३ दिनसम्म कोरोनाको लक्षण नदेखिए १० दिनमै डिस्चार्ज गरिने, कोरोना उपचार आफ्नै खर्चमा 

काठमाडाैं । सरकारले अस्पतालमा भर्ना भएका कोरोना संक्रमितलाई तीन दिनसम्म लक्षण नदेखिए १० दिनमै डिस्चार्ज गर्ने निर्णय गरेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले यसबारे जानकारी दिएका हुन् ।

मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा डा. गाैतमले भने, ‘संक्रमितहरूको डिस्चार्ज सम्बन्धमा भएको हालको व्यवस्था अनुसार १४ दिनमा लक्षण नभएका तथा लक्षण हराएको तीन दिन भएका व्यक्तिहरूलाई डिस्चार्ज गर्ने भनिएकोमा अब उप्रान्त पछिल्लो तीन दिन चिन्ह र लक्षण नभएमा १० दिनमा डिस्चार्ज गरिने छ ।’

त्यसरी डिस्चार्ज भएका व्यक्ति कम्तिमा पनि ७ दिन होम आइसोलेशनमा अनिवार्य बस्नुपर्ने सुनिश्चितता गर्नुपर्ने पनि उनले बताए । यसअघि तीन दिन सम्म लक्षण नदेखिएमा १४ दिनपछि मात्रै डिस्चार्ज गरिन्थ्यो ।

यस्तै अब काेराेना संक्रमितले आफ्नाे उपचार खर्च आफैँले व्यहाेर्नुपर्ने भएकाे छ । अग्रपङ्तिमा खटिएका, विपन्न वर्ग तथा अति अशक्तहरूको परीक्षण र उपचार मात्रै सरकारले गर्ने निर्णय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको डा. गाैतमले बताए । अन्य नागरिकहरूले भने आफ्नै खर्चमा कोरोना परीक्षण र उपचार गर्नुपर्ने उनकाे भनाइ छ ।

आजैदेखि लागू हुने गरी स्वास्थ्य मन्त्रालयले अग्रपङ्तिमा खटिएका स्वास्थ्यकर्मी, सरसफाइकर्मीलगायतको उपचारमा पनि यदी कोरोना बीमा गरेको छ भने बीमाबाटै खर्च गर्ने निर्णय गरेको छ।

उक्त निर्णय आजैदेखि भर्ना तथा परीक्षण हुनेमा सबै किसिमका सरकारी तथा गैरसरकारी अस्पताल र प्रयोगशालामा लागू हुने प्रवक्ता गाैतमले बताए ।

प्रतिक्रिया