सिङ्मा हरियो रंग भएका खसी-बोका मात्र खरिद गर्न महानगरको आग्रह

काठमाडौं । यो वर्ष काठमाडौंमा खसी, बोका, भेडा च्याङ्ग्राको माग कति हुने हो, अवस्था एकिन गर्न कठिन भएको व्यापारीले बताएका छन् । महानगरको पशु सेवा महाशाखाले यस्ताे बताएकाे हाे ।

महानगरको पशु सेवा महाशाखाले कलंकी खसी बजारको निरीक्षण गर्न क्रममा व्यापारीले भने,  ‘हरेक वर्षको दशैंमा कलंकी खसी बजारबाट औसत ५० देखि ६० हजार चौपाया बिक्री हुने गरेको थियो । महामारीले कति मानिस उपत्यका बाहिर गए ? कति जान्छन् ? दशैं कसरी मनाउँछन् ? भन्न सक्ने अवस्था नभएकाले चौपायाको खरिद बिक्री अनुमान गर्न नसकिने भयो ।’

काठमाडौं चौपाया खरिद बिक्री प्रा. लि. ले यसपटक दशैंमा करीब ४० हजार चौपाया खपत हुने अनुमान गरेको छ ।

यसरी आउने चौपायाको स्वास्थ्य जाँचका लागि महानगरबाट ३ वटा टोली परिचालन हुने भएका छन् । ‘दशैं पर्वमा खानका लागि प्रयोग हुने मासुजन्य खाद्य उत्पादनलाई स्वस्थ्य, स्वच्छ र गुणस्तरीय बनाउन हामी ३ टोली खटाउँदै छौँ । महानगरको पशु सेवा महाशाखाका प्रमुख डा. अवधेश झाले भने ।

‘डा. पूजा खनाल, डा. अञ्जिरमान सिंह डंगोल र डम्मरबहादुर बमको नेतृत्वमा ३ वटा टोली बनाएर चौपायाको स्वास्थ्य जाँच गर्दैछौँ । संघ र प्रदेश सरकारसँग समन्वय गरेर तोकिएका ठाउँबाट स्वस्थ्य चौपाया बिक्री गर्ने गराउने हाम्रो दायित्व हो । त्यसैले तोकिएका ठाउँको व्यवस्थापन र नतोकिएका ठाउँबाट हुने बिक्रीलाई नियमन गर्नेछाैँ’, उनले थपे ।

माछा मासुजन्य खाद्यवस्तु तथा दूध र डेरीजन्य खाद्यवस्तुको नमूना संकलन गर्ने, प्रयोगशालामा परीक्षण गरेर यसको स्वच्छता कायम गराउने काम बजार निरीक्षणका क्रममा हेर्ने पनि उनले बताए ।

दशैंमा प्रयोग हुने चौपायामध्ये च्याङ्ग्राको संख्या घटेकाले भाउ बढेको छ । चौपाया खरिद बिक्री प्रा. लि. का अध्यक्ष जनककुमार खड्काका अनुसार मुस्ताङ्मा च्याङ्ग्राको मूल्य जिउँदोमा प्रति किलो ७५० हुँदा पुगेको छ । स्थानीय प्रशासनले सुरुमा यसको मूल्य ६ सय तोकेको थियो । यो मूल्यमा बिक्री नभएपछि पछि बढाएर ७५० पुर्याइएकाे हो ।

खड्काका अनुसार काठमाडौंमा यदि ६० हजार खसी बोकाको माग भयो भने आयात माग पूरा गराउन सकिन्छ । ल्याउन सकिने अवस्था छ । तर, ल्याएर बिक्री हुन्छ कि हुँदैन भन्न सकिने अवस्था छैन ।

काठमाडौंको ठूलो खसी बजार भनेको कलंकी हो । यो बजारमा स्टल लिएर व्यापार गर्ने २९ जना व्यापारी थिए । तीमध्ये १६ वटाले व्यापार छाडे । अहिले १६ स्टलबाट व्यापार भइरहेको छ । यी स्टलसँग व्यापार गर्ने बढीमा १ सय जना व्यापारी होलान् । लकडाउनले व्यापारीको संख्या घटायो ।

चौपाया खरिद बिक्री प्रा. लि. का पदाधिकारीका अनुसार, यस बजारबाट मासिक औसत ४० हजार चौपाया खरिद बिक्री हुने गरेको छ । पछिल्लो समय सहरका केही ठाउँका मासु पसलले महिनामा १ हजार वटा भन्दा धेरै चौपायाको मासु बेच्न थालेका छन् । ती पसलले चौपाया सोझै खरिद गरेर ल्याउन थालेका छन् ।

काठमाडौं महानगरको कलंकी र टुकुचामा खसी बजार छ । यसै गरी दशैका बेला काठमाडौंकै आकाशेधारा कपन, चाल्नाखेल, चन्द्रागिरी, भक्तपुरको लोकन्थली र सल्लाघारी, ललितपुरको लगनखेलमा पनि चौपाया बजार लाग्ने गरेको छ ।

स्वच्छ मासुका लागि काठमाडौं भित्रिने नाकाहरु नागढुङ्गा, दक्षिणकाली, बालाजु, साँगामा निगरानी बढाउने गरिन्छ । काठमाडौं ल्याइने च्याङग्राहरुको संकलन मुस्ताङ्को कोरला नाकामा हुने भएकोले यस क्षेत्रमा पनि विशेष निगरानी बढाउने गरिन्छ ।

महानगरले आफ्नो भौगोलिक क्षेत्रसँगै अन्तर नगर, साझेदारबीच समन्वय गर्न संघ र प्रदेश सरकारसँग सहकार्य गरेको छ ।

प्रतिक्रिया