धमिलो पानीमा माछा मार्ने उद्योगी व्यापारीलाई कारवाही गर्नैपर्छ : राजेन्द्र मल्ल(भिडियोसहित)

काठमाडौं । कोरोन संक्रमण रोकथाम न्यूनिकरण गर्न लगाइएको लकडाउनले सबैभन्दा बढी मारमा उद्योगी, व्यवसायी र सर्वसाधारणाहरू परेकाे नेपाल चेम्बर अफ कर्मशका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले बताएका छन् । सात महिनासम्मको लकडाउनमा ठप्प रहेको आर्थिक क्षेत्र तङ्ग्रिन सक्ने आधार अझै बन्न नसकेको पनि उनको भनाई छ ।

कोरोना संक्रमणका कारण नेपालीहरुका ठूला चाडवाड घरभित्रै पसिसक्दा पनि उद्योगी व्यापाीहरुले व्यापार व्यवसाय खुलेर चलाउन नसक्दा कतिपय व्यापारीहरु पसल व्यवसाय बन्द गरेरै हिँड्नुपर्ने अवस्था आएको उनको भनाई छ ।

७ महिना लामो लकडाउनले उद्योगी व्यवसायीलाई कस्तो असर गर्यो ? विगतका चाडवाडमा हुने आर्थिक गतिविधि र यसपटक भइरहेको गतिविधिमा कत्तिको फरक छ ? व्यापारीहरुले बजारमा कसरी सामग्रीको बिक्रीवितरण गरिरहेका छन् ? साथै चाडपर्व नजिकिँदै गर्दा सरकारले गर्ने बजार अनुगमनमा व्यापारीहरुको किन आपत्ति ? यीनै विषयहरुमा केन्द्रीत रहेर चेम्बर अफ कर्मशका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लसँग मकालु खबरकालागि राजाराम न्यौपानेले गरेको कुराकानी :

चाडपर्वहरु आइसकेका छन्, नेपाल चम्बर अफ कर्मश के गर्दैछ ?

नजिकिँदै गरेको दशैं र महामारीको रुपमा फैलिएको कोरोनालाई ध्यानमा राखेर बजारलाई सरलिकरण र व्यवस्थीत गर्न देशैभरका चेम्बरका साथीहरुसँग जुम मिटिङबाट आवश्यक परामर्श, निर्देशन दिने काम गरिरहेका छौं ।

प्रदेश, जिल्ला र पालीकाका चेम्बरसँग व्यापार चलायमान बनाएर दशैंमा कुनैपनि उपभोग्य वस्तुको अभाव हुन नदिउँ भन्नेतर्फ छलफल गरिरहेका छौं । अहिलेको विषम अवस्थामा स्वास्थ्यलाई ध्यानमा राख्दै व्यापारबाट फाइदा गर्नुभन्दा पनि कसरी टिकाइ राख्ने भन्ने विषयमा केन्द्रीत छौं ।

व्यापारलाई सहजिकरण गरेको भन्दापनि चाडवाडमा व्यापारीले दैनिक उपभोग्य बस्तुको मूल्य वृद्धि र कालोबजारी गरे भनिन्छ नि ?

तपाईंले भनेजस्तो दैनिक उपभोग्य बस्तुको मूल्य वृद्धि भएको छैन । केही मात्रामा तरकारी र तेलजन्य बस्तुमा थोरै मूल्य वृद्धि भएको पाइएको छ । अन्य कुनैपनि वस्तुहरुको भाउ बढेको छैन ।

कोरोना संक्रमणले गर्दा अहिले विषम परिस्थिति छ । कोही व्यापारी, व्यक्ति र कम्पनीले ‘धमिलो पानीमा माछा मार्ने नीति’ले काम गरेमा त्यस्ता उत्पादक तथा बितरकलाई कानुनी दायरामा ल्याउनु पर्छ भनेर चेम्बर आफैंले भनिरहेको छ ।

व्यवसायीक रुपमा काम गरेपछि २\४ पैसा त कमाउने नै भए । बजारमा हंगामा भएजस्तो मूल्य वृद्धि भएको छैन । कालोबजारी नियन्त्रण गर्न चेम्बर आफैंले सरकारलाई सहयोग र सल्लाह दिइरहेको छ ।
हामीले अनुगमनलाई व्यवस्थीत गरेर लैजानु पर्छ भनिरहेका छौं । चाडवाड मात्र केन्द्रीत गर्नु भएन । यसलाई एकद्धार प्रणालीमा पनि लैजानु पर्नेछ । बजारमा स्वस्थ खानेकुराहरुको वितरण गर्नुपर्छ ।

सरकारले चाडपर्वमा बजार अनुगमन गर्दा उद्योगी व्यापारीलाई सधैं किन आपत्ति हुने गर्छ ?

हामीले सरकारले गरेको अनुगमन प्रति आपत्ति जनाएकै छैनौं, बजार अनुगमन चाडपर्वमा मात्रै हैन बाह्रै महिना हुनुपर्छ । व्यक्तिको स्वास्थ्यमा सरकार र व्यापारीले जहिले पनि संवेदनशील हुनुपर्छ । अनुगमन भन्ने कुरा वर्षको एकाध दिन चाडपर्वमा मात्र गरेर हुँदैन । अरुबेला पनि नियमित अनुगमन भए कालोबजारी र मिसावट नियन्त्रण गर्न प्रभावकारी हुन्छ ।

नेपालमा धेरै जसो सामानहरु विदेशबाट आयात भएर बिक्री वितरण हुने गरेको छ ? आयातमा समस्या के के छन् ?

भारतबाट आयात हुने सामानमा कुनै समस्या छैन । चीनबाट आउने केरुङ र तातोपानी नाकाबाट आउने सामानमा केही समस्या छ । कोरोनाको कारणले चीनको नाकामा समस्या भएकाले चाडवाडमा अलिक समस्या भएको थियो, अहिले त्यो नाका पनि खुलेको छ ।

दिनमा ६\७ कन्टेनर सामान मात्रै नेपाल आइरहेको छ । नाकामा आएर बसेका सामानहरू दिनमा ६\७ कन्टेनर मात्रै नेपाल भित्रीने हाे भने  ती  सबै सामान नेपाल आइपुग्न ६\७ महिना लाग्छ । चीनबाट सामान आयात गरेर व्यवसाय गर्ने व्यापारीहरु मर्कामा छन् । यस विषयमा राज्यले ध्यान दिन जरुरी छ ।

कोरोना संक्रमणमा व्यापारीकालागि सरकारले राहत ल्याएन भन्नुहुन्छ, सरकारले के गरिदिएको भए उद्योगी व्यवसायीलाई राहत हुन्थ्यो ?

सरकारले कोरोना महामारीले समस्यामा परेकाहरुका व्यवसायहरुका लागि मौद्रिक नीतिमार्फत २ सय अर्बको प्रोत्साहन प्याकेज त ल्यायो तर, त्यो प्याकेज पाउन धेरै ढिलासुस्ती छ । हाम्रो देशमा बोल्ने मात्रै कार्यान्वयन भने ढिलो हुन्छ । मौद्रिक नीतिमा आएको त्यो प्याकेज महामारीले समस्यामा परेका व्यापारी तथा उद्योगीले ९ महिनासम्म पनि पाएका छैनन् ।

थोरै समयकालागि आएको प्याकेज समयमै पाइयोस् भनेर व्यवसायीले चाहेका छन् । सरकारले असोजसम्ममा टुङ्गिन्छ भनेको थियो । अहिले पनि छलफल मै केन्द्रीत छ । कामै नभएको हैन, तर ढिला भयो ।

कोरोनाको कारणले समग्र क्षेत्रको अर्थतन्त्र थलिएकोले बजारमा उपभोक्ताको भीड र डिमाण्ड छैन हो ?
अवस्य पनि । मानिसको आयस्रोत घटेको छ । पैसा पनि छैन । अतिआवश्यक वस्तुहरु जस्तैः औषधि र दैनिक उपभोग्य बस्तुहरु प्रयोग गर्नै पर्यो । ती वस्तुहरु वाहेक अन्य वस्तुहरुको माग छैन । अघिल्ला वर्षहरुको जस्तो बजारमा सामानको माग छैन ।

बजार सुस्त गतिमा चलेको छ । पहिले दिनमा १ सय रुपियाँको व्यापार हुन्थ्यो भने अहिले २५ रुपियाँको मात्रै छ । एक त आयस्रोत कम छ त्यसमाथि बजारमा जाँदा कोरोना सर्ला भन्नेपनि उपभोक्ताहरुमा त्रास छ ।

२५ हजारभन्दा धेरै संक्रिय संक्रमित भए पुनः लकडाउन गर्ने भन्ने थियो, संक्रमित वृद्धि हुँदै गएको छ ? यसले व्यापारीको मानसिकतामा कस्तो असर परेको छ ?

सरकारले २५ हजारभन्दा धेरै संक्रिय संक्रमित भए पुनः लकडाउन गर्ने भनेपनि अस्पतालमा बिरामीलाई राख्ने ठाउँ भएकोले बजार चलायमान गराएको हो । नेपालको कोरोना संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै ६० प्रतिशत छन् । संक्रमितको संख्या वृद्धि हुँदै जाने होभने उपत्यकाका अस्पतालमा विरामी राख्ने ठाउँ हुँदैन र पुनः लकडाउन गराउनुपर्ने अवस्था हुनसक्छ ।

व्यापारीको मानसिकता त फेरी लामो लकडाउन भयोभने अब व्यापार व्यवसायबाट उठ्न सकिँदैन भन्ने छ । भोली के होला ? भन्ने त्रास छ ।

चाडपर्व भनेका उद्योगी व्यापारीकालागि वर्षभरीको कमाई गर्ने माध्यमपनि हो, यस्तो बेला उद्योगी व्यापारीले कसरी व्यापार गर्नुपर्छ ?

पक्कै पनि चाडपर्वमा उद्योगी व्यापारीले थोर वहुत व्यापार गर्नैपर्छ । अहिले सबै व्यापार व्यवसाय खुलेको छ । व्यापारीले सुरक्षित रहेर र सरकारले तोकेको मापदण्डको पालना गरेर नै व्यापार गर्नुपर्छ ।

यसपल्ट विगतका वर्ष जस्तो बढि नाफा खान्छु भन्ने मानसिकता नराखौं, आफुपनि बाँचौं अरुलाई पनि बचाउँ भन्ने भावनाबाट व्यापार व्यवसाय गरौं । उपभोक्तहरुको स्वास्थ्यमा खेलवाड नगरौं ।

बजारमा म्याद सकिएका सामग्रीहरुमा पुनः म्याद थपेर बिक्री वितरण गर्न ठूला व्यापारिक घराना आफैं सक्रिय रहेको पाइएको बेला तपाईंहरु किन मौन बस्नु हुँदैछ ?

कोही व्यक्ति, कम्पनी वा व्यापारीले डेट एक्सपायर सामान नयाँ म्याद राखेर बजारमा ल्याउने, महंगो मूल्य सूचि राख्नेहरुलाई कानुनी दायरामा ल्याउनु पर्छ भने हामीले नै सरकारलाई भनेका छौं ।

हामीले नै बजार अनुगमन हुनुपर्यो, बदमासी गर्नेलाई छाड्नु भएन भनेर सरकारलाई भनेर सुझाव दिएका छौं । हामी मौन बसेका छैनौं । आफ्नो ठाउँबाट सरकारलाई सहयोग गरिरहेका छौं ।

अन्त्यमा, विजयादशमीको अवसरमा के सन्देश दिनुहुन्छ ?

सर्वप्रथम सबै उद्योगी, व्यवसायी, व्यापारी तथा आम जनसमुदायमा सुखः शान्ति र दिर्घायूको कामना भन्न चाहन्छु । साथै, अहिलेको विषम परिस्थितिमा हामी उद्योगी व्यापारीले जतिसक्दो कमाउँछु भनेर लोभलालचमा नपरी आम उपभोक्ताको स्वास्थ्य र हितमा सोचेर व्यापार व्यवसाय गरौं ।

सरकार पनि हामी उद्योगी व्यापारीमा परेको असरलाई कसरी हुन्छ न्यूनिकरण गर्नतिर लागोस् । प्रोत्साहन, सहुलियतका कार्यक्रम ल्यावोस् । हामी सबै मिलेर कोरोना संक्रमणसँग सामना गर्न सक्छौं । दुर्गाभवानीले सबैलाई यहि शक्ति प्रदान गरुन् भन्दछु ।

प्रतिक्रिया