शिलालेखमा ढुंगा हान्ने उप-प्रमुख भन्छिन्– मैले शामन्ती सोचको विद्रोह गरेकी हुँ

  • सृष्टि नेपाल (द्वारिका)

काठमाडौं । हिजो (शनिबार) सामाजिक सञ्जालमा एउटा भिडियो एकाएक भाइरल भयो । भिडियोमा कैलालीकाे घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरी वडा भवनको उद्घाटन गर्दै थिए भने उप–प्रमुख प्रेम कुमारी थापा उफ्री–उफ्री शिलालेखमा ढुंगा हानिरहेकी थिइन् । मेयर उनलाई छेकेर भन्दै थिए–‘मर्यादाको पनि एउटा हद हुन्छ नि !’

उपमेयरको जवाफ थियो – ‘शिलालेखमा उपमेयरको नाम किन लेखिएन ? मेरो मर्यादा कसले राख्यो ? मेयरको कामले उपमेयरको धेरै बद्नाम भा‘छ ।’ उनले नगर प्रमुख चौधरीको नाम देखाउँदै मुर्दावाद, मुर्दावाद समेत भनेकी थिइन् ।

उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि नगर प्रमुखको भन्दा उप–प्रमुखको आलोचना धेरै भयो । कतिले भने महिलाको सम्मान गर्न नजानेको भन्दै नगर प्रमुखको समेत आलोचना गरे ।

यद्यपी आफूले कुनै गल्ती नगरेको उप–प्रमुख प्रेम कुमारी थापा बताउँछिन् । उनी भन्छिन्– ‘मैले आफ्नो अधिकार, शामन्ती सोच र आम महिलाहरुको हक-अधिकारका लागि विद्रोह गरेकी हुँ ।’

घटनाबारे उनकै शब्दमा :

शनिबार वडा नम्बर १२, ५ र ७ को उद्घाटन तथा वडा कार्यालय हस्तान्तरण गर्ने कार्यक्रम थियो । केही दिनअघि वडा कार्यालय अनुगमन गर्ने क्रममा शिलालेख लेखिएको देखेँ । वडा ५ को शिलालेखमा नाम थियो, १२ मा थिएन ।

त्यहाँ जाँदा मन अमिलो भयो–आफ्नो नाम समावेश भएन भनेर । ७ मा अनुगमन गर्दै जाँदा त्यहाँ पनि नाम भेट्टिएन । सबैले जिज्ञासा राख्नुभयो–उपमेयरको नाम किन समावेश नगरेको होला !

त्यसपछि मैले मेयरज्यूलाई सम्पर्क गरेर सोधेँ– ‘हजुरले मेरो इतिहास किन मेटाउन खोज्नुभयो ?’ उहाँ झर्किनुभयो । फेरि साँझ फोन गरेँ, उहाँले जानेरै नाम समावेश नगरेको प्रतिक्रिया दिनुभयो । त्यसपछि मैले फोन काटिदिएँ । र उद्घाटनको दिन सबैका अगाडी आवाज उठाएँ ।

किनकी यो त सरासर महिलालाई हेपेको विषय हो । मैले आम महिलाहरुका अधिकारका लागि विद्रोह गरेकी हुँ । ताकि भविष्यमा महिलाले यस्तो अपमान खेप्नु नपरोस् । विभेदको नजरले नहेरियोस् । अहिले विद्रोह गरिएन भने यो थिति पछिसम्मै रहन सक्छ !

हिजो नराम्रा प्रतिक्रियाहरु पनि आएको पाएँ । तर नराम्रो सोच्नेले सोचिरहन्छन् । म महिला, गरिब निमुखाका लागि लडिरहन्छु । सबैको नजरमा राम्रो हुनुपर्छ भन्ने छैन । आफू सही हुनुपर्यो, नजरिया विस्तारै परिवर्तन हुन्छ । मैले मेरो अधिकारका लागि विद्रोह गरेकी हुँ । उमेयरको अधिकारका लागि ।

हिजोको घटनाले पनि देखाउँछ–हाम्रो समाजमा पितृसत्तात्मक सोच अझै हट्न सकेको छैन । हरेक ठाउँमा पुरुष हावी भएका छन् । महिलालाई अघि बढ्न अवरोध पुर्याउने काम भएको छ । शामन्ती सोचले ग्रस्त छ हाम्रो समाज ।

महिलालाई त अझै उहाँ (मेयर) ले दोस्रो दर्जाको भन्नुभएको छ । महिला दोस्रो दर्जाको हुन्छ ? उहाँ सरकारमा बसेको मान्छेको त महिलाप्रति हेर्ने नजर यस्तो छ भने अरुको कस्तो हाेला ?

कार्यपालिकामा छलफल गरेर शिलालेखमा नाम राखिदिनु भएको भए के बिग्रन्थ्यो ? महिलालाई हेप्नुपर्ने ? यसरी कुण्ठित गर्न पाइन्छ ? नगर प्रमुख भएर मनमानी चल्न पाइन्छ ? उहाँले जानीजानी छुटाउनु भएको हो मेरो नाम । उहाँलाई कसैले उचालेको पनि हुन सक्छ मेरो नाम नराख्न ।

अहिले उहाँले आफ्नो गल्ती महशुष गर्नुभएको छ । यो कुराको यहीँ सहमति भयो ।

पहिले पनि विवाद भइरहेकै हो । मेरो नाम मेटाउन सबै हात धोएर लागि परेका छन् । यहाँ मात्रै होइन, मेयर र उपमेयरबीच जहाँ पनि विभेद नै देखिन्छ । महिला नेतृत्वलाई हेपेकै छन् पुरुष नेतृत्वले । भित्रभित्र सबै महिला पिल्सिएका छन् । विद्रोह त मैले पो गरेँ त । अरुले गर्न सकेको देखिँदैन ।

मैले राम्रो तरिकाले सम्मान गरेर आफ्नो अधिकार खोज्दा नपाएपछि विद्रोह गरेकी हुँ, आफ्नो अधिकारका लागि । मागेर पाइँदैन, लडेरै लिने हो । संविधानले व्यवस्था गरेको छ । न पुरुष भनेको छ, न महिला भनेको छ । सबैलाई समान हक र अधिकार दिएको छ । तर कार्यान्वयन हुन सकेको छैन । समान अधिकारका लागि हामीले विद्रोह नगरी नहुने देखियो !

प्रतिक्रिया