना यस्ता हुन्छन्, जहाँ गर्दागर्दै पनि हुँदाहुँदै पनि नराम्रो देखिन्छ, नमीठो सुनिन्छ । यस विषयमा सरकारले गरेको गर्यै नै छ । यद्यपि पनि यो महामारीबीचमा चाहिँ सरकारले सांसदहरुलाई नदिएकै भए पनि हुन्थ्यो । उहाँहरुको विषयमा त सरकारले आफ्नो जायजेथाले थेगेसम्म गरेकै छ जस्तो लाग्छ ।

आफ्ना नागरिकलाई के सन्देश छ, तपाईँसँग ?
म अहिले जिल्लातिरै छु । यहाँ आएर मैले कतिपयलाई भौतिक दूरीलाई ख्याल गर्दै  भेटेँ पनि । उहाँहरुको समस्यालाई पनि मैले सम्बोधन गर्ने प्रयत्न गर्दै आएको छ र गर्ने पनि छु । त्यसको अवला मेरो तर्फबाट र मेरो पार्टीको तर्फबाट बडा दशैंको शुभकामना छ । हर्षोल्लासका साथ मनाऔं तर, भौतिक दूरी कामय गर्ने कुरा कञ्जुस्याइँ नगरौं । यही भन्छु ।

प्रतिक्रिया